काठमाडौं । अहिले लेबनान स्तब्ध छ । राजधानी बेरुत लगायतका स्थानमा हजारौं पेजर र वाकीटकी विस्फोट हुँदा अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ भने ३५ सयभन्दा धेरै घाइतेको उपचार भइरहेको छ ।
बीबीसीकाअनुसार धेरै घाइतेले औंला गुमाएका छन् । होटल डियू अस्पतालकी डा. नूर एल ओस्टाले यस घटनाले बेरूत पोर्टमा २०० भन्दा बढीको ज्यान जाने गरी भएको विस्फोटको सम्झाना दिलाएको बताइन् । तर, यो घटना त्यो भन्दा फरक प्रकृतिको रहेको उनले बताइन् ।
उनले भनिन्, ‘हामीले धेरै उस्तै चोटहरू पायौं । धेरै घाइतेहरूले औंलाहरू गुमाएका छन्, आँखामा चोट लागेको छ । यो हामीले पहिले कहिल्यै देखेका थिएनौं ।’
सुरक्षाका कारण स्वास्थकर्मीलाई बिरामीका आफन्तहरुसँग कुराकानी गर्न अनुमति दिइएको छैन । घाइतेहरु अधिकांश हिज्बुल्लाहका सदस्य हुन् ।
लेबनानमा अधिकांश मानिस अहिले आतंकित छन् । कुन बेला मोबाइल, ल्यापटप नै पड्किने हो कि भनेर ।
लेबनानकी नागरिक घिडा भन्छिन्, ‘हामीलाई थाहा छैन कि कहिले हामी ल्यापटप, फोनको छेउमा बस्न सक्छौं । यहाँ सबै कुरा खतरा जस्तो देखिन्छ र कसैलाई के गर्ने थाहा छैन ।’
‘म लेबनानमा व्यापक स्तरको युद्धबाट डराउँछु, म मेरा मानिसहरूको लागि डराउँछु, म मेरो शहरको लागि डराउँछु, म मेरो देशको लागि डराउँछु,’ उनी भन्छिन् ।
विस्फोटका घटना धेरैजसो यन्त्रहरू बोकेकाहरू किनमेल गर्न वा परिवारसँग घरमा हुँदा भएका थिए ।
पहिलो दिन पेजर र अर्कोदिन वाकीटकी विष्फोट भएको थियो । यो आक्रमण इजरायलले गराएको अतिवादी समूह हिजबुल्लाहको आरोप छ । इजरायलले अहिलेसम्म केही बताएको छैन ।
वाकीटकी बनाउने कम्पनीले के भन्यो ?
विस्फोटपछि वाकीटकी बनाउने जापानी कम्पनी आइकमले स्पष्टीकरण दिएको छ । कम्पनीले विस्फोट हुने वाकीटकीका मोडल १० वर्षअघि नै उत्पादन गर्न बन्द गरिसकेको जनाएको छ ।
आइकमले IC-V82 मोडल २००४ र २०१४ को बीच मध्य पूर्वी देशहरूमा निर्यात गरिएको बताएको छ । तर, सन् २०१४ देखि उत्पादन रोकिएको छ । यसको ब्याट्री उत्पादन पनि रोकिएको छ।
जुन वाकीटकीमा विष्फोट भएको हो, ती वाकीटकी हामीले पठाएको हो वा वितरकमार्फत् पठाइएको हो भन्न गाह्रो भएको कम्पनीले जनाएको छ ।
यी पनि पढ्नुहोस:
पेजर–वाकीटकी आक्रमण : लेबनानमा हालसम्म ३२ जनाको मृत्यु, ३५०० भन्दा बढी घाइते
हिजबुल्लाह : इजरायलको सबैभन्दा कडा प्रतिद्वन्द्वी ; अहिले कति शक्तिशाली ?
हिजबुल्लाह के हो ? यसका लक्ष्यहरू के के हुन् ?
Facebook Comment
Comment