काठमाडौं। टिभी टुडेका पत्रकार एलबी विश्वकर्माको दुःखद् निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निश्कर्ष नेपाल पत्रकार महासंघले निकालेको छ।
घटनाको अध्ययन गर्न महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरिएको थियो। उक्त समितिको अध्ययनले अस्पतालको लापरबाही नै मृत्युको पहिलो कारण रहेको देखाएको हो।
नेपाल सरकार समेतको स्वामित्वमा सञ्चालित उक्त अस्पताल प्रशासन सेवाग्राही मैत्री नहुुँदा पत्रकार विश्वकर्माको निधन भएको अध्ययन समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘‘महासंघ ले अग्रपङ्क्तिमा रहेर खटिरहेका पत्रकारको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग गर्दछ। सर्वोच्च अदालतले कोभिड–१९ बाट सङ्क्रमित नागरिकको स्वास्थ्य परीक्षण र उपचार निःशुल्क गर्न २०७७ असोज १५ गते आदेशसमेत जारी गरेको सन्दर्भमा महामारीका बेला सबै नागरिकको स्वास्थ्य उपचार निःशुल्क गर्ने व्यवस्था गर्न महासंघ सरकारसँग आग्रह गर्दछ,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘सरकारले सरकारी अस्पतालमा पटकपटक पत्रकारको निःशुल्क उपचार हुने भनी गरेको घोषणाको व्यवहारिक कार्यान्वयन गर्नेतर्फ ध्यान दिन पनि महासंघ सरकारसँग आग्रह गर्दछ। यस प्रकरणको निस्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु अस्पतालको जिम्मेवारी र कर्तव्य हुने महासङघको ठहर छ।”
“टीभी टुडेसहित सञ्चार प्रतिष्ठानलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफ्ना कर्मचारी पत्रकारलाई समाहित गर्न, न्यूनतम पारिश्रमिक लागू गर्न, समयानुकूल पारिश्रमिक पुनरवलोकन गर्न र श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेअनुसार सेवा सुविधाको ग्यारेन्टी गर्न, कार्यस्थललाई स्वास्थ्यमैत्री बनाउन महासंघको माग छ।’’
त्यस्तै महासंघले विश्वकर्माको परिवारलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
विश्वकर्माको ६ माघमा निधन भएको थियो।
Facebook Comment
Comment