काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाटै आफूविरुद्ध निराधार हल्ला फिँजाइएको आरोप लगाएका छन् ।
गत साउन २५ गते सुरु भएको स्थायी कमिटी बैठकमा १४ बुँदे लिखितै प्रस्ताव पेस गरेका शर्माले यस्तो आरोप लगाएका हुन् । नेतृत्वले जिम्मेवार भएर आम प्रश्नहरूको जवाफ दिनुपर्नेमा त्यसो नगरी पार्टीलाई थप भाँड्ने काम गरेको आरोप शर्माको छ ।
अब नेतृत्व तेस्रो पुस्तामा पुर्याएर मात्रै पार्टी बाँच्ने बताएका शर्माले पार्टीमा कम्युनिष्ट पार्टीको सामूहिक नेतृत्वको अवधारणालाई कुल्चिएर एकलौटी नेतृत्व हाबी गराइएकोलगायतका आरोपहरू लगाएका छन् ।
विस्तृतमा हेरौँ शर्माका आरोपहरू—
१. नेतृत्वबाटै जनार्दन एमालेमा जाँदैछन् भन्ने हल्ला फिँजाइयो : शर्माले नेतृत्व (अध्यक्ष) बाटै आफू एमालेमा जाँदै गरेको हल्ला फिँजाएको आरोप लगाएका छन् ।
“खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो । उक्त प्रचारबाजीलाई मद्दत पुग्नेगरी पोखरा आइपुग्दा मूल नेतृत्वले नै ‘पार्टी फुटतिर उन्मुख छ, कसलाई साथ’ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो,” शर्माले प्रस्तावमा भनेका छन् ।
उनले थपेका छन्, “देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ ।”
यसपछि आफूलाई ‘पार्टी फुटाउन लागेको हो… ?’ भन्ने प्रश्नसहित देशभरबाट फोन आइरहेको शर्माले उल्लेख गरेका छन् ।
२. प्रश्नको जवाफ दिनुको साटो नेतृत्वबाटै आम पार्टी-पङ्क्तिलाई तरङ्गित पार्ने काम भयो : शर्माले नेतृत्वबाटै एकपछि अर्को कमजोरी भइरहेको औँल्याएका छन् ।
ती कमजोरीहरूबारे प्रश्न सोद्धा पार्टी-पङ्क्तिलाई थप तरङ्गित पार्ने काम नेतृत्वले गरिरहेको शर्माले उल्लेख गरेका छन् । “प्रश्नहरूको जवाफ दिने झन्झटतिर लाग्नुभन्दा आम पार्टी-पङ्क्तिलाई तरङ्गित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उद्देश्य नेतृत्वको रहेको थियो,” उनले भनेका छन् ।
उनी थप्छन्, “स-साना अन्तरविरोध समाधान गर्न झन् ठूलो अन्तरविरोध सृजना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको छ यहाँनेर ।”
३. प्रतिशोध साँध्न पार्टीभित्र राज्य-शक्तिको प्रयोग गर्न खोजियो : शर्माले पार्टीभित्रको प्रतिशोध साँध्न पार्टीभित्र राज्य-शक्तिको प्रयोग गर्न खोजिएको आरोप लगाएका छन् ।
“पार्टीभित्र विभिन्न तहका नेताहरूलाई जुटाउन हैन, फुटाउनको लागि गरिने मेहेनतबारे प्रश्न सोधिएको थियो । त्यसबेला राज्य-शक्तिको प्रयोग गर्न खोजियो,” उनले भनेका छन्,”पार्टीभित्रको सवालमा राज्य-शक्तिको प्रयोग किन भनेर प्रश्न सोध्दा पनि पार्टी आतङ्कित पार्न खोजियो ।”
४. जनतालाई दिइएका आश्वासन सरकारमा हुँदा पूरा भएनन् : शर्माले माओवादीले सरकारको नेतृत्व गर्दा जनतालाई दिइएका आश्वासन पूरा गर्न नसकेको र त्यसमा मुख्यत: नेतृत्वकै कमजोरी रहेको औँल्याएका छन् ।
“हाम्रो पार्टीको साँघुरिँदै जानुको मूल कारण जनता नभएर हामीले उठाएका नारा, दिएका आश्वासन हामी सरकारमा हुँदा पूरा नभएर हो,” उनले भनेका छन्, “शान्ति प्रक्रियामा आएयता हाम्रो तौर-तरिका युद्धकालीनभन्दा फरक नभएको, जनसम्बन्ध, जनसम्पर्क वा हाम्रा च्यानलहरू सही नभएको, हाम्रो बसाइ-उठाइ, रहनसहन राजामहाराजाको जस्तो भएको जनताले मन पराएनन् ।
सीमित मान्छेको घेरामा टाढैबाट दर्शन-भेट हुने वातावरणमै माओवादीहरू रमाउन थालेको शर्मा औँल्याएका छन् । उनी सोध्छन्, “के हामी यो अवस्थाको अन्त्य गरी पूरै जनतामा जानसक्ने वातावरण बनाउन सकौँला ?,”
‘घनश्याम मोडेल’मै जनार्दन : तेस्रो तहका युवालाई नेतृत्व हस्तान्तरणको माग, मान्लान् प्रचण्ड ?
५. सामूहिक नेतृत्वको कम्युनिष्ट अवधारणालाई सङ्कुचित पार्दै एकलौटी नेतृत्वको अभ्यास गरियो : शर्माले कम्युनिष्ट पार्टीमा सामूहिक नेतृत्वको अवधारणा र अभ्यास भएपनि त्यसलाई कुल्चिँदै एकलौटी नेतृत्वको गलत अभ्यास पार्टीमा भएको आरोप लगाएका छन् ।
“सामूहिक नेतृत्वको कम्युनिष्ट अवधारणालाई सङ्कुचित गर्दै एकलौटी नेतृत्वको अभ्यास गरियो,” उनले भनेका छन्, “युद्धकालीन प्राधिकार सामूहिक विचार संश्लेषणको रूपमा थियो तर, शान्ति प्रक्रियामा आउँदै गर्दा वैचारिक संश्लेषणलाई खारेज गरेपछि नेतृत्वको प्राधिकार मात्र बाँकी रह्यो, जसले पार्टीलाई उल्टो दिशातर्फ डोर्यायो ।”
शान्ति सम्झौतासँगै बदलिएको परिस्थितिअनुरूप पार्टीलाई सङ्गठनात्मक संरचना र विधि-पद्धतिअनुरूप चलाउनुपर्ने भएपनि त्यो नभएको आरोप शर्माको छ ।
उनले भनेका छन्, “सचिवभन्दा उपमहासचिव, उपमहासचिवभन्दा महासचिव, महासचिवभन्दा उपाध्यक्ष, उपाध्यक्षभन्दा वरिष्ठ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्षभन्दा अध्यक्ष माथि हुने र एकअर्कोलाई उँचो-निचो देखाउने वेयष्ट मिनिष्टरियल सिष्टम पार्टीमा लागू गरियो ।”
Facebook Comment
Comment