काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व प्रसिद्ध अमेरिकी उद्यमी इलोन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ बताउँदै आफ्ना अर्बपति पूर्व सहयोगीसँगको विवादलाई थाँती राख्दै अघि बढ्ने बताएका छन् ।
विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूबीचको तीव्र सार्वजनिक सम्बन्ध विच्छेदले विश्वलाई चौतर्फीरूपमा राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको छ ।
ह्वाइट हाउसका अधिकारीहरूले एएफपीलाई बताएअनुसार ट्रम्पले मस्कसँग वार्ता गर्ने सोचलाई त्यागिसकेको बताएका छन् ।
ट्रम्पले एयर फोर्स वानमा आफ्नो न्यूजर्सी गल्फ क्लबजाने क्रममा पत्रकारहरूसँग भने, “इमानदारीपूर्वक भन्नुपर्दा म चीन, रूस, इरानसँगको छलफलमा व्यस्त भएको छु । म मस्कको बारेमा सोचिरहेको छैन । म उहाँको राम्रो कामको लागि कामना गर्दछु ।”
यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकी प्रसारणकर्ताहरूसँग भनेका थिए, “अब म आफ्नो ‘ठूलो र उत्कृष्ट’ बिललाई कङ्ग्रेसबाट पारित गर्नमा ध्यान केन्द्रित गर्छु । यसबारे मस्कको कठोर आलोचनाले विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूको टकरावलाई बढावा दिएको थियो ।”
रिपब्लिकन नेतासमेत रहेका ७८ वर्षीय राष्ट्रपति ट्रम्पले निकट मित्रबाट शत्रु बनेका दक्षिण अफ्रिकी मूलका आफ्ना पूर्व सहयोगीलाई निशाना बनाउनबाट आफूलाई टाढा राख्न सकेका छैनन् ।
मस्कको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले एबीसीसँगको कुराकानीमा भने, “तपाईंको मतलब ‘सोच्ने शक्ति गुमाएको मान्छे’ ? म मस्कसँग कुरा गर्न ‘खासै’ इच्छुक छैन ।”
ट्रम्पले पछि फक्स न्यूजसँग भने, “मस्कले सोच्ने शक्ति गुमाउनुभएको छ ।”
उनीहरूबीच विवाद चुलिएपछि तथाकथित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डीओजीई)’ मा चार महिना काम गरेपछि आफ्नो लागत कटौतीको भूमिकाबाट मस्कले एक साताअघि मात्र बिदा लिने निर्णय गरेका थिए ।
व्यापार तनावका समाचारहरू आइरहेका बेला उनीहरूको सम्बन्ध जुन तीव्र गतिमा बिग्रियो, त्यसले वासिङ्टनलाई स्तब्ध बनाएको छ ।
मस्कले गत मङ्गलबार ट्रम्पको खर्च विधेयकलाई ‘घृणित’ भनेपछि ट्रम्पले बिहीबार आफ्नो कार्यालय (ओभल अफिस)बाट एक टिप्पणीमार्फत् जवाफ दिँदै मस्कबाट आफू ‘धेरै निराश’ भएको बताएका थिए ।
ट्रम्पको खर्च विधेयकले कंग्रेसमार्फत कठिन मार्गको सामना गरिरहेको छ, यसले अमेरिकी घाटा बढाउने र लाखौं गरिब अमेरिकीहरूको स्वास्थ्य सेवामा कटौती गर्ने आलोचकहरूले बताएका छन् । – एएफपी
Facebook Comment
Comment