काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विशेष अग्रसरतामा समाजवादी मोर्चा घोषणा हुँदैछ । मोर्चामा माओवादीसहित एकीकृत समाजवादी, जनता समाजवादी, र नेत्र विक्रम चन्द नेतृत्वको नेकपा सहभागी हुने भनिएको छ ।
माओवादीसँग एउटै चुनाव चिन्ह लिएर पार्टी एकता गर्ने तहमा पुगिसकेको नेपाल समाजवादी पार्टी नेसपासँग भने मोर्चाबारे कुनै छलफल गरिएको छैन । प्रचण्डको चाहना बाबुराम भट्टराई नेतृत्वको नेसपालाई सकेसम्म मोर्चाबाट बाहिरै राख्ने देखिएको सहभागी नेताहरू बताउँछन् । यद्यपि, उनले यसका लागि उपेन्द्र यादवले नमानेको तर्क दिने गरेका छन् ।
सोमबार अपरान्ह ४ बजे कार्यक्रम गरेर मोर्चा घोषणा गर्ने तयारी छ । यो मोर्चा बनाउनुका पछाडि प्रचण्डका मुख्य तीन उद्देश्य देखिन्छन् । उनी आगामी दिनमा पनि राजनीतिको केन्द्रमा रहिरहन अनेक हथकण्डा गरिरहन्छन् भन्ने यो मोर्चा घोषणाले देखाएको छ । प्रचण्डका के उद्देश्य छन् मोर्चा बनाउनुका पछाडि ?
१. सरकारका लागि बार्गेनिङ जारी राख्ने
प्रचण्ड आफ्नो सरकार निरन्तर चलिरहोस् भन्ने चाहन्छन् । नेपाली कांग्रेससँग आधा-आधा कार्यकाल सरकार चलाउने भनि यसअघि नै सहमति भएको छ। तर, प्रचण्ड आधा हैन पूरै कार्यकाल प्रधानमन्त्री हुन चाहन्छन् । त्यसका लागि आफ्नो पक्षमा पनि उल्लेख्य सांसद रहेको देखाएर एमालेलाई देखाउँदै उनी कांग्रेससँग बार्गेनिङ गर्ने दाउमा छन् ।
मोर्चा आबद्ध दलसँग अब ५४ जना सांसद हुनेछन् । उनी त्यसैलाई देखाएर कांग्रेस र एमालेसँग मात्रै हैन बाहिरी शक्तिकेन्द्रसँग पनि बार्गेनिङ गर्ने तयारीमा छन् । आफ्नो अवस्थामा आफूलाई मजबुत देखाउन उनले एकीकृत समाजवादी र जसपालाई सँगै राखिराख्नु जरुरी छ ।
यी दललाई बाहिर जान नदिने मोर्चा नै उपयुक्त हतियार हुने निष्कर्षसहित प्रचण्ड मोर्चा निर्माणको तहमा पुगेको देखिन्छ ।
२. विप्लवलाई पार्टीमा भित्र्याएर अरुलाई तर्साउने
माओवादीमा तत्कालका लागि प्रचण्डको नेतृत्वलाई चुनौती दिने कुनै नेता देखिएको छैन । तर, दोस्रो तहका अधिकांश नेता अहिले प्रचण्डसँग सन्तुष्ट छैनन् । विशेषगरी सांगठनिक रूपमा पकड भएका जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत लगायतका नेता प्रचण्डको पार्टी चलाउने तरिकासँग असन्तुष्ट छन् ।
देव गुरुङलाई महासचिव बनाएदेखि नै प्रचण्डसँग यी नेताहरूको असन्तुष्टि बढेको थियो । अहिले त्यो उच्च स्तरमा पुगेको नेताहरू बताउँछन् । आगामी केन्द्रीय समिति बैठकमा दोस्रो तहका यी नेताको मोर्चाबन्दी हुने अनुमान प्रचण्डले गरेका छन् । त्यस्तो अवस्थामा विप्लवलाई भित्र्याएर दोस्रो तहका नेतालाई लडाउने र आफ्नो एकछत्र नेतृत्वमा कुनै चुनौती आउन नदिने योजनामा प्रचण्ड लागेका छन् ।
अहिले मोर्चा बनाउने भनिए पनि विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता नै गर्ने गरी कुराकानी अघि बढेको छ । विगतमा पनि प्रचण्डले पार्टीका दुई समूहलाई लडाएर आफू सुरक्षित हुने गरेका थिए । सशस्त्र युद्धकालदेखि नै प्रचण्ड यही रणनीतिमा छन् ।
त्यसबेला उनले बाबुराम भट्टराई र मोहन वैद्यलाई लडाउने गरेका थिए । अलि पछि विप्लव र वर्षमान/जनार्दनलाई उनले यसैगरी लडाएर आफू माथि कुनै प्रश्न नउठ्ने बरु सधैं निर्णायक बनिरहने हथकण्डा अपनाएका थिए ।
अहिले दोस्रो तहका नेताको असन्तुष्टि बुझेका उनले विप्लवलाई भित्र्याएर फेरि पनि उस्तै रणनीति अख्तियार गर्ने योजनामा देखिन्छन् । विप्लवलाई ल्याउन थालेको सुइँको पाएका दोस्रो तहका प्रभावशाली नेताले अहिले आन्तरिक छलफल सुरु गरिसकेका छन् । विशेषगरी, विगतमा प्रतिस्पर्धी रहेका जनार्दन र वर्षमान आगामी दिनमा एकै ठाउँमा उभिएको देख्न पाइने नेताहरू बताउँछन् ।
३. नेसपामा अन्तरविरोध सिर्जना गरेर बाबुरामलाई सिध्याउने
गत चुनावमा प्रचण्ड चितवनबाट उठ्ने लगभग तय थियो । तर, अन्तिम समयमा चितवनमा उनीमाथि ठूलो घेराबन्दी भयो । परिणामले प्रचण्ड उठेको भए नराम्रोसँग पराजित हुने देखियो । चुनाव अगाडि बाबुरामले गोरखाको आफ्नो क्षेत्र खाली गरेर प्रचण्डलाई लगे ।
बाबुरामले संसदीय चुनाव नै नलड्ने घोषणा पनि गरे । प्रचण्डलाई गोरखामै आएर उठ्न जोडबल पनि गरे । त्यही अनुसार प्रचण्ड गोरखा पुगे र चुनाव जितेर प्रधानमन्त्री पनि बने । तर, अहिले प्रचण्ड बाबुरामलाई जसरी भए पनि सिध्याउने रणनीतिमा लागेका छन् ।
उनलाई अहिले पनि बाबुराम फोविया देखिएको भेटेर फर्कनेहरू बताउँछन् । बाबुरामले चुनाव नै नलड्ने र पार्टीमा अन्य काम गर्ने भनिसक्दा पनि प्रचण्डले विश्वास गर्न सकेका छैनन् । विश्वास मात्रै हैन बाबुरामलाई जसरी पनि सिध्याउने भनेर लागेका छन् । त्यही कारण चुनावलगत्तै गर्ने भनिएको पार्टी एकीकरणबाट पनि प्रचण्ड पछि हटेका छन् ।
नेसपालाई कुनै ठाउँ नदिएपछि नेताहरूबीच अन्तरविरोध चर्कने र केही नेता यत्तिकै माओवादीमा आउने प्रचण्डको निष्कर्ष देखिन्छ । पार्टी एकता गर्नुभन्दा बाबुरामलाई अलपत्र छाड्ने र केही लोभिपापीलाई पार्टीमा भित्र्याउने योजनामा प्रचण्ड लागिरहेको नेसपा नेताहरूको ठहर छ । समाजवादी मोर्चामा नराख्नुका पछाडि उपेन्द्र यादवलाई देखाए पनि खासमा यो प्रचण्डकै डिजाइन भएको नेसपाका नेताहरूले पनि बुझेका छन् ।
Facebook Comment
Comment