इजरायलले कब्जा गर्‍यो गाजा जाँदै गरेको ग्रेटा थनबर्गको जहाज

नेपालभ्युज

इजरायलले कब्जा गर्‍यो गाजा जाँदै गरेको ग्रेटा थनबर्गको जहाज

काठमाडौं । इजरायलले स्वीडिश वातावरणीय कार्यकर्ता तथा नोबेल शान्ति पुरस्कार विजेता ग्रेटा थनबर्ग र उनको जहाजलाई कब्जामा लिएको छ ।

सोमबार बिहान ५ वटा इजरायली स्पीड बोटले जहाजलाई घेरेका थिए । त्यसपछि सैनिकहरू जहाजमा चढेर नियन्त्रणमा लिएका हुन् ।

बीबीसीकाअनुसार उक्त जहाजले गाजाका मानिसहरूका लागि राहत सामग्री बोकेको थियो । मेडेलिन नामको यो जहाजमा १२ जना सवार थिए । अहिले सबै जना सेनाको नियन्त्रणमा छन् । अब यो जहाज गाजाको सट्टा इजरायल लगिँदैछ ।

ग्रेटा र उनका साथीहरूले एउटा भिडिओ जारी गरेका छन्, जसमा इजरायली सैनिकहरूले अन्तर्राष्ट्रिय पानीमा अपहरण गरेको आरोप लगाइएको छ ।

ग्रेटाले गाजाका मानिसहरूका लागि औषधि, अन्न, बच्चाहरूको लागि दूध, डायपर र पानी शुद्धीकरण गर्ने उपकरण बोकेकी थिइन् । ग्रेटाले आफ्नो रिहाइका लागि आफ्नो परिवार र स्विडेन सरकारसँग गुहार मागेकी छन् ।

थनबर्ग आफ्नो टोलीसँगै जुन १ मा इटालियन टापु सिसिलीबाट प्रस्थान गरेकी थिइन् ।

इजरायलले मार्च २ देखि गाजामा राहत सामग्री प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ, जसका कारण त्यहाँका २३ लाख मानिसहरूमध्ये ९३ प्रतिशत मानिसहरू भोकमरीको सामना गरिरहेका छन् । दर्जनौं बालबालिका भोकमरीले मरेका छन् । मेडेलिन जहाज यी मानिसहरूलाई सहायता पुर्‍याउने उद्देश्यले राखिएको थियो ।

यो यात्रा ‘फ्रीडम फ्लोटिला’ (FFC) नामक संस्थाले सुरु गरेको हो, जसले पहिले पनि गाजामा मद्दत पुर्‍याउने प्रयास गरिसकेको छ । ग्रेटा र उनको टोलीले गाजामा धेरै वर्षदेखि चलिरहेको इजरायली नाकाबन्दीको विरोध गरिरहेका छन् ।

एफएफसीले यसलाई शान्तिपूर्ण नागरिक प्रतिरोधको रूपमा वर्णन गरेको छ । उनीहरूका अनुसार जहाजमा रहेका सबै कार्यकर्ता र चालक दलका सदस्यहरू अहिंसाको सिद्धान्तमा प्रशिक्षित छन् र यो अभियान पूर्ण रूपमा शान्तिपूर्ण छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved