मोदीको सम्बोधनप्रति पाकिस्तानको प्रतिक्रिया : गलत सूचनासहितको उत्तेजक भाषण

नेपालभ्युज

मोदीको सम्बोधनप्रति पाकिस्तानको प्रतिक्रिया : गलत सूचनासहितको उत्तेजक भाषण

काठमाडौं । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार गरेको सम्बोधनमा व्यक्त गरेको धारणालाई उत्तेजक भाषण भन्दै अस्वीकार गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै मोदीको सम्बोधनले गलत सूचना दिएको प्रतिक्रिया दिएको हो ।

‘यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न अन्तर्राष्ट्रिय प्रयास भइरहेको बेला यो कथनले गलत सूचना, राजनीतिक अवसरवाद र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट अवहेलनासहित खतरनाक उत्तेजनालाई प्रतिनिधित्व गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतीय सेनाले पाकिस्तानविरुद्ध गरेको ’अपरेशन सिन्दुर’पछि प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राति पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

‘भारतीय सेनाले पाकिस्तानमा रहेको आतंकवादी शिविर र उनीहरूका तालिम केन्द्रहरूमा सटीक हमला गर्यो । आतंकवाद विरुद्धको भारतको कारबाहीलाई समर्थन गर्नुको सट्टा पाकिस्तानले भारतमाथि आक्रमण गर्न थाल्यो,’ उनले भनेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भाषणमा आणविक आक्रमणको धम्कीबाट आफू ब्ल्याकमेल नहुने पनि बताएका थिए ।

उनले भनेका थिए, ‘भारतले तीन सिद्धान्तमा निर्णय गरेको छ । पहिलो– यदि भारतमा आतंकवादी आक्रमण भयो भने, भारतले आफ्नै तरिकाले, आफ्नै सर्तमा, आफ्नै समयमा जवाफ दिनेछ । दोस्रो– भारतले कुनै पनि आणविक ब्ल्याकमेल सहन गर्दैन । र तेस्रो– हामी आतंकवादलाई प्रायोजन गर्ने सरकार र आतंकका मालिकहरूलाई अलग–अलग हेर्ने छैनौं ।’

यसको जवाफमा पाकिस्तानले ‘भारतले कुनै गल्ती गर्नु हुँदैन । हामी आगामी दिनहरूमा यस सम्बन्धमा भारतको कार्य र व्यवहारको नजिकबाट समीक्षा गर्नेछौं । हामी अन्तर्राष्ट्रिय समुदायलाई पनि त्यसै गर्न अनुरोध गर्नेछौं,’ भनेको छ ।

पाकिस्तानले भारतविरुद्ध आत्मरक्षाका लागि भारतीय सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको दाबी गरेको छ ।

सिन्धु जल सन्धिअन्तर्गत आफ्नो अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने पाकिस्तानले स्पष्ट पारेको छ । भारतीय विदेश मन्त्रालयले मङ्गलबार सिन्धु जल सन्धि ‘पाकिस्तानले आतंकवादलाई पूर्ण रूपमा समर्थन गर्न बन्द नगरेसम्म निलम्बन रहनेछ’ भनेकोप्रति पनि पाकिस्तानले आपत्ति जनाएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान युद्धविराम र यस क्षेत्रमा तनाव कम गर्न प्रतिबद्ध छ । धेरै मित्र राष्ट्रको प्रयासबाट युद्धविराम सम्भव भएको हो । युद्धविरामको चाहनालाई पाकिस्तानसँग जोड्नु झुट हो ।’

अर्कोतर्फ, भारतले पाकिस्तानको अनुरोधमा मात्र सैन्य द्वन्द्व रोकिएको बताएको छ ।

यसको खण्डन गर्दै पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, ‘पाकिस्तानले हताश र असफलताका कारण युद्धविरामको अनुरोध गरेको भन्ने आरोप पूर्णतया गलत छ ।’

वक्तव्यमा पाकिस्तानले आफूलाई ’आतंकवादको पीडित’समेत भनेको छ । -बीबीसी हिन्दीको सहयाेगमा

राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले दिएका चार सन्देश

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved