काठमाडौं । इजरायली वायुसेनाका युद्धविमानहरूले इरानमाथि आक्रमण सकेपछि बाँकी रहेको बम तथा मिसाइलहरू गाजामा खसालेर फर्किने गरेको खुलासा भएको छ ।
बेलायती पत्रिका द टेलिग्राफले सैन्य स्रोतको हवाला दिँदै यो खुलासा गरेको हो ।
इरानमा गरिएको “Operation Rising Lion” को समयमा इजरायली वायुसेनाका पाइलटहरूले इरानमाथि आक्रमण सकेपछि फिर्ती क्रममा बाँकी रहेका बम तथा मिसाइलहरू गाजामा खसालेका थिए । सुरुमा यो योजना स्वतःस्फूर्त रूपमा गरिएको भए पनि पछि इजरायली रक्षा फौज (IDF) का जमीनी कमाण्डरहरूको अनुमतिमा योजनाबद्ध ढंगले गरिएको थियो ।
जुन १४ देखि २४ सम्म चलेको सो अभियानको दौरान गाजामा दर्जनौं हवाई आक्रमण भएको थियो । वाफा समाचार एजेन्सीका अनुसार जुन १८ मा माघाजी शरणार्थी शिविरमा गरिएको हवाई आक्रमणमा एक महिला र उनका बालबालिकासहित १० जनाको मृत्यु भयो । त्यसैदिन खान युनिसको अल-अत्तार क्षेत्रको टेन्ट शिविरमा गरिएका आक्रमणमा ५ जनाको ज्यान गएको थियो ।
यो अवधिमा गाजाका सहायता वितरण स्थलहरू नजिकै भएका गोलीकाण्डहरूले समेत सयौं सर्वसाधारणको ज्यान लिएको जनाइएको छ ।
इजरायली वायुसेनाका प्रमुख मेजर जनरल टोमर बारले इरान आक्रमणका क्रममा बाँकी रहेको बम तथा मिसाइल गाजामै खसाल्ने रणनीति व्यापक रूपमा लागू गर्न आदेश दिएको स्रोतहरूले जनाएका छन् ।
इरानमाथिको आक्रमणमा इजरायली वायुसेनाले अपेक्षा अनुसारको सफलता पाएको भन्दै सेनाले यो रणनीति थप प्रयोगमा ल्याएको बताइएको छ ।
यसैबीच, इजरायल र हमासबीच युद्ध अन्त्य गर्ने सम्भावित सम्झौताका खाका सार्वजनिक भएका छन् । समाचार संस्था एपी, न्युयोर्क टाइम्स र मिस्रको अल-रादले जनाएअनुसार प्रस्तावमा पहिलो चरणमा आठ जीवित बन्धक रिहा गरिने, त्यसपछि विभिन्न मितिमा मृतक बन्धकका शव फिर्ता गरिने उल्लेख छ ।
प्रस्तावअनुसार अमेरिकी ग्यारेन्टीमा इजरायली सेनाले गाजाबाट आंशिक फौज फिर्ता गर्नेछ र बन्धक रिहासँगै स्थायी युद्धविरामका लागि वार्ता सुरु गरिनेछ ।
Facebook Comment
Comment