अनलाइन जुवा खेलेको आरोपमा ५ नेपाली पक्राउ, एउटैको ६४ करोडसम्मको कारोबार

नेपालभ्युज

अनलाइन जुवा खेलेको आरोपमा ५ नेपाली पक्राउ, एउटैको ६४ करोडसम्मको कारोबार

काठमाडौं। विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोड रुपैयाँको अवैध कारोबार गरेको फेला परेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विशाल थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टको रुपमा सक्रिय भएको पाइएको हो ।

सट्टेबाजीको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले जानकारी दिए । उनका अनुसार उनीसहित सट्टेबाजीको एजेन्टका रूपमा सक्रिय रहेका अन्य चार जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउपर्नेमा दिनेश खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन् ।

उनीहरूले सट्टेबाजमा ७४ करोड १३ लाख कारोबार गरेको पाइएको छ । आशिषले तीन करोड कारोबार गरेको फेला परेको छ भने दिपेशले पाँच करोड ५४ लाख कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा केसीले बताए । उनका अनुसार आशिषको साथबाट प्रहरीले ३७ लाख बरामद गरेको छ । उनीहरूको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

कार्यालयले बरामद सामग्रीसहित उनीहरूलाई आज सार्वजनिक गरेको हो । उनीहरूले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम मुद्दा अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved