जनवरी २२ मा अयोध्यामा हुने प्राणप्रतिष्ठा समारोह आउनअघि ११ दिनको अनुष्ठान प्रारम्भ गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, “हाम्रा शास्त्रले भन्छन्-अभिषेकजस्ता समारोहमा सहभागी हुनु आफूभित्रको दैवीशक्तिको अंश महसुस गर्नुपर्दछ ।”
गीतामा ‘यम-नियम’ अनुष्ठानलाई नैतिक मार्गनिर्देशका रूपमा वर्णन गरिएको छ । यसै क्रमका प्रधानमन्त्री मोदीले ४ राज्यमा रहेका रामायणसँग सम्बन्धित मन्दिरको भ्रमण गर्दैछन् ।
प्रधानमन्त्री मोदीको महाराष्ट्र नासिकको पञ्चवटीदेखि तमिलनाडु धनुष्कोडीसम्मको मन्दिर भ्रमणलाई नजिकबाट नियाल्दा एक रोचक रामायण ट्रेल बन्दछ ।
पछिल्लो दुई हप्तामा प्रधानमन्त्री मोदीले महाराष्ट्रदेखि आन्द्र प्रदेश र केरलादेखि तमिलनाडुसम्मको यात्रा गरे । दक्षिण भारतमा भाजपाको चुनावी भाग्य कमजोर रहँदै आएको छ । यी भ्रमणलाई मोदीको सूक्ष्म पहुँचका रूपमा बुझ्न सकिन्छ, जसले सन् २०२४ को चुनावअघि आफ्ना सन्देशलाई रामसँग जोड्न खोजेका छन् ।
पञ्चवटीको कालाराममन्दिर
प्रधानमन्त्री मोदीले आफ्नो ११ दिने अनुष्ठानको प्रारम्भ महाराष्ट्र पञ्चवटी क्षेत्रको काला राममन्दिरबाट सुरुवात गरे । यो त्यही क्षेत्र हो, जहाँ भगवान् राम, सीता र लक्ष्मणले १४ वर्षे बनबासका अधिकांश दिन बिताएका थिए ।
पञ्जवटीको अर्थ हो— पाँचवटा बरका रुख । यो ठाउँ गोदाबरी नदीको किनारमा छ । यो विश्वास गरिन्छ कि राम, सीता र लक्ष्मणले पहिलो बास यही बसेका थिए ।
यहाँ प्रधानमन्त्री मोदीले प्रसिद्ध काला राममन्दिरको पूजा गरे । मराठीमा लेखिएको ‘भावार्थ रामायण’ का श्लोकहरू सुने । विश्वास गरिन्छ कि यो मन्दिर त्यही ठाउँमा बनेको छ, जहाँ रामले सीता र लक्ष्मणसँगै कुटी बसाएका थिए ।
यो मन्दिर मुगलहरूले ध्वंस्त पारेपछि सन् १७०० मा पुनर्निर्माण गरिएको विश्वास छ । यो मन्दिरको नाम कि ‘काला राम’ यकिन भन्न सकिन्न तर, विश्वास छ कि रामले १४ हजार राक्षस १.५ मिनेटमा मारेका थिए । तसर्थ यो रामको ‘काल रूप’ वा ‘अध्याँरो पक्ष’ को आह्वान हो ।
अर्को कारण रामको मूर्ति काला ढुंगाबाट बनेकाले हुन सक्दछ । यो त्यही ठाउँ हो, जहाँबाट लङ्काका १० टाउके दानव राजा रावणले सीतालाई कुटीबाट बाहिर निकालेर अपहरण गरेका थिए । सीताको अपहरण त्यो घटना श्रृंखलाको सुरुवात थियो, जसले भगवान् रामको यात्रा दक्षिणतर्फ फर्कायो, लङ्का पुर्यायो, युद्धको नेतृत्व गरायो र रावणको हार भयो ।
वीरभद्र मन्दिर
नासिकबाट प्रधानमन्त्री मोदी करिब १००० किमी टाढा दक्षिणतर्फ आन्द्र प्रदेशको वीरभद्र मन्दिर दर्शन गर्न गए । यो ठाउँलाई लेपाक्षी भनिन्छ । यहाँ मोदीले भजन गाए । तेलुगुको ‘रङ्गनाथ रामायण’ का श्लोक सुने । यो तेलगुको एक महान् परम्परा हो ।
लेपाक्षीको अर्थ तेलुगु भाषामा ‘ए चरा अब उठ्’ भनेको हो । यो ठाउँ पौराणिक चरा जटायुसँग सम्बन्धित छ । रावणले सीतालाई पुष्पक विमानमा राखेर लङ्का लैजाँदै गर्दा जटायुले वीरराजा रावणलाई रोकेर युद्ध गरेको थियो । जटायु गिद्धजस्तो लाग्ने एक विशाल चरा थियो ।
युद्धमा रावणले जटायुको एक पखेटा काटी दिए । घाइते चरा लेपाक्षीमा खस्यो । राम र लक्ष्मणले सीतालाई खोज्दै जाँदा लेपाक्षीमा जटायुलाई भेटेका थिए । जटायुको बयानबाट उनीहरूले सीता अपहरण भएको थाहा पाएका थिए । जटायुले राम लक्ष्मणलाई लङ्का जाने बाटो बताएको थियो । दक्षिणतर्फको यात्राले समुन्द्रको किनारसम्म पुगिने जानकारी दिएको थियो ।
जटायुले भगवान् रामबाट जन्म, पुनर्जन्मको चक्रबाट मुक्ति अर्थात् मोक्ष प्राप्ति गरेको थियो ।
श्री रामास्वामी मन्दिर
आन्द्र प्रदेशबाट मोदी केरलाको थ्रिसुर जिल्ला त्रिप्रयारको श्री रामास्वामी मन्दिर गए । यो मन्दिरका यावत् कथा रामायणसँग जोडिन्छन् । यो हनुमानले लङ्कामा सीता भेटेर सबै सूचना लिएर फर्किएपछि राम-लक्ष्मणसँग भेट भएको स्थान हो भन्ने विश्वास छ । यहाँ पटाका पड्काएर हनुमानको अनौठो पूजा हुन्छ ।
यहाँको रामायण संस्करण ‘अंगुलियङ्गम’ हो । यसमा मुख्यतः सीता र हनुमानको संवाद हुन्छ । यहाँ ‘चक्युर कथु’ नामको एक कला प्रदर्शन गरिन्छ । त्यसमा सीता र हनुमानको भेट भएको दृश्य हुन्छ । हनुमानले सीताबाट गहना फिर्ता ल्याउँछन् ।
मोदीको भ्रमण पनि रामको यात्रालाई पछ्याउँदै हिँड्छ । जटायुलाई भेटेपछि भगवान् राम किष्कन्ध नामको बानर राज्यमा पुगेका थिए । रामले हनुमान यही भेटेका थिए । सुग्रिब यहाँका राजा थिए । दुवैले रामलाई सीताको खोजीको खोजीमा सहयोग गर्ने वचन दिएका थिए ।
हनुमान अन्ततः सीतालाई रावणको अशोक बाटिकामा भेट्न पुग्दछन । उनको सहयोगी भएको पुष्टि गर्न भगवान् रामको औँठी दिन्छन् । सीताले भेटेको प्रमाणका लागि हनुमानलाई एक गहाना दिन्छन् र रामलाई दिन भन्छिन् ।
श्री रङ्गनाथ स्वामी मन्दिर
प्रधानमन्त्री मोदीको अर्को मुकाम तमिलनाडु त्रिचीको श्रीरङ्गम स्थित श्री रङ्गनाथ स्वामी मन्दिर थियो । यो मन्दिर रामले रावणको बध गरेपछिको हिन्दू कथासँग जोडिन्छ ।
किंवदन्तीअनुसार भगवान् रामले रावणका भाइ विभिषणलाई युद्धमा सहयोग गरेको कृतज्ञता स्वरूप कूलको आरधनाका लागि विष्णु मूर्ति दिएका थिए । उनले विभिषणलाई यो सम्झाएका थिए कि यो मूर्ति यात्राक्रममा तिमीले जहाँ राख्छौ, त्यहीँ स्थिर हुन्छ, कतै नबिसाइकन लङ्का पुर्याउनुपर्दछ ।
जब विभिषण यहाँनेरबाट जाँदै थिए, उनले कावेरी नदीमा नुहाउने इच्छा गरे । उनले नदी किनारमा भेटिएको एक स्थानीय केटालाइ मूर्ती समाइ राख्न भने । किंवदन्तीले भन्छ कि ती केटा गणेश थिए, उनले मूर्ति भारतीय भूमिबाट बाहिर नजाओस् भनेर यस्तो षड्यन्त्र गरेका थिए ।
जब विभिषण स्नान सकेर फर्किए मूर्ति नदीको किनारामा राखिएको र स्थिर भएको थियो । त्यसको हजारौँ वर्षपछि चोल साम्राज्यका सम्राटले कावेरी नदी किनारामा विष्णु मूर्ति भेटे । उनैले यहाँ श्री रङ्गनाथ स्वामी मन्दिर बनायो ।
रामेश्वरम्
त्रिचीबाट प्रधानमन्त्री मोदी २३० किमी दक्षिणको रामेश्वरतिर लागे । यहाँ रामनाथ स्वामी मन्दिर छ र यसलाई चारधाममध्ये एक मानिन्छ । यो मन्दिरमा ज्योतिर्मय शिवलिङ्गहरूको पूजा हुन्छ ।
रावण ब्राह्मण कुलका थिए । राम क्षेत्रीय । रावण बधपछि ब्राह्मण हत्याको पाप नलागोस् भनेर राम प्रयाश्चित गर्न यहाँ गएका थिए । यहाँ शिव बस्थे । शिवले उनलाई ज्योतिर्लिङ स्थापना गरी पूजा गरे ब्राह्मण हत्याको पाप प्रयाश्चित हुने बताएका थिए ।
यो मन्दिर वास्तुकलाले अद्भूत छ । यहाँ रामनाथस्वामीका नामबाट शिव विराजमान हुनुहुन्छ भन्ने विश्वास गरिन्छ ।
शिवको आदेशपछि रामले हनुमानलाई शिवलिङ्ग खोज्न कैलाश पठाएका थिए । तर, उनी बेलैमा फर्किएनन् । तसर्थ सीताले समुद्रको किनारबाट बालुवा उठाएर शिवलिङ्ग स्थापना गरिन् ।
धनुष्कोडी
धनुष्कोडी पुगेर प्रधानमन्त्री मोदीले श्रीराममन्दिर परिक्रमा पूरा गर्नेछन् । यो ढुंगा फालिएको स्थान हो । यो मन्दिर ‘कोठन्धारम’को नामले प्रचलित छ । तमिल भाषामा यसको अर्थ— धनुषधारण गरेका राम हुन्छ ।
यो विश्वास छ कि लङ्का विजयपछि रामले बानर सेनाले बनाएको समुद्रको पुल भत्काउन लगाएका थिए । ती ढुंगाहरू यहाँ थुपारिएका थिए । रामले विभिषणको राज्याभिषेक यही गरेका थिए ।
अयोध्यामा यात्रान्त
प्रधानमन्त्री मोदीले गरेका यी मन्दिरको भ्रमणले रामायण ट्रेललाई रोचक ढङ्गले चित्रण गर्दछ । लङ्काका रावण बधपछि राम सीता र लक्ष्मणसँगै अयोध्या फर्किएका थिए । आयोध्या आएर राजाको श्रीपेज धारण गरेका थिए ।
प्रधानमन्त्री मोदी पनि जनवरी २२ मा आयोध्या पुग्दैछन्, जहाँ भगवान् श्री रामको मूर्तिमा प्राणप्रतिष्ठा समारोह हुँदैछ । प्रधानमन्त्री मोदीले अयोध्यामा प्राणप्रतिष्ठा समारोहका भाग लिँदै यात्रान्त गर्ने छन ।
(इन्डिया टुडेबाट अनुदित )
Facebook Comment
Comment