काठमाडौं । बागमती प्रदशेसभामा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सोमबार मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरेसँगै एमालेको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको दिएको राजीनामा आइतबार नै स्वीकृत भइसकेको छ ।
नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भइसकेकाले सोमबार बिहान बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्न लागिएको कांग्रेस सांसद रामकृष्ण चित्रकारले जानकारी दिए ।
लामाको नियुक्ती भने मंगलबार साँझ ५ बजेपछि मात्रै हुनेछ । सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
नयाँ सत्तासमीकरण बनेसँगै बागमतीमा अब चौथोपटक एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ ।
नयाँ सरकारमा एमालेले ७ वटा मन्त्रालय मागेको छ । मन्त्रालय भागबन्डाको विषय टुंगिन बाँकी रहेको चित्रकारले बताए ।
समीकरण बदलिएसँगै जमकट्टेल साढे ६ वर्षपछि सत्ताबाट बाहिरिएका छन् ।
प्रदेशको पहिलो कार्यकालको पाँच वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय चलाएका जम्कट्टेल प्रदेशको दोस्रो कार्यकालमा तीन पटकसम्म विश्वासको मत पाएर मुख्यमन्त्रीमा टिकेका थिए ।
Facebook Comment
Comment