कांग्रेस घोषणापत्रमा देउवा मौन, गगन थापा उपस्थित नै भएनन्

नेपालभ्युज

कांग्रेस घोषणापत्रमा देउवा मौन, गगन थापा उपस्थित नै भएनन्

काठमाडौं। नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार बिहान १० बजे सार्वजनिक गर्ने भनिएता पनि ११ बजे मात्र घोषणपत्र सार्वजनिक गरेकोको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण पटक-पटक स्थगित गरिएको कार्यक्रम शनिबार पनि करिब एक घण्टा ढिला सुरु भएको हो । सुरक्षाका दलबलसहित पुगेका देउवाको प्राय मौन नै रहे ।

केन्द्रीय सदस्य र पत्रकाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमा देउवा भने मौन रहे । पार्टीको घोषण पत्र सार्वजनिक गर्ने कार्यक्रममा पार्टी सभापति किन मौन रहे भन्ने सबैको चासो छ ।

संकल्प प्रस्ताव नाम दिइएको घोषणापत्र र पार्टीको धारणाबारे पार्टी नेताले आफ्ना कुरा र पार्टीको धारणा स्पष्ट पार्ने गरेता पनि यो पटक देउवा मौन रहे । अन्य पार्टीहरूले लगाएको आरोप देउवाले चिर्लान् भन्ने अपेक्षा थियो तर देउवा किन मौन बसे भन्ने सबैको चासो छ ।

पार्टी कार्यालयमा करिब एक घण्टा बिताएर देउवा वालुवाटार फर्किएका हुन् । देउवाले घोष्णापत्र कार्यान्वयनको प्रतिबद्धतासमेत नगरी फर्किएका हुन् । उनी कांग्रेस पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा पुगेर घोषणापत्र सार्वजनिक मात्र गरे।

२ बजे मात्र बाँडियो

बिहान १० बजेको कार्यक्रम भनिए पनि घोषणापत्र भने कार्यक्रम सकिएको दुई घण्टापछि मात्र सार्वजनिक गरिएको हो । पार्टीले घोषणा–पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको भनिए पनि उक्त पत्रकार सम्मेलनमा घोषणापत्रको कुनै पनि छापिएको प्रति भने उपलब्ध गराइएन ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा सभापति देउवाले घोषणापत्रका बारेमा कुनै प्रतिक्रिया नदिएर मौन रहेको देखियो । देउवाले एउटा पोष्टरकपी मात्र सार्वजनिक गरेका थिए ।

त्यसपछि पत्रकारहरूलाई दुई बजे इमेल मार्फत पठाइने बताइएको थियो । कांग्रेस घोषणापत्र लेखन समितिका प्रवक्ता तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले प्रसमा समयलागेकाले घोषणापत्रको हार्डकपी दिन नसकेको बताए । तर स्रोतका अनुसार घोषणापत्रको केही बुदा संशोधन गर्नुपर्ने सभापति देउवाको अडानका कारण हार्डकपी उपलब्ध नगराइएको हो ।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले महिना दिन लगाएर घोषणापत्र लेखेको हो । घोषणापत्र लेखन समितिमा विभिन्न उपसिमिति बनाएर विषयगत विषयवस्तुमा काम गरिएको थियो ।

पार्टी सहमहामन्त्री तथा घोषणापत्र लेखन समितिका प्रवक्ता जीवन परियारका अनुसार पुराना घोषणापत्रको रिभ्यु तथा आवश्यक विषयवस्तु अहिलेको घोषणापत्रमा समावेश गरिएको छ ।

गगन थापा अनुपस्थित

स्थानीय तह निर्वाचनको समय घोषणापत्र समितिको संयोजक रहेका कांग्रेस महामन्त्री गगन थापा भने कार्यक्रममा देखिएनन् । उनी काठमाडौं ४ बाट उम्मेदवार बनेका छन् ।

देउवाको मौनता र पार्टी महामन्त्रीको अनुपस्थितिले घोषणपत्र सर्वमान्य छैन भन्ने देखिएको कांग्रेस वृत्तमा चर्चा छ । एक नेता भन्छन् ‘पार्टीको घोषणपत्र सार्वजनिक कार्यक्रममा महामन्त्री नै नदेखिनुले शंका पैदा भएको छ।  फेरि उहाँ यही काठमाडौंको हुनुहुन्छ पार्टी कार्यालय पनि नजिकै छ यसले धेरै अर्थ राख्छ’ समयमै घोषणपत्रको हार्डकपी नदिनु, पार्टी सभापति मौन देखिनु र महामन्त्री नै सहभागि नहुनुले कांग्रेसभित्र केही गडबड छ की भन्ने आशंका देखिएको कार्यकताहरू बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved