विश्लेषण

एमालेमा ईश्वरले खोजेको ‘द्वन्द्वको विधिसम्मत प्रकट’ अर्थात्, ओली बहिर्गमन

द्वन्द्व, विद्रोह, विस्फोट र विधि — एमालेको पछिल्लो राजनीतिक शब्दकोशबाट करिब विलीन भइसकेका यी शब्दहरूले स्थान पाउनु एउटा आश्चर्यजस्तो हुने नै भयो । शनिबार भृकुटीमण्डपमा एउटा अर्को आश्चर्य भइरहेको थियो— ईश्वर पोखरेलले यी शब्द आफैँले लामो समय काँधमा बोकेका केपी ओलीविरुद्ध प्रयोग गरिरहेका थिए ।

नेपालभ्युज

एमालेमा ईश्वरले खोजेको ‘द्वन्द्वको विधिसम्मत प्रकट’ अर्थात्, ओली बहिर्गमन

अधिवक्ता टीकाराम भट्टराई एमाले समर्थक हुन् । उनी देशको समसामयिक राजनीति तथा संवैधानिक सवालबारे लेख्ने र सार्वजनिक विमर्शमा देखा पर्ने गर्दछन् । पछिल्लो पार्टी अन्तर्विरोधका बेला उनी माधव–झलनाथ, घनश्याम भुसाल र भीम रावलप्रति सहानुभूति राख्थे । तर, पार्टी विभाजन हुँदा एमालेतिरै बसे । ओली कार्यशैली र कतिपय अभ्यास मन नपरे पनि उनले ‘मातृपार्टी मोह’ छोड्न सकेनन् । बरु, ‘मौन वा निष्क्रिय’ जस्तो भए ।

शनिबार राष्ट्रिय सभागृहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय दलीय राजनीतिमा फर्किने घोषणा सभामा पुगेपछि उनले उत्साहित फेसबुक स्ट्याटस लेखेका छन् । भट्टराईले लेखेका छन्— ‘पछिल्लो एमाले विभाजनपछि निष्क्रिय बसेका वा असन्तुष्ट भएका वा मौन बसेका नेता, कार्यकर्ताको उत्साहजनक सहभागिता देखियो । कोअर्डिनेसनकालदेखि नेतृत्वमा रहेका वरिष्ठ नेताहरू अमृत बोहरा, ईश्वर पोखरेल, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डेसमेतको उपस्थितिमा विद्या भण्डारीले राजनीतिमा पुनः सक्रिय हुने घोषणा गर्दा हलमा कर्तल ध्वनीसहितको ताली बजेको थियो ।’

भट्टराई अगाडि लेख्छन्— ‘सभा विगत १० वर्षयता त्यो हलमा भएकामध्ये खचाखच र ओभर क्राउडेड हो भन्ने टिप्पणी धेरैबाट सुनियो । एमालेको आन्तरिक जीवनमा पूर्वराष्ट्रपति भण्डारीको घोषणाले कस्तो असर पर्ला, निकट भविष्यमा प्रकट होला । तर, आज त्यहाँ अभूतपूर्व उत्साह देखिन्थ्यो ।’

भट्टराईको यो स्ट्याटसमा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी नेतृत्वबाट बहिर्गमनमा गइदिए हुन्थ्यो भन्ने सुषुप्त चाहना प्रकट भएको प्रष्टै अनुमान गर्न सकिन्छ । भट्टराई जस्तै एमाले नेता, कार्यकर्ता र समर्थकको एउटा ठूलो पङ्क्तिले अहिले ओली बहिर्गमनको यस्तै कामना गर्दैछ ।

अधिकांश एमाले कार्यकर्तालाई लागिरहेको छ— दुई कार्यकाल संवैधानिक राष्ट्रपति भएर सक्रिय दलीय राजनीतिमा फर्किनु राम्रो हो कि होइन, त्यो भिन्नै बहस हो । तर, एमालेमा अहिले अरू कुनै उपाय देखिएन ।

एमाले पङ्क्तिलाई राम्रोसँग थाहा छ, भण्डारी ओलीभन्दा बिलकुल फरक सोच, कार्यशैली र क्षमता भएकी नेतृ होइनन् । हिजोका कतिपय गल्तीका लागि ओली–भण्डारी दुवै जिम्मेवार छन् भन्ने थाहा पाएर पनि यतिबेला ‘मर्नुभन्दा बहुलाउनु निको’ भनेजस्तो ओली बहिर्गमनको अर्को उपाय एमालेले देखेको छैन । माधव, झलनाथ, भुसाल र रावलको बहिर्गमनपछि ओलीसँग प्रतिस्पर्धा गर्नसक्ने फरक मत समूह पार्टीमा छैन । तसर्थ, भण्डारीलाई साथ दिनु एमाले कार्यकर्ताको बाध्यता वा अन्तिम उपायजस्तै हो ।

यस्तो धारणा राख्नेमा ‘१० बुँदे समूह’ का नेता–कार्यकर्ता बढी छन् । नेकपाकालीन अन्तर्विरोधको बेला माधव–झलनाथ समूहमा रहेर पनि ‘मातृपार्टी मोह’ वा पार्टी विभाजनपछिको अनिश्चिततालाई ध्यान दिएर एमालेमा नै बसेकाहरूमा यस्तो सोच अझैँ बलियो छ । जसले ओली नेतृत्वकालमा असीमित बेवास्ता, अपमान र तिरस्कार भोगेका छन् । तर, ओली बहिर्गमनको चाहना स्वयं पूर्वओली गुटमै भएका र पार्टी नेतृत्वबाट बारम्बार अवसर पाएकाहरूमा पनि उत्तिकै बलियो हुँदै गएको छ । शनिबारको भेलामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भाषण त्यसैको अभिव्यक्ति थियो । पोखरेलले अध्यक्ष ओलीलाई लक्षित गर्दै ‘७० वर्षे उमेर हद’ र ‘ दुई कार्यकाल अध्यक्ष’ को सवाल उठाए ।

विगत १० वर्षयताको आफ्नै छविलाई बिर्साउने गरी ईश्वर पोखरेलले शनिबार दिएको अभिव्यक्ति सम्भवतः एमाले राजनीतिमा ओली गुटको भविष्य देखाउने एउटा घटना बन्नेछ ।

‘द्वन्द्व सर्वव्यापकता हो भने, त्यो द्वन्द्वलाई विधिसम्मत ढंगले प्रकट हुन दिनुपर्छ । यदि विधिसम्मत ढंगले प्रकट हुन दिइएन भने त्यसले विस्फोटको रूप लिन्छ । जसले ठूलो क्षति पुर्‍याउँछ । द्वन्द्व विधिसम्मत प्रकट हुन पाएन भने विस्फोट हुन्छ, विद्रोह हुन्छ । द्वन्द्वले निकास पाएन भने विद्रोह हुन्छ, विग्रह हुन्छ । विद्रोह गर्नेहरूलाई दोष दिएर मात्र हुँदैन । हाम्रो कार्यसम्पादन गर्ने शैलीमा कहाँ त्रुटि छ भन्ने कुरा पनि ख्याल गर्नुपर्दछ । जाने त गयो, जानेहरूको पछाडि रहेका कारण जिम्मेवार तहमा रहेकाले खोजी गर्नुपर्दछ कि पर्दैन ?’, ईश्वर पोखरेलले बोलेका शब्द हुन् यी ।

द्वन्द्व, विद्रोह, विस्फोट र विधि — एमालेको पछिल्लो राजनीतिक शब्दकोशबाट करिब विलीन भइसकेका यी शब्दहरूले स्थान पाउनु एउटा आश्चर्यजस्तो हुने नै भयो । शनिबार भृकुटीमण्डपमा एउटा अर्को आश्चर्य भइरहेको थियो— ईश्वर पोखरेलले यी शब्द आफैँले लामो समय काँधमा बोकेका केपी ओलीविरुद्ध प्रयोग गरिरहेका थिए ।

अधिवक्ता भट्टराईको विचारमा त्यो दिनको पोखरेलको भाषण ‘खुलेको’ थियो । भाषणले एकपछि अर्को ताली पाएको थियो ।

शनिबारको कार्यक्रमपछि अध्यक्ष ओली खेमामा सिर्जित असहजता र छटपटी सांसद दयालबहादुर शाहीको भनाइबाट आकलन गर्न सकिन्छ । सांसद शाहीले पोखरेलको भाषणलाई प्रतिवाद गर्दै फेसबुकमा स्ट्याटस लेखेका छन्— ‘२०५६ सालमा रिक्त एमाले अध्यक्षको पदमा न माधव आफू बहाल भए, न ओलीलाई हुन दिए । अहिले विधानको पाइपाइ हिसाब राख्ने कमरेड ईश्वर पोखरेलको विवेक त्यतिखेर बन्धकमा थियो ।’

वाम विश्लेषक झलक सुवेदी एमाले अन्तर कलहको गहिरो ज्ञान राख्दछन् । उनी आफैँ लामो पार्टी जीवन बिताएका समर्थक पनि हुन् । उनको एक पछिल्लो आलेख अनुसार एमालेमा ‘रुसको पुटिन र मेबभेदेबबीचको राजनीतिक प्रयोग’ दोहोरिन खोज्दै छ ।

यसको अर्थ हो— दुई नेताबीच सत्ताको हेराफेरी । एउटा प्रधानमन्त्री हुँदा अर्को राष्ट्रपति हुने । ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री हुँदा विद्या भण्डारी राष्ट्रपति भइन् । अब भण्डारी पार्टी अध्यक्ष र प्रधानमन्त्री हुन सक्छन् र ओली राष्ट्रपति ।

एमाले समर्थकहरूले नै ओलीलाई राष्ट्रपति हुने सम्भावनाको ढोकातिर धकेलेर चर्चा गर्नुले पार्टी नेतृत्वबाट बहिर्गमनको चाहना प्रकट गर्छ ।

मुकुन्द न्यौपाने २०२८ सालको झापा विद्रोहलगत्तै बनेको तत्कालीन नेकपा (माले) को जग बनाउने ‘कोअर्डिनेसन केन्द्र’ को अवधिदेखि नै पूर्णकालीन पार्टी कार्यकर्ता तथा पाका नेता हुन् । पछिल्लो विभाजनमा उनी नेकपा (एकीकृत समाजवादी) तिर लागेका थिए । तर, ‘माधव नेपालले अब गरिखान सक्दैनन्’ भनेर केही महिनाभित्रै एमालेतिरै फर्किए ।

न्यौपाने आफूलाई मदन भण्डारीको निकट मित्र ठान्दछन् । विद्या भण्डारीको प्रशंसामा न्यौपानेले लामो छन्द कविता नै तयार गरेका छन् । भण्डारी समर्थकबीच न्यौपानेको कविता शेयर गर्ने होड चलेको छ । कवितामा विद्यालाई मदनको विवेक र विचार बोकेर एमालेको नेतृत्व गर्न आग्रह गरिएको छ ।

जनताकी छोरी विद्या भण्डारी मदनकी साथी हुन्
त्यो युवाकालमै मदनको बिछोड के गरी सही हुन्
जनताकी छोरी, जनताकै साथ चम्कन्छ मुखमा जुन्
महिलाकी मात्रै यी नेत्री हैनन् नेपालकै स्रष्टा हुन्
मस्तिष्क र मनमा मदनका विचार बोक्ने यी द्रष्टा हुन्
सोच्दैछन आज नेपाली जनता मदनलाई सम्झन्छन्
मदनकै विवेक बोकेर विद्या आउनुस् है भन्दैछन्

न्यौपानेको यो कविताले एमालेको पाको–पुरानो पङ्क्तिमा भएको पार्टी नेतृत्व परिवर्तनको चाहना व्यक्त गर्दछ ।

एमालेभित्रै युवा–विद्यार्थीको एक समूहले ‘मदनको नीति, विद्याको नेतृत्व’ अभियान चलाइरहेको छ । त्यस समूहले ‘जनआवाजलाई पार्टीभित्रबाटै संस्थागत गर्ने’ नारा दिएको छ । अर्थात्, आमनागरिकमा देखा परेको नेतृत्व परिवर्तनको चाहनालाई एमाले पार्टीले नै सम्बोधन गर्नेछ भन्ने तिनको दाबी छ ।

भर्खरै सम्पन्न एमाले विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय सम्मेलनमा ओली समर्थक अध्यक्ष उम्मेदवार डा. सुजन कडरियालाई भण्डारी समर्थक उम्मेदवार प्रकाश पौडेलले कडा टक्कर दिए । कडरिया ७ मतले मात्र विजय भए । कडरियाले ७३२ मत प्राप्त गरी जित हासिल गर्दा पौडेलले ७२५ मत पाएका थिए ।

माधव–झलनाथ गुटसँगको अन्तरसंघर्षकालमा ओलीलाई नजिकबाट साथ दिएका, ‘लो–प्रोफाइल’मा बसेर सक्रियतापूर्वक आन्तरिक गृहकार्य गर्न सक्ने कर्णबहादुर थापाजस्ता केही नेताहरू भण्डारी गुटका लागि सार्वजनिक रूपमै सक्रिय छन् ।

थापाले एक स्ट्याटसमा भण्डारीलाई ‘विचार’ र ओलीलाई ‘सत्ता’ को प्रतिकका रूपमा चित्रण गरेका छन् । ‘सत्ताले मानिस बद्लिँदैन, बरु अलमलिन्छ, बिस्तारै कमजोर बन्दै जान्छ । विचारले मानिस बद्लिन्छ र बलियो बन्दै जान्छ,’ उनले लेखेका छन् ।

रोचक छ— भण्डारी गुटले समानान्तर गतिविधि गर्न मदन भण्डारी फाउन्डेसनलाई प्रयोग गरिरहेको छ । माधव–झलनाथ पार्टी नेतृत्वमा हुँदा केपी शर्मा ओलीले गुट बलियो पार्न प्रयोग गर्ने मञ्च यही फाउन्डेसन थियो ।

एमालेमा अध्यक्ष वा महासचिवको इच्छाविपरीत पार्टीका नियमित संरचनाबाट समानान्तर गतिविधि गर्न सम्भव हुँदैन । त्यसो गर्दा गुटबन्दी गरेको आरोपमा अनुशासनको कारबाही हुने सम्भावना हुन्छ । यही सम्भावनालाई दृष्टिगत गरी भण्डारी समूहले मदन भण्डारी फाउन्डेसनको प्रयोग गरिरहेको स्पष्टै छ ।

तर, भीम रावल, वृन्दा पाण्डे वा उषाकिरण तिम्सेनाहरूलाई जस्तो विद्या भण्डारीप्रति कठोर हुनसक्ने आधार र आँट अध्यक्ष केपी शर्मा ओलीमा छैन ।

२०७१ सालको असारमा काठमाडौंको भृकुटीमण्डपमा भएको नवौँ पार्टी महाधिवेशनबाट ओली पहिलोपटक अध्यक्ष निर्वाचित भएका थिए । २०८३ को मंसिरभित्र एघारौँ महाधिवेशन हुनुपर्ने छ । त्यतिन्जेल ओली अध्यक्ष भएको १२ वर्ष पुगिसकेको हुनेछ । विद्याको यो कदमले ७५ वर्षको उमेर कटिसकेका ओली १२ वर्षपछि अध्यक्षबाट हट्ने सम्भावना बढेको छ । ईश्वर पोखरेलका शब्दमा विधिसम्मत विद्रोहको सम्बोधन हुने थिति एमालेमा १२ वर्षपछि फर्किन्छ वा फर्किन्न भन्ने समयले देखाउने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved