काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंंहदरबारमा भएको भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतीय रक्षा सहचरी तथा प्रतिनिधिमण्डलका अन्य सदस्यहरु सहभागी रहेको भारतीय राजदुतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरे । उनले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।
सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस गर्दै आफूलाई भाग्यमानी ठानेको बताए । उनले दुई देशको सम्बन्धलाई थप विस्तार गर्न आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सेनाध्यक्ष द्विवेदीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गरेका थिए । प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु अघि उनले शिवपुरीस्थित नेपाली आर्मी कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गरेको पनि दूतावासले जनाएको छ ।
नेपाली सेनाको सैनिक तालिम महानिर्देशनालयका उपरथी ध्रुवप्रकाश शाह तथा नेपाली सेनाको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका कमाण्डेन्टले उनलाई स्वागत गरेका थिए। जनरल द्विवेदीले आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका विद्यार्थी अफिसरहरुलाई सम्बोधन गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comment
Comment