काठमाडौं । अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ ।
आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिए ।
मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकाले यहाँका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको उजले जानकारी दिए ।
उक्त बिदा बर्खे बिदाबाट कट्टा हुने बताइएको छ । इनरुवासहित पूर्वी नेपालमा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेको छ । त्यसैगरी इटहरी उपमहानगरपालिकाले समेत गर्मीका कारण एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका कार्यवाहक मेयर सङ्गीता चौधरीले मङ्गलबार एक सूचना जारी गर्दै इटहरी क्षेत्रभित्रका सबै विद्यालयमा गर्मी बिदा दिने जनाएको हो । अत्यधिक बढ्दो तापक्रमका कारण विद्यालय सञ्चालनमा कठिनाइ भइरहेको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेकाले बिदा दिएको उनले बताए ।
भरतपुरका विद्यालयमा पनि बिदा
भरतपुर महानगरपालिकाले पनि विद्यालयमा सार्वजनिक बिदा दिएको छ । आजदेखि शुक्रबारसम्म महानगरले सार्वजनिक बिदा दिएको हो ।
महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार जेठ २८ गतेदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म विद्यालयमा सार्वजिक बिदा दिने निर्णय भएको छ ।
बिदाको अविधमा बालबालिकालाई दिउँसोको समयमा घर बाहिर हिँडडुल नगर्न, नदी पोखरीमा पौडी खेल्न नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन उनले अभिभावकमा अनुरोध गरे । चितवनमा पछिल्ला दिनमा तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । -रासस
Facebook Comment
Comment