काठमाडौं । भनिन्छ– प्रेममा उमेर, जात, जन्म र वर्ण केही हेरिँदैन । गीतकार इन्दिवरले लेखेको र चर्चित गायक जगजित सिंहले गाएको एक हिन्दी गीतमा छ
न उमरकी सीमा हो
न जन्मका हो बन्धन
जब प्यार करे कोही तो देखे केबल मन
तर, यो त ‘प्रेम’को कुरा भयो । कुरा जब ‘विवाह’को आउँछ, उमेर हेरिन्छ । उमेर विवाहको एक महत्त्वपूर्ण शर्त बन्दछ ।
प्रेम र विवाह फरक विषय हुन् । प्रेम हुँदैमा विवाह हुनुपर्दछ भन्ने छैन । प्रेम एक प्राकृतिक भावना हो, विवाह एक सामाजिक सम्झौता । प्रेमको वैधानिकता भावनासँग जोडिएको हुन्छ र विवाहको विधान सामाजिक वैधतासँग ।
कुनै समय संसारका धेरै देश र समाजमा बाल विवाहको प्रचलन थियो । उमेर नपुग्दै अभिभावकले आफ्ना सन्तानको बिहे सम्झौता गरिदिन्थे । जवान भएर पनि तीनले वचनको पालना गर्थे । आज यस्तो प्रचलन कानूनतः बन्देज छ । बिरलै समुदाय र राज्यमा मात्र अब यस्ता प्रचलन बाँकी होलान् ।
विवाह योग्य उमेरका लागि राज्यका आ-आफ्ना कानून छन् । सामान्यतः १६, १८ वा २० वर्षअघि विवाह गर्न नपाइने कानून बनेका छन् । बालविवाह निषेधको समयमा १६ वर्षलाई परिपक्क उमेर मानिएको थियो । आज १६ वर्ष त्यति परिपक्क उमेर मानिँदैन । अधिकांश देशमा १८ वा २० वर्ष नपुगी विवाह गर्न नपाइने कानून छ ।
तर, उमेरको प्रसङ्ग बालविवाहको कारणले मात्र हैन, अनमेल विवाहको कारणले पनि उठ्ने गर्दछ । दुलाहा-दुलहीबीच उमेरको ठूलो भिन्नतालाई ‘अनमेल विवाह’ भनिन्छ । अनमेल बिहे भएका दम्पत्तिबीच विभिन्न समस्या देखिने गर्दछन् ।
अनुसन्धान प्रतिवेदन र सर्वेक्षणहरूले के देखाउँछन भने उमेरको दूरी धेरै भएका दम्पत्तिमा मुख्यत: निम्न समस्या देखा पर्दछन् ।
१. अनमेलपनको हीनताभास
उमेरको भिन्नता धेरै भएका दम्पत्तिबीच सँगै हिँड्दा वा सार्वजनिक जीवनमा सहभागी हुँदा नाता भ्रम सृजना हुन्छ । दम्पत्ति नभएर दाजु-बहिनी, पिता-पुत्री वा अन्य नातेदार हुन सक्ने भान अरुलाई पर्दछ । अरुमा पर्न सक्ने यस्तो भ्रमले स्वयम् दम्पत्ति प्रभावित हुन्छन् ।
तिनलाई सँगै हिँड्न वा सार्वजनिक जीवनमा दम्पत्तिको जस्तो व्यवहार गर्न अप्ठ्यारो अनुभूति हुन्छ । मनमा उमेर भिन्नता र अनमेलपनको हीनताभास भइरहन्छ ।
२. शक्ति सम्बन्धमा असमानता
असमान उमेरका दम्पत्तिको आपसी शक्ति सम्बन्ध पनि असमान नै हुन्छ । जोडीमा एकजना छिटो वृद्ध, कमजोर वा शिथिल हुने हुँदा अर्कोलाई निर्णायक प्रभाव पर्दछ ।
३. एकअर्काप्रति दोषारोपण
दम्पत्तिबीच समान शक्ति सम्बन्ध र निर्णय अधिकार नहुँदा तिनले बिग्रेका काममा लागि एक अर्कालाई दोषारोपण गर्दछन् । बढी उमेरकाल कम उमेरको जोडामा बचकनापन र त्यसबाट हानि भएको देख्छ । कम उमेरवालाले बढी उमेरलाई आफ्नो जीवनमाथि अनावश्यक वा गलत निर्णय थोपरेको दोष लगाउने गर्दछ ।
४. विवाहेत्तर यौन सम्बन्धको सम्भावना
औसत मानिस समान उमेर समूहबीच यौन सम्बन्धको चाहना राख्दछन् । तर, अनमेल विवाहले यस्तो चाहना पूरा गर्ने अवसर दिँदैन । तसर्थ, ती मनमनै असन्तुष्ट हुन्छन् । आफ्नै उमेर समूहको जोडासँग यौन सम्बन्ध राख्न पाए कस्तो हुन्थ्यो होला भन्ने अतृप्त सोच तिनको मनमा जाग्रित भइरहन्छ ।
यसबाट आफ्नो उमेर समूहमा यौन सम्बन्ध बनाउने प्रयास गर्दछन् । विवाहेत्तर सम्बन्धको सम्भावना बढी हुन्छ र यसले दम्पत्तिको सम्बन्धमा थप जटिलता उत्पन्न गर्दछ ।
५. पुस्तागत भिन्नता
पति-पत्नीको उमेरमा धेरै ठूलो दूरी व्यक्तिगत सवाल मात्र नभएर पुस्तागत भिन्नताको कारण बन्दछ । फरक पुस्ताबीचको वैवाहिक जीवन सहज हुँदैन । हरेक पुस्ताका आफ्ना सोच र जीवनशैली हुन्छन् ।
व्यक्तिगत सम्मान र भावनात्मक लगाव ठीकठाक हुँदाहुँदै पनि पुस्तागत दृष्टिकोण र जीवनशैलीको भिन्नताले दाम्पत्य जीवनको मज्जामा कमी ल्याउन सक्दछ ।
पुस्तागत भिन्नता भनेको मूल्य प्रणालीको भिन्नता पनि हो । खानपान र लवाइखवाइमा आउने भिन्नता पनि हो । यी भिन्नताले सृजना गर्ने दूरी कम गर्न तथा सम्बन्ध कायम राख्न दम्पत्तिले अतिरिक्त प्रयास गर्नुपर्ने आवश्यकता बन्दछ ।
६. एक्लो हुनुपर्ने भय र पुनर्विवाहको झमेला
असमान उमेरबीच कुनै एकको छिटो मृत्यु हुनु स्वाभाविक हुन्छ । तसर्थ, कम उमेरको सदस्यमा छिटै बिदुर वा बिधवा हुनु पर्ने चिन्ताले भित्रभित्रै सताइरहेको हुन्छ । बुढ्यौलीको एक्लो जीवनको कल्पना धेरैका लागि कहालीलाग्दो हुन्छ ।
अर्को कुरा दम्पत्तिमध्ये कुनै एकको छिटो मृत्यु भएमा बाँच्नेलाई पुनर्विवाह गर्नुपर्ने झमेला थपिन्छ ।
७. डिभोर्स हुने सम्भावना धेरै
पतिपत्नी बीच उमेरमा धेरै ठूलो भिन्नता छ भने खास समयपछि समझदारी बिग्रने वा एकअर्कासँग असन्तुष्ट हुने सम्भावना बढी हुन्छ, साथै डिभोर्सको सम्भावना पनि बढ्छ ।
डिभोर्स हुनु एक सामान्य कानुनी प्रक्रिया मात्र हैन, सँगसँगै आर्थिक, पारिवारिक सम्बन्धमा जटिलता थपिन्छन् । सन्तानहरूप्रतिको दायित्व र सम्बन्धमा कठिनाइ उत्पन्न हुन्छ ।
नेपालमा पतिपत्नीबीच १० वर्षभन्दा बढी उमेरको भिन्नता राम्रो मानिँदैन । तर, वयस्क मानिसबीचको प्रेम र विवाहलाई यो कानुनी सीमाभित्र राख्न भने सजिलो छैन । कतिपय देशका कानुनले १० वर्ष उमेर भिन्नताको छुट सुविधासमेत दिएका छैनन् ।
जस्तो कि डेनमार्कको कानून यस विषयमा बढो गजबको छ । त्यहाँ विवाहित दम्पत्तिबीचको उमेरमा ३ वर्षभन्दा बढीको भिन्नता हुनु हुँदैन । दुलाहा-दुलहीभन्दा ३ वर्षसम्म मात्र बढी उमेरको हुन सक्दछ । तर, सबैले यो कानून पालना गरी बस्दैनन् । बरु तिनले कानुनी दण्डको मूल्य चुकाउँछन तर, विवाह गर्छन नै ।
पत्नी-पत्नी उमेर अनुपात संसारभरि नै महिलाको भन्दा पुरुषको बढी देखिन्छ । लैङ्गिक समानताका दृष्टिले यो उचित हैन तर, यसो हुनुका मनोवैज्ञानिक कारण भने बलिया छन् ।
अक्सर महिला व्यवस्थित र करिअर स्थिरता भइसकेको पुरुषको चाहना राख्दछन् । तसर्थ, पत्नीको भन्दा पतिको उमेर बढी हुने गर्दछ । पतिभन्दा जेठी पत्नी निकै कम सङ्ख्यामा मात्रै भएको पाइन्छ ।
तर, यसको नाकारात्मक पाटो के हो भने जेठो पति हुँदा दम्पत्तिमध्ये छिटो मृत्यु पनि पतिको हुने सम्भावना बढी हुन्छ । समाजमा विदुरका तुलनामा विधवाको सङ्ख्या धेरै हुनुको मुख्य कारण पति-पत्नीमध्ये अधिकांशतः पतिको उमेर धेरै हुनु हो ।
उमेर भिन्नताको प्रभाव जीवनको चरणपिच्छे फरक हुन्छ । जस्तो कि प्रारम्भिक उमेरमा पति-पत्नीबीच १० वर्षको उमेर भिन्नता छ, पति ३० वर्षको र पत्नी २० वर्षको छन् भने खासै ठूलो समस्या नदेखिन सक्दछ तर, त्यही कुरा जीवनको उत्तरार्धमा पुग्दा फरक हुन्छ । जब त्यो भिन्नता ६३ र ७३ को हुन्छ, त्यसको चरित्र फरक हुन्छ ।
पत्नी यद्यपि यौनिक दृष्टिकोणले सक्षम नै हुन्छिन् र पतिमा वृद्धपनको गुण बढी देखिन सक्दछ । मानौँ कि उमेरको भिन्नता २० वर्ष छ भने त्यो झनै ठूलो समस्या हुन्छ । २० वर्षकी पत्नी र ४० वर्षको पतिबीच त्यति धेरै समस्या नहुन सक्दछ तर, जब त्यही सम्बन्ध अर्को चरण ५० वर्षकी पत्नी र ७० वर्षको पतिको अवस्थामा पुग्दछ, अनेक समस्या देखिन सक्दछन् ।
अष्ट्रियाली वैवाहिक सम्बन्ध अध्ययन सर्वेक्षण २०१७ का अनुसार ५ वर्षभन्दा कम उमेर भिन्नता भएका दम्पत्ति, त्यो पनि पत्नीभन्दा पति जेठो भएको अवस्थामा वैवाहिक सम्बन्ध सबैभन्दा बढी सफल र सुखद देखिएको थियो । कोरियाली सर्वेक्षण २०१५ ले पनि यो निष्कर्षलाई समर्थन गर्दछ ।
यदि अन्य बाध्यता वा संयोगको भूमिका प्रवल छैन भने पति-पत्नीबीच ५ वर्षभन्दा बढी उमेरको भिन्नता नहुनु राम्रो हो । र, निश्चय नै त्यो पति, पत्नी दुवैमा लागू हुनुपर्दछ ।
पत्नीभन्दा पति सधैँ जेठो हुनु पर्दछ भन्ने छैन । तर, मनोविश्लेकष भन्छन्, “पत्नीभन्दा पतिको उमेर बढी हुनु सामाजिक कारणबाट उत्पन्न लैङ्गिक असमानता मात्र हैन, यसका जैविक र मनोवैज्ञानिक कारण पनि छन् ।”
Facebook Comment
Comment