अनौठो ठगी : बैंकको नक्कली फेसबुक पेज बनाएर ग्राहकसँग नागरिकता माग्दै, पैसा चोर्दै

ठगी गिरोहले जापानमा काम गरिरहेकी एक नेपाली महिलाको १२ लाख २० हजार रुपैयाँ आफ्नो खातामा हालेको भेटिएको छ।

नेपालभ्युज

अनौठो ठगी : बैंकको नक्कली फेसबुक पेज बनाएर ग्राहकसँग नागरिकता माग्दै, पैसा चोर्दै

काठमाडौं। बैंकको नक्कली फेसबुक चलाएर ग्राहकसँग नागरिकताको फोटोकपी माग्दै मोबाइल बैंकिङ एप्समार्फत् पैसा चोर्ने एक जना पक्राउ परेका छन्।

ठगी गिरोहले जापानमा काम गरिरहेकी एक नेपाली महिलाको १२ लाख २० हजार रुपैयाँ आफ्नो खातामा हालेको भेटिएको छ। प्रहरीले कलङ्कीस्थित न्यु गन्डकी गेस्ट हाउस एन्ड खाजा घरका सञ्चालक शेरसिंह थापालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीका अनुसार जापानमा रहेकी पीडितले राष्ट्रिय वाणिज्य बैंकमा रहेको आफ्नो खातामा जम्मा भएको रकम हेर्न मोबाइल बैंकिङ एप्लिकेसनको पासवर्ड बिर्सेकी थिइन्। पछि उनले बैंकको फेसबुकमा खोजी गरी राष्ट्रिय वाणिज्य बैंक उल्लेख भएको पेजमा सम्पर्क गरिन्। त्यहाँ उपलब्ध मोबाइल नम्बरमा सम्पर्क गरिन्।

उक्त नम्बरबाट आफू बैकको कर्मचारी भएको र समस्या समाधानका लागि फोटो र नागरिकताको प्रतिलिपि पठाउन आग्रह गरियो। उनले पनि भनेअनुसारै भाइबरमा फोटो र नागरिकता पठाएर विवरण दिइन्।

पछि आफूलाई कर्मचारी बताउने ती व्यक्ती सम्पर्कबाहिर भए। ती महिलाको बैंक एप्लिकेसन पनि चलेन। त्यसपछि पीडितले नेपालमा रहेकी आफ्नी आमालाई बैंकमा नै पठाइन्।

आमा बैंक पुग्दा छोरीको खाता रित्तो भइसकेको थियो। उनको बैंक खाताबाट विभिन्न तीन जना व्यक्तिको खातामा साढे १२ लाख रुपैयाँ पठाइएको थियो। आमाले प्रहरीमा उजुरी दिएपछि खातामा रकम पठाउनेमध्येका एक जना पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पीडितको बैंक खाताबाट नबिल बैंकमा प्रकाश नेवारको नाममा रहेको खातामा ५ लाख, प्राइम कमर्सियल बैंकमा नेवारकै नाममा रहेको खातामा २ लाख ८० हजार, कुमारी बैंकमा नित्यानन्द आचार्यको नाममा रहेको खातामा २ लाख र कुमारी बैंकमा शेरसिंह थापा क्षेत्रीको नाममा रहेको खातामा २ लाख ४० हजार रुपैयाँ ट्रान्सफर भएको पाइएको थियो।

प्रहरीसँगको बयानमा थापाले आफ्नो गेस्ट हाउसमा नित्यानन्द ५ महिनासम्म बसेको र आफूलाई तिर्न बाँकी रहेको २ लाख ८० हजारमध्ये पीडितको खाताबाट २ लाख ४० हजार पठाएको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved