जनकपुरधाम। प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।
बुधबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारले ल्याएको अध्यादेश पेश गर्न लाग्दा लोसपाले बैठक अवरुद्ध गरेको हो।
पार्टीको प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै बैठक अवरुद्ध गराइएको जानकारी दिए। यो अध्यादेश अलोकतान्त्रिक रहेकोले यसलाई टेबुल हुन नदिने भन्दै बैठक अवरुद्ध गरेका छन्।
लोसपाले अध्यादेश पेश गर्न नदिएपछि सभामुख सरोज यादवले प्रदेश सभा बैठकलाई १५ मिनेटका लागि स्थगित गरेका छन्। केही हप्ताअघि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंक मिश्रले प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सम्बन्धित अध्यादेश ल्याएका थिए।
आवको बैठकमा दलहरूका प्रतिनिधले वक्तव्य, प्रदेश नामकरण तथा राजधानीका विषयमा प्रस्ताव पेस हुने कार्यसूची तय गरिएको थियो।
Facebook Comment
Comment