धनगढी। भ्रष्टाचारविरुद्ध नेपालगन्ज वाकाथनको तयारीलाई तीव्रता दिइएको छ। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा डिसेम्बर ९ (मंसिर २३ गते) बास नेपालको आयोजना तथा अन्तराल नेपालगन्जको व्यवस्थापनमा वाकाथन कार्यक्रम हुन लागेको हो।
कार्यक्रमको तयारीलाई थप तीव्रता दिन शुक्रबार बास केन्द्रीय कार्यसमिति र कार्यक्रम तयारीका लागि गठित विभिन्न समितिका संयोजकहरू बीचमा संयुक्त बैठक सम्पन्न भएको छ।
भ्रष्टाचारविरुद्ध सचेतना जगाउने उद्देश्यले पश्चिम नेपालमा पहिलो पटक हुन थालेको वाकाथनमा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी समन्वय तथा सहकार्य गर्ने बैठकले निर्णय गरेको छ।
कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सबैको साझा कार्यक्रमकोरुपमा स्थापित गर्ने गरी तयारीमा लाग्ने निर्णय बैठकले गरेको छ। भ्रष्टाचारविरुद्धका लागि सँगै हिँडौँ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रमले भ्रष्टाचारविरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने अपेक्षा गरिएको छ।
बैठकमा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, वाकनाथ व्यवस्थापन तथा सुरक्षा समिति संयोजक जयनारायण शाह, समन्वय समिति संयोजक लुना बुढाथोकी, स्वयम् सेवक समिति संयोजक शिवकुमार बर्मा, आर्थिक समिति संयोजक दिला शाह, समारोह व्यवस्थापन समिति संयोजक कमल शाही, अभिलेखीकरण समिति संयोजक खेम विष्ट, सचिवालय समिति संयोजक मन भण्डारी, सास्कृतीक समिति संयोजक महेन्द्र सेडाई, बासका निर्देशक हेमराज भट्ट, खानेपानी तथा सरसफाइ संयोजक शोभा थापा मगर लगायतको बैठकमा उपस्थिति रहेको थियो।
वाकनाथ नेपालगन्जको बिपी चोकबाट सुरु भई धम्बोझि चौक, सेतुबिक चौक हुँदै, न्यूरोडमा गएर समापन हुनेछ। वाकाथनमा सांस्कृतिक प्रस्तुति, झाँकी प्रहसन, सडक नाटक, पर्चा, पम्लपेट वितरण, विभिन्न प्रतियोगिता लगायतका गतिविधिहरू हुने छन्। कार्यक्रममा जो कोही पनि स्वतःस्फूर्त रुपमा सहभागी भई भ्रष्टाचार विरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरूमा अपिल गरिएको छ।
वाकाथनको अर्थ पैदल यात्रा हुन्छ। कुनै निश्चित उद्देश्य लिएर ठुलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकनाथ भनिन्छ।
२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रिय महासभाबाट भ्रष्टाचार विरुद्ध संयुक्त राष्ट्रिय महासन्धि पारित भएको थियो। कुल १३४ राष्ट्रले हस्ताक्षर गरी महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्व भर मनाउने गरिएको छ।
Facebook Comment
Comment