काठमाडौं । राप्रपाका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट विनियोजन पुस्तिका च्यातेका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद लिङ्देन ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न रोस्ट्रम पुगेका थिए ।
विनियोजन पुस्तिका च्यात्नुअघि लिङ्देनले आफ्नो स्वभावबारे केही बेर बोलेका थिए ।
‘सामान्यतया म आफूले आफैंलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो । रिस पनि उठ्छ, कहिलेकाहीँ रिस पनि पोखिन्छ । एकछिनपछि सेलाउने र मन बुझाउने मान्छेको रुपमा मैले आफूलाई ठान्छु’, पृष्ठभूमि बाँध्दै उनले भने ।
तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको (बजेट विनियोजन) पुस्तिका हातमा परेपछि आफु तातिएको उनको भनाइ छ । थपे, ‘यसरी तातिएको छु कि यसरी च्यातेर (विनियोजन पुस्तिका च्यात्दै) यसरी हुर्याउने मन छ । तर यो संसदीय मर्यादाविपरीत हुन्छ भनेर, कहाँ हुर्याउने हो, त्यहाँचाहिँ नहुर्याएर यहाँ (रोस्ट्रममा) राख्छु’, उनले भने ।
उनले आफूले च्यातेको पुस्तिका रोस्ट्रममै राखे ।
उनले आफ्नो आक्रोश आफ्नो मात्रै मनको कुरा नभएको बताए । ‘अहिले यस्तो कुनै नाप्ने चिज रहेछ भने यो हलभित्र बसेका जुनसुकै पार्टीको भए पनि चार वटा निर्वाचन क्षेत्रभन्दा बाहेकको सबै प्रतिनिधि सभा सदस्यहरूको मनको कुरा हो’, उनले भने ।
उनले बजेट विनियोजनमा सामान्य लाज र घिन पनि नराखिएको तर्क गरे ।
‘यसरी सामान्य लाजघिन पनि नराखेर राज्यस्रोतमाथि यस प्रकारको मनपरी कतिदिनसम्मा मानिसहरूले सहेर बस्ने ? सामान्य लाज पनि नराख्ने, यो देख्छन्, यो पढिने चिज हो, देखिने चिज हो भन्ने कुरा पनि नराख्ने ? यहाँ जिल्लाको नामा राख्दा धेरै देखिन्छ भनेर जिल्लाका नाम नराखी समेत योजना राखिएको छ’, उनले भने ।
Facebook Comment
Comment