बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुन्छः अध्यक्ष मल्ल

नेपालभ्युज

बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुन्छः अध्यक्ष मल्ल

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुनसक्ने बताएका छन् ।

बिहीवार नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सरकारले बैंकको ब्याजदर तत्काल एकल अंकमा नल्याए मुलुकको अर्थतन्त्र थप धरासायी हुनसक्ने बताएका हुन् ।

उनले बैंकको ब्याजदर कम नभए उद्योग व्यवसाय पनि फस्टाउन नसक्ने बताए । अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र थप अफ्ठ्यारोमा पर्न नदिनको लागि सरकारले फास्ट ट्रयाकमा ब्याजदर कम गर्नपर्ने बताए । उनले आर्थिक ऐन नबन्दा र नीतिगत सुधार नहुँदा उधारो कारोवारले थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण बढ्दै गएको बताए ।

उनले बजारमा तरलता अभावको कारण उद्योगी व्यवसायीको आर्थिक संकट निस्तेज पार्नको लागि डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्ने आवश्यकता रहेको बताए । उनले बैंकहरुले लिने कर्जाको प्रिमियम दरमा समेत व्यवसायीहरु माथि पक्षपात गरिरहेको आरोप लगाए ।

उनले भने, ‘हाम्रो आर्थिक ऐन र नीतिगत सुधार नहुँदा आज उधारो कारोवारले गर्दा थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण छ । बजारमा जाँदा पैसा आउँदैन । त्यो कारणले बैंकलाई पनि संकट, उद्योगी व्यवसायीलाई पनि संकट, यस किसिमको संकट निस्तेज पार्नको लागि डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्छ ।’

उनले अगाडी भने,  ‘ब्याजदरमा जुन किसिमको वृद्धि भएको छ, धेरै नै कठिन हुन्छ, यो ब्याजदरलाई छिटो भन्दा छिटो केही घटाइएन भने, एकल अंकमा झार्न सकेन भने उद्योग व्यवसाय फस्टाउनेवाला छैन । मुलुक अफ्ठ्यारो अवस्थामा पुग्नसक्छ । कसैलाई त्यही बेसरेटमा प्रिमियम हाफ प्रतिशत हुने, कसैलाई ५,६ प्रतिशत हुने, कसरी उद्योग व्यवसाय फस्टाउँछ । बेस रेटमा लिने प्रिमियमलाई २ प्रतिशतमा लगाउनुपर्छ, त्यसले नै ब्याजदर घटाउँछ ।’

उनले नेपालमा इटालीको आवासीय राजदुतावास बन्न नसक्दा दुई देशबीचको व्यापार बिस्तार हुन नसकेको बताए । उनले सरकारले दुई देशबीच व्यापार बढाउनको लागि इटालीको आवासीय राजदुतावास नेपालमा खोल्न पहल गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved