प्रधानमन्त्री प्रचण्डलाई क-कसले दिए विश्वासको मत ?

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डलाई क-कसले दिए विश्वासको मत ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रतिनिधि सभामा भएको मतदानमा उनले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा १५७ मत परेको हो ।

मतदानमा १५८ सांसद सहभागी थिए । त्यस क्रममा प्रस्तावको विपक्षमा शून्य मत परेको थियो । त्यस्तै, तटस्थमा १ मत परेको थियो ।

प्रधानमन्त्रीको राखेको प्रस्तावको पक्षमा एमालेका ७६, माओवादी केन्द्रका ३२, रास्वपाका २१, एकीकृत समाजवादीका ९, जसपाका ७, जनमत पार्टीका ६, नाउपा ३ सांसदले मत दिएका थिए । त्यस्तै, तीन जना स्वतन्त्र सांसदहरू (योगेन्द्र मण्डल, प्रभु साह र अमरेशकुमार सिंह) ले पनि उनलाई मत दिएका थिए ।

मतदानमा सत्ता पक्षकै सांसदहरू प्रकाश ज्वाला (नेकपा एस), गंगाराम चौधरी (नाउपा), बसन्त नेम्बाङ (नेकपा एमाले/बिरामी) र टोपबहादुर रायमाझी (एमाले/निलम्बन) उपस्थित थिएनन् । त्यस्तै, सभामुखले पनि मतदानमा भाग लिएका थिएनन् ।

मतदान प्रक्रियामा कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा र जनमोर्चा सहभागी भएका थिएनन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने तटस्थमा मतदान गरेका थिए ।

सोमबारको पहिलो बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो । १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः बस्दा सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।

दोस्रो बैठकमा पनि कांग्रेसले वेल घेराउ गरेको थियो । उसको नाराबाजीकै बीच प्रधानमन्त्री प्रचण्डले प्रस्ताव पेस गरेका थिए । त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी, ललिता निवास, बाँसबारी, बालमन्दिर, सुन काण्ड लगायतमा प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारबाहीले जनतामा लोकतान्त्रिक शक्तिप्रति ठूलो भरोसा जागेको बताए ।

नाराबाजीकै बीच एमाले उपाध्यक्ष तथा प्रतिनिधि सभा विष्णु पौडेलले छलफलमा भाग लिएका थिए । उनले प्रचण्ड पूरै कार्यकाल प्रधानमन्त्री रहने बताएका छन् । ‘प्रतिनिधि सभाले निर्वाचित गरेको सरकारले पूरा कार्यकाल पूरा गर्ने छ’, उनको भनाइ थियो ।

छलफल प्रक्रियामा पौडेल एक्लैले भाग लिएका थिए ।

अन्तिममा प्रधानमन्त्री प्रचण्डले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले कांग्रेसलाई चेतावनीयुक्त भाषामा ठूलो मूल्य चुकाउने बताएका थिए । कांग्रेसका नाराबाजीकै बीच सम्बोधन गरेका उनले भनेका थिए, ‘नेपाली कांग्रेसका लागि मूल्य चर्को पर्ने छ । आजको तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुने छ, कलंकको रुपमा ।’

त्यसपछि मतदान प्रक्रिया सुरु भएको थियो । कांग्रेसका सांसदहरूले रित्तो सदनमा नाराबाजी गरिरहँदा मतदान प्रक्रिया चलेको थियो ।

प्रधानमन्त्री प्रचण्डले यसपटक लिएको विश्वासको मत चौथो हो । उनले यसअघि तीन पटक विश्वासको मत लिइसकेका छन् ।

२०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले पहिलोपटक २०७९ पुस २६ गते नै विश्वासको मत लिएका थिए । त्यतिबेला उनको प्रस्तावको पक्षमा २६८ र विपक्षमा २ मत परेको थियो ।

एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि उनले सोही वर्ष चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले राखेको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो। मत दिन्न भन्ने पक्षमा एक मत खसेको छ।

नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि उनले २०८० फागुन ३० मा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले राखेको प्रस्तावको पक्षमा १५७ मत परेको थियो। प्रस्तावको विपक्षमा ११० मत परेको थियो। र मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved