काठमाडौं । करिब ७ महिनापछि राष्ट्रिय क्रिकेट टोली आईसीसीको एकदिवसीय खेल खेल्न भोलि मैदानमा उत्रिँदै छ । २०८१ कात्तिक २० गते आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आफ्नो अन्तिम खेल स्कटल्यान्डविरुद्ध खेलेको थियो, जुन वर्षाका कारण खेल रद्द भयो । भोलि स्कटल्यान्डसँगै नेपालले लिग–२ को स्कटल्यान्ड त्रिकोणीय सिरिजको पहिलो खेल्न लागेको हो ।
लिग–२ को दोस्रो सर्कलमा नेपालले ३ क्रिकेट सिरिज खेलिसकेको छ । ती सिरिजका १२ खेलमा नेपालले मात्र २ मा जित हासिल गरेको छ । २ खेलमा भने अंक बाँडेको छ । र अंकतालिकाको पुछारमा छ । यो सिरिजको अर्को टोली नेदरल्यान्ड्स हो ।
हेड टु हेड
नेपाल र स्कटल्यान्डको हेड टु हेड हेर्दा दुईबीच कुल ८ खेल भएका छन् । जसमध्ये ४ मा नेपाल जित्दा ३ मा भने स्कटल्यान्डले जित हासिल गरेको छ । एउटा खेल भने रद्द भएको थियो । तथ्यांकले नेपाल बलियो देखिए पनि विगत ७ महिना राष्ट्रिय टोलीले एकदिवसीय खेल खेलेन ।
यो ७ महिनाको अन्तरालमा स्कटल्यान्डको भने अवस्था निकै सुधारिएको छ । फर्ममा भएका स्कटल्यान्डका बलर र ब्याट्सम्यानले नेपाललाई चुनौती दिन सक्छन् ।
नेपालका लागि चुनौती हुन सक्ने खेलाडी
लिग– २ मा नेपालभन्दा केवल ४ खेल मात्र बढी खेलेको स्कटल्यान्ड फर्ममा देखिन्छ । १६ खेलबाट ९ मा जित र ५ मा पराजित भएको स्कटल्यान्ड २० अंकसहित चौथो स्थानमा छ ।
पछिल्लो ५ खेललाई हेर्न हो भने ३ मा जित र २ मा पराजित भएको स्कटल्यान्ड ब्याटिङ र बलिङ दुवैमा बलियो छ ।
पछिल्लो यी ५ खेललाई हेर्ने हो भने, ब्याटिङमा नेपाललाई कप्तान रिचि बेरिङटन, ब्राण्डन म्याकमुलन, म्याथ्यु क्रस, लम्याकक्रिथ र जर्ज मुन्सेले चुनौती दिने देखिन्छ । बलिङमा भने ब्राड क्युरी र ब्रान्डन म्याकमुलन हावी हुन सक्छन् ।
यसअघिकाे सिरिजा स्कटल्यान्ड नेदरल्यान्ड्ससँग पराजित भएको थियाे । २८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २६३ रन बनायो । यस खेलमा जर्जको प्रदर्शन उल्लेख्य रह्यो।
जर्जले १०१ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै शतकीय पारी खेले । म्याथ्यु क्रसले ४७ र म्याकक्रिथले ३८ रन बनाए । नेदरल्यान्ड्सविरुद्ध ब्राडले ४ विकेट लिए ।
स्कटल्यान्डले त्यो खेल १९ रनले हारे पनि खेलाडीहरूले आफ्नो व्यक्तिगत क्षमता भने देखाए ।
यूएईविरुद्धको खेलमा भने जर्ज र ब्राण्डनले अर्धशतक बनाएका थिए । जर्जले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन बनाए । ब्राण्डन ५० रनमा अविजित रहे । उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । यससँगै यूएईले दिएको १६२ रनको लक्ष्य २४.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । स्कटल्यान्डले यूएईलाई ८ विकेटले पराजित गर्यो ।
बलिङतर्फ भने ब्राड र ब्रान्डनले ३–३ विकेट लिए । ब्राण्डनले १० ओभरमा ४८ रन खर्चेर २ मेडन पनि फाले ।
यस्तै, आफ्नो अन्तिम खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई १४५ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ३८० रन बनायो ।
३८० रनको प्रतिस्पर्धात्मक स्कोर बनाउन ब्राण्डन र रिचिले शतकीय पारी खेले । रिचिले ८६ बलमा ५ चौका र ५ छक्कासतिह १०५ रन बनाए । ब्राण्डनले ८८ बलमा १० चौका र ४ छक्कासहित १०१ रनको योगदान गरे । जर्जले भने ५६ बलमा १२ चौका र २ छक्कासहित ८० रन बनाए । नेदरल्यान्ड्सलाई २३५ रनमा अलआउट गर्न ब्राण्डनले ४ र ब्राडले ३ विकेट लिए । ब्राण्डनले ५५ रन खर्चेर १ मेडन पनि फाले ।
नेपालको यूकेमा तयारी भ्रमण
यता, नेपालको राष्ट्रिय क्रिकेट टोली भने यूके भ्रमणमा करिब एक महिना पहिला नै पुगेको छ । कोर क्याम्पबाट छनोट भएर तयार पारिएको भए पनि खासै नयाँ अनुहार नसमेटिएको यो टोली आफूलाई फर्ममा ल्याउन प्रयासरत छ ।
यूकेमा नेपालले स्थानीय टोलीसँग ५ अभ्यास खेल खेल्यो । अभ्यास खेललाई हेर्ने हो भने दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको ब्याटिङ भरपर्दो देखियो । दुवैले अभ्यास खेलमा शतकीय पारी पनि खेले । यी अभ्यास खेललाई हेर्ने हो भने नेपालको मध्यक्रम ब्याट्सम्यानहरू लयमा देखिन्छन् । गुल्शन झा पनि फर्ममा देखिएका छन् ।
यूके भ्रमणमा स्थानीय टोलीमाथिको लगातार जितले आत्मविश्वासले भरिएको राष्ट्रिय टोली त्यसपछि स्कटल्यान्डतर्फ लाग्यो ।
स्कटल्यान्ड ए सँग अभ्यास खेल
साथै, स्कटल्यान्डमा नेपालले स्कटल्यान्ड ‘ए’ सँग २ अभ्यास खेल्ने तालिका थियो । जसमध्ये पहिलो खेलमा नेपालले लजास्पद् हार व्यहोर्यो ।
शनिबार भएको दोस्रो खेल भने वर्षाका कारण नतिजाविहिन भयो । जसमा नेपालका ३ ब्याट्सम्यानले अर्धशतक प्रहार गरे । गुल्शन झाले ६४ रन बनाए । उनले ४७ बलमा ३ चौका र ५ छक्का प्रहार गरे ।
कप्तान रोहितकुमार पौडेलले ६१ रन बनाए । सो क्रममा उनले ७० बलमा ५ चौका र १ छक्का प्रहार गरे । भीम सार्कीले भने ५७ रन बनाए । सो क्रममा उनले ७ चौका र १ छक्का प्रहार गरे । कुशल भूर्तेल ३१ र सन्दीप लामिछाने १७ रनमा आउट भए ।
स्कटल्यान्ड ए ले आफ्नो घरेलु मैदानमा देखाएको प्रदर्शनलाई स्कटल्यान्ड क्रिकेट बोर्डको तयारीको ट्रेलरको रूपमा बुझ्न सकिन्छ । ए टोलीका लागि यतिको गृहकार्य गरेको स्कटल्यान्डले आफ्नो राष्ट्रिय टोलीका लागि कस्तो तयारी गरेको होला आकलन गर्न सकिन्छ ।
स्कटल्यान्ड यसै पनि आफ्नो चुनौतीपूर्ण पिचका लागि चिनिन्छ । सोही चुनौतीका बीच घरेलु टोलीलाई नेपालले कस्तो जवाफ दिन्छ भन्ने उत्सुकताको विषय बनेको छ ।
नेपाललाई मध्यक्रमकै सहारा
पछिल्ला दुई खेललाई हेर्दा पनि नेपालको टपअर्डरमा पकड खुकुलो भएको तर मध्यक्रमले टोलीको साख जोगाइरहेको जस्तो देखिन्छ ।
मध्यक्रम लयमा देखिनु नेपाली क्रिकेट टोलीको राम्रो पक्ष भए पनि शीर्षक्रम सन्तुलित नहुँदा यसले ठूलो स्कोर खडा गर्न नसक्ने अवस्था बन्नेछ । पावर प्लेमा ओपनिङ जोडी टिक्न नसकेमा यसको भार मध्यक्रमलाई पर्ने गर्दछ । जसकारण खेलाडीहरूलाई खुलेर खेल्न कठिन गर्दछ ।
यद्यपि, अभ्यास खेलको नतिजालाई मात्र हेरेर चित्त बुझाउने अवस्था भने पक्कै छैन । स्कटल्यान्डमा घरेलु टोलीसँगको खेल भने पक्कै सहज भने हुने छैन । फर्ममा भएको स्कटल्यान्डले नेपाललाई राम्रो चुनौती दिने देखिन्छ ।
अंकतालिकामा नेपालको हालको अवस्था
लिगका २० खेलमध्ये १२ खेलमा जित, ६ मा हार व्यहोरेको अमेरिका २८ अंकसहित शीर्ष स्थानमा छ । २० खेलमध्ये १२ मा जित र ६ मा पराजित भएको नेदरल्यान्ड्स २६ अंकसहित दोस्रो स्थानमा छ । २० खेल नै खेलेको ओमान ११ मा जित र ७ हारसहित २४ अंक जोडेर तेस्रो स्थानमा छ ।
१६ खेलमा ९ मा जित र ५ मा पराजित भएको स्कटल्यान्ड २० अंकसहित चौथो स्थानमा छ । २० खेलमा ९ मा जित र ९ मा पराजित भएको क्यानडा २० अंकसहित पाँचौं स्थानमा छ । २० खेलमध्ये ७ मा जित र १३ मा पराजित भएको नामिबिया १४ अंकसहित छैँटौं स्थानमा छ । १६ खेलमध्ये ३ मा जित र १३ खेलमामा पराजित यूएई ६ अंकसहित सातौं स्थानमा छ ।
कुल १२ खेल खेलेको नेपाल अहिले ६ अंकसहित अंक तालिकाको पुछारमा छ । अब नेपालले २४ खेल खेल्न बाँकी छ । जसमा नेपालले एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा चयन हुन मात्र होइन, एकदिवसीय मान्यता जोगाउनका लागि पनि राम्रै कसरत गर्नु पर्ने देखिन्छ । लिगका शीर्ष चार टिम सिधै ग्लोबल छनोटमा पुग्नेछन् भने बाँकी चार टिमले प्लेअफ खेल्नुपर्नेछ । नेपाल लिग २ को पहिलो सर्कलमा उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल छनोटमा पुगेको थियो ।
स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्धको सिरिज
नेपालले स्कटल्यान्ड र नेदरल्याण्ड्सविरुद्ध खेल्ने यो लिग–टु सिरिज चौथो चरणको खेलहरू हुन् । राष्ट्रिय टोली ७ महिनापछि एकदिवसीय खेल खेल्दै छ ।
नेपालले आफ्नो पहिलो खेलमा सोमबार जेठ १९ गते (जुन २) स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । जेठ २१ गते (जुन ४) बुधबार नेपाल र नेदरल्यान्ड्स आमने सामने हुनेछन् ।
स्कटल्यान्डविरुद्ध नेपालले दोस्रो खेल भने जेठ २५ (जुन ८) मा खेल्ने छ । यस्तै जेठ २७ (जुन १०) मा हुने चौथो खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।
यो सिरिजपश्चात स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग नेपालले असार १ गते आइतबारदेखि त्रिकोणात्मक टी–२० आई सिरिज खेल्नेछन् ।
Facebook Comment
Comment