काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी अण्डर १९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । नेपाले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी मानिएको पाकिस्तानसँग दिउँसो पौने २ बजे खेल्ने छ ।
यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तानलाई एउटा खेलमा हराइसकेको छ ।
सन् २००२ मा न्युजिल्यान्डमा आयोजित विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो । यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल, न्युजिल्यान्ड र पाकिस्तानका अतिरिक्त अफगानिस्तान पनि रहेको छ ।
नेपालले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।
नेपाल देव खनालको कप्तानीमा मैदानमा उत्रिएको छ । नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा छन् । त्यस्तै, उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टिममा छन् । जारी प्रतियोगितामा १६ राष्ट्रको सहभागिता छ ।
प्रतियोगितामा सहभागी १६ टोलीलाई चारवटा समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा हुने छ ।
भारत यू–१९ विश्वकपको साबिक विजेता राष्ट्र हो ।
Facebook Comment
Comment