काठमाडौं । “शून्य कुष्ठरोगको लागि हाम्रो प्रतिबद्धता,आत्मसम्मानको लागि ऐक्यवद्धता” भन्ने मूल नाराका साथ आज नेपालमा ६९ औँ विश्व कुष्ठरोग दिवस मनाइएको छ। नेपाललाई १९ जनवरी २०१० मा विश्व स्वास्थ्य सङ्गठनले कुष्ठरोग निवारण भएको मुलुक घोषणा गरेको थियो, तर ११ वर्ष बितिसक्दा पनि नेपालमा ठूलो संख्यामा कुष्ठ रोगका बिरामीहरु फेला परिररहेको तथ्याङ्कले देखाउँछ।
इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको कुष्ठरोग तथा अपाङ्गगता व्यवस्थापन शाखाका अनुसार आर्थिक वर्ष २०७७\७८ मा २ हजार १७३ जना कुष्ठरोगका बिरामी थपिएका छन्। ११ जिल्लाहरूमा कुष्ठ रोग निवारण हुन बाँकी रहेको शाखाले जनाएको छ।
‘‘ निवारण भन्नाले प्रति १० हजार जनसंख्यामा १ भन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ। सरकारले कुष्ठरोग निवारण गर्यो भनेर घोषण गर्दाको समयमा पनि १२ वटा जिल्लाहरुमा कुष्ठरोग निवारण भइसकेको थिएन,’’ शाखाका प्रमुख डा. रवीन्द्र बास्कोटाले नेपालभ्युजसँग भने, ‘‘गत वर्ष देशभर कोभिड महामारी फैलिरहेको अवस्थामा पनि दुई हजारको हाराहारीमा नयाँ कुष्ठरोगका बिरामी पत्ता लागेका थिए। शाखाका अनुसार नेपाल सरकारले सन् २०३० को अन्त्यसम्म सम्पूर्ण जिल्लाहरुमा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ। हालसम्म १,९६,००० भन्दा बढी कुष्ठरोग बिरामीलाई औषधि खुवाई निको पारिएको बास्कोटाले बताए। महाशाखाका अनुसार नेपालमा कुष्ठरोगको कारणबाट हालसम्म करिब ३१ हजार जनामा अपांगता देखिएको छ।
के हो कुष्ठरोग?
मानव सभ्यताको सबैभन्दा पुरानो रोगका रुपमा कुष्ठरोगलाई लिने गरिन्छ। कुष्ठरोग आँखाले देख्न नसकिने ‘‘माइकोव्याक्टेरियम लेप्रे’’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो। यो रोगले खास गरेर काला स्नायु (नशा) मा असर गर्दछ।
यो रोगबाट प्राचीन कालदेखि नै मानिसहरू ग्रस्त थिए। तर, सन् १८७३ मा मात्र आएरमात्रै यो रोगको कारण पत्ता लाग्यो। नर्वेका वैज्ञानिक डाक्टर जिए ह्यानसनले कुष्ठरोग किटाणुको कारणले हुने रोग हो भन्ने पत्ता लगाएका थिए।
यस रोगले छालामा असर गर्दा शरीर नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखापर्नुका साथै स्नायुहरूमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र बिस्तारै यस रोगले मांसपेशीहरू कमजोर बनाइदिन्छ। त्यस्तो छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन।
कुष्ठरोगका लक्षण
शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखापर्नु, अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु, बिस्तारै हातखुट्टाका औंलाहरू कमजोर हुनु, र खुम्चँदै जानु, अपांगता हुनु, स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झमझम गर्नु।
उपचार
कुष्ठरोगको उपचार दुई प्रकारले गर्ने गरिन्छ। केही बिरामीले ६ महीना र केहीले एक वर्षसम्म औषधि सेवन गर्नुपर्छ।
डाक्टर बास्कोटाका अनुसार शरीरमा धेरै किटाणु र दागहरू भएका बिरामीले अन्य व्यक्तिलाई यो रोग छिटो सार्नसक्ने संभावना हुन्छ। त्यस्ता बिरामीहरूले १२ महीनासम्म औषधि सेवन गर्नुपर्ने उनले बताए। कुष्ठरोग लागेर समयमै उपचार गरिएन भने अपांगता हुनसक्छ। यो रोग जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई पनि लाग्न सक्छ, तर १५ वर्षमाथिका उमेर समूहका व्यक्ति बढी जोखिममा छन्।

निवारणमा सरकारले गरेका पहलः
चेतनामूलक कार्यक्रम (राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा संचार केन्द्रको समन्वयमा ७७ जिल्ला)
रेडियो एफ. एम. बाट शन्देशमुलक श्रव्य सामग्री प्रसारण
विभिन्न पत्र पत्रिकाहरुबाट सन्देसमुलक जानकारीहरु प्रचार
पोष्टर, लीफलेट, चेजकार्ड, फ्लिप चार्ट उत्पादन, छपाइ तथा वितरण
विश्व कुष्ठरोग दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम सञ्चालन
श्रव्यदृश्य सामाग्री उत्पादन तथा टेलीभिजनबाट प्रसारण
Facebook Comment
Comment