काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा तेस्रो रग्बी लिग यही माघ २९ गतेदेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने संघका अध्यक्ष दीपक देवकोटाले शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिङ्गल राउन्ड रोबिन पद्दतिमा प्रतिस्पर्धा गर्नेछन् ।
हिमालयन टाइगरमा दुई विदेशी खेलाडी रहेका छन् भने गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका एक–एक खेलाडी छन् । बाँकी दुई टोलीमा विदेशी खेलाडी नरहेको आयोजकले जनाएको छ । प्रतियोगितामा यही माघ २९ गते, फागुन ३ गते र फागुन ६ गते समान दुई–दुई खेल हुनेछ ।
यसअघि भएको पहिलो संस्करणको खेलमा आर्मी र दोस्रो संस्करणको खेलमा गोर्खाली रग्बी क्लबले उपाधि जितेको थियो ।
Facebook Comment
Comment