काठमाडौं। थापा गाउँस्थित मण्डला थिएटरमा साउन ५ गतेदेखि नाटक ‘मेषी दण्ड’को नियमित मञ्चन सुरु हुने भएको छ।
झन्डै दुई शताब्दीअघि घटित इतिहासको एउटा घटनामा आधारित यस नाटकले आदिवासी खालिस राईहरूको भाषा र संस्कृति अनि उनीहरूको रैथाने जीवनमा तत्कालीन राणा शासकले कसरी दमन गरे? भन्ने कथा बोकेको छ।
गीलु रातोसको लेखन अनि अनिल सुब्बाको परिकल्पना र निर्देशनमा बनेको ‘मेषी दण्ड’ मा सोलुखुम्बुको खालिस राई समुदायले भाषागत समस्यामा भोगेका दुःखद कथालाई समेटिएको छ।
रिजन केसीको निर्माणमा मण्डला थिएटरको प्रस्तुति रहेको यो नाटकमा कलाकारहरू प्रतिना राई, मणि के राई, अरुण पौडेल, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, पूर्णबहादुर गन्धर्व, अमर बुढाथोकी, रमिता राई, सञ्जय विश्वकर्मा, लहना राई, जञ्जीत थुलुङ राई, अजय लामा, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बू, सञ्जीव योगी, प्रवीण मगरको अभिनय छ। मण्डला थिएटरको सन् २०२४ भित्र १४ वटा नाटक मञ्चन गर्ने योजना अनुसार यो नाटक दोस्रो हो।
यसअघि प्रवीण खतिवडाको निर्देशनमा नाटक ‘अन्धवेग’ मञ्चन भइसकेको छ। साउन २७ गतेसम्म मञ्चन हुने ‘मेषी दण्ड’, सोमबार बाहेक हरेक साँझ ५:४५ बजे र शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो मञ्चन हुनेछ।



Facebook Comment
Comment