सीप मेला: आईटीमा थपिए ७ तालिम, अनलाइन आवेदन आजसम्म

नेपालभ्युज

सीप मेला: आईटीमा थपिए ७ तालिम, अनलाइन आवेदन आजसम्म

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न लागेको सीप विकास मेलामा सूचना प्रविधि (आईटी) क्षेत्रमा थप सात वटा नयाँ तालिम समावेश गरिएको छ। यससँगै आईटी समूहमा अब १२ वटा विभिन्न पेशामा तालिम उपलब्ध हुने भएको छ।

महानगरपालिकाले यसअघि आईटी समूहमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स टेक्निसियन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र यसको प्रयोग जस्ता पाँच पेशामा तालिम दिने घोषणा गरेको थियो। हालै थपिएका नयाँ पेशाहरूमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स डिजाइन रहेका छन्।

त्यसैगरी, ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा ‘विक्स’ नामक नयाँ पेशा थपिएको छ। यससँगै सौन्दर्य समूहमा अब पाँचवटा पेशामा तालिम दिइनेछ। अन्य १० समूहका ३४ पेशामा भने कुनै परिवर्तन नगरिएको महानगरपालिकाले जनाएको छ। यसरी आठ वटा नयाँ पेशा थपिएपछि अब सीप मेलामा जम्मा ४२ वटा विभिन्न पेशामा तालिम सञ्चालन हुनेछ।

कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले रोजगारदाताहरूको मागलाई मध्यनजर गर्दै तालिमका पेशा र कक्षाहरू थप गरिएको जानकारी दिए। तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले आज जेठ ५ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्। अनलाइन आवेदन दिनका लागि लिङ्क क्लिक गरी  https://kmc.seepmela.com/ आवश्यक विवरण भरेर फाराम बुझाउन सकिनेछ।

अनलाइन आवेदन दिन कठिनाइ भएकाहरूका लागि आज राष्ट्रिय सभागृहमा सहायता कक्ष स्थापना गरिने समितिका सदस्य विवेक बास्तोलाले जानकारी दिए। हालसम्म ३,५७६ जनाले आवेदन दिइसकेको र सबैभन्दा धेरै माग डिजिटल मार्केटिङ, बारिस्ता, एआई, बेकरी र ब्युटिसियन पेशामा देखिएको बताइएको छ।

महानगरपालिकाले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँगको सहकार्यमा २०८२ जनालाई निःशुल्क तालिम प्रदान गर्ने लक्ष्य राखेको छ।

तालिममा काठमाडौँ महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइटबाट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र सडक पेटीमा व्यवसाय गर्नेहरूलाई प्राथमिकता दिइनेछ।

१८ देखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकहरूले यो तालिममा सहभागी हुन पाउनेछन्। तालिम ३० दिनसम्म दैनिक ६ घण्टाको दरले जम्मा १०० घण्टा सञ्चालन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved