काठमाडौं । अमेरिकी डोनाल्ड ट्रम्पले मार्च महिनामा किनेको रातो रंगको टेस्ला मोडल एस कार बिक्रीमा राखिएको छ ।
टेस्लाका सीईओ इलोन मस्कसँग चर्को विवाद चलिरहेको बेलामा राष्ट्रपति ट्रम्पले उक्त कार बिक्रीमा राखेको न्युयोर्क टाइम्सले जनाएको छ ।
एक ह्वाइट हाउस अधिकारीकाअनुसार ट्रम्पले कार बिक्री गर्ने निर्णय गरेका छन्, जुन कार प्रायः राष्ट्रपति आवास नजिकैको वेस्ट एक्जिक्युटिभ एभेन्युमा पार्क गरिन्थ्यो ।
ट्रम्पले मस्कप्रति असन्तुष्टि व्यक्त गर्दै खर्च बिलको विरोध गरिरहेको बताएका छन् । टेस्लालाई हानि पुर्याउन सक्ने भएकोले मस्कले विरोध गरेको उनको भनाइ छ ।
ट्रम्पले भने, “यो विधेयकले विद्युतीय सवारी साधनमा कर छुट हटाउने छ, जसले टेस्लालाई घाटा पुर्याउन सक्छ र त्यसैले मस्क यो विधेयकको विरुद्धमा छन् ।”
यसअघि मार्च ११ मा मस्क र ट्रम्पले ह्वाइट हाउसमा टेस्लाका विभिन्न मोडलहरूको सार्वजनिक अवलोकन गरेका थिए । मस्कले साइबरट्रकलाई “बुलेटप्रूफ” भन्दै ट्रम्पलाई देखाए पनि रातो मोडल एसतर्फ इशारा गर्दै ट्रम्पले भनेका थिए, “म यो चाहन्छु ।” त्यसपछि उनले त्यो कार खरिद गरेका थिए ।
राष्ट्रपतिले भनेका थिए, “सिक्रेट सर्भिसले मलाई गाडी चलाउन दिँदैन, तर कर्मचारीहरूले प्रयोग गर्न सक्छन् ।” उनले चेकमार्फत झन्डै ८० हजार डलर तिरेको दाबी गरिएको थियो र छुट नमागेको पनि बताइएको थियो ।
सामान्यतः राष्ट्रपति कार्यालयका कर्मचारीहरूलाई कुनै व्यवसाय वा व्यक्तिको प्रवर्द्धन गर्न निषेध गरिएको हुन्छ, तर सो नियम ट्रम्पले उल्लंघन गरेको भन्दै चर्को आलोचना भएको थियो । ट्रम्पले भने आफूले मस्कलाई “मद्दत गर्न” मात्र कार किनेको बताएका थिए ।
पछिल्ला दिनहरुमा ट्रम्प र मस्कबीच चर्को वाकयुद्ध भइरहेको छ । ट्रम्पले संघीय सरकारसँगको आफ्नो ठूलो स्तरको व्यापारिक सम्झौताको बारेमा मस्कलाई धम्की दिएका छन् भने मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गरेका छन् ।
Facebook Comment
Comment