जमिन धितो राखेर ट्रक किनेका थिए, सीके राउतका कार्यकर्ताले आगो लगाइदिए

नेपालभ्युज

जमिन धितो राखेर ट्रक किनेका थिए, सीके राउतका कार्यकर्ताले आगो लगाइदिए

जनकपुरधाम। “पाँच कठ्ठा जमिन बैंकमा धितो राखेर किनेको ट्रक जनमत पार्टीका कार्यकर्ताहरूले आज आगो लगाएर जलाइदिएँ, अब बैंकको ऋण कसरी तिर्ने ?” धनुषा मिथिला नगरपालिका वडा नं. ९ का ट्रकका धनीसमेत रहेका चालक विजय साहले रुँदै भने।

उनले पाँच कठ्ठा जमिन बैंकमा धितो राखेर दुई वर्ष अगाडि ट्रक किनेका थिए। ट्रकको आम्दानीले ऋण तिर्ने योजना बनाए पनि अहिले उनको ट्रक जलेर खरानी भयो। उनले रुँदै फोनमा भने, “अब ऋण कसरी तिर्ने ठूलो आपत आइलाग्यो म माथि।”

जनमत पार्टीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिकै हिमालय सुगर मिल्समा उखु पुर्‍याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा आज बिहानै आगजनी गरेका हुन्।

साहले भने, “जनमतका कार्यकर्ताहरूले एक्कासि ट्रकमा ढुंगामुढा गरेपछि आत्तिएर ट्रक रोकें, रोक्नेबित्तिकै तिनीहरूले ट्रकमा पेट्रोल छर्केर आगजनी गरे। मैले केही बुझ्नै सकिनँ। हेर्दा हेर्दा मेरो आँखा अगाडि ट्रक जलिरह्यो। म हेरिरहें। मेरो दिमागले केही कामै गरेन।”

घाइते साह र सहचालकको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रकमा लगाइएको आगोलाई प्रहरीको सहयोगले नियन्त्रणमा लिइए पनि ट्रक पूर्ण रूपले जलेर क्षतिग्रस्त भएको छ।

यसअघि पनि जनमतका कार्यकर्ताहरूले सिरहाको चोहर्वा र सप्तरीमा राजमार्गमै ट्रक जलाएका थिए। र आज दिउँसो धनुषामा पनि एक ट्रकमा आगजनी गरेका हुन्।पार्टीले किसान आन्दोलनको नाममा १५ पुसबाट अनिश्चितकालीन तराई-मधेशको दिवाकालीन सडक बन्द गराइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved