बालुवाटार बैठकपछि रमेश लेखकले भने- संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक

नेपालभ्युज

बालुवाटार बैठकपछि रमेश लेखकले भने- संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सराकात्मक रहेको बताएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरूको छलफलपछि लेखकले बैठकमा आफूहरूले सहकारीमा जम्मा भएको रकम अपचलनको विषयमा संसदीय छानबिन समिति गठन गर्ने विषय राखेको बताए ।

आफूहरूले राखेको कुरालाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको लेखकले बताए । ‘हामीले हाम्रो कुरा राखेका छौँ’, उनले भने, ‘त्यसलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिनुभएको छ ।’

लेखकले सोमबार १ बजे संसदीय कार्यसमितिको बैठक र २ बजे संसदीय दलको बैठक बस्ने भन्दै त्यहीँबाट आफूहरूले निर्णय लिने बताए ।

नेपाली कांग्रेसले अघिल्लो अधिवेशनदेखि नै सहकारीमा जम्मा भएको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ । आफूहरूको मागमा सरकार सकारात्मक नभएपछि उसले संसद् समेत अवरोध गर्दै आएको छ ।

वैशाख २८ मा सुरु भएको बजेट अधिवेशनको पहिलो दिन पनि उसले अवरोध गरेको थियो । साथै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने संयुक्त बैठक समेत अवरोध गर्ने संकेत गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसद्को संयुक्त बैठकमा वाचन गर्ने तयारी छ । त्यसका लागि बैठक समेत आह्वान भइसकेको छ । त्यसअघि नै प्रधानमन्त्री र सभामुखले सदन चल्ने वातावरण बनाउने प्रयत्न गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेले पनि आजै बैठक बोलाएका छन् । घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका मुख्य/प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका हुन् ।

बैठक आइतबार दिउँसो २ बजे सिंहरदरबारस्थिति सभामुख घिमिरेको कार्यकक्षमा बस्ने उनको सचिवालयले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved