काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ ।
सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको श्रम मन्त्रालयले जनाएको छ ।
हरेक प्रदेशमा रोजगार मेला दुई दिन सञ्चालन हुने छ । आज र भोलि कोशी प्रदेशको विराटनगरमा मेला सुरु हुने छ ।
मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।
ललितपुरबाट मेलाको समापन हुने छ ।
श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी लिन सकिने श्रम मन्त्रालयले जनाएको छ ।
श्रम मन्त्रालय र मातहतका सबै निकाय एवम् विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाल लगायतका स्टल रहनेछन् ।
मेलामा रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने मन्त्रालयले जनाएको छ ।
श्रममन्त्री डोलप्रसाद अर्यालले सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने बताए । मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएका कामदारलाई अवसर मिल्ने छ ।
Facebook Comment
Comment