भारत र पाकिस्तानबीचको तनाव घटाउन सहयोग गर्न बेलायत तयार, सुनक भन्छन्– भारतीय आक्रमण जायज

नेपालभ्युज

भारत र पाकिस्तानबीचको तनाव घटाउन सहयोग गर्न बेलायत तयार, सुनक भन्छन्– भारतीय आक्रमण जायज

लन्डन । भारत र पाकिस्तानबीच तनाव कम गर्न दुवै देशलाई सहयोग गर्न तयार रहेको बेलायतले जनाएको छ ।

आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानमा दुई दशकयताकै सबैभन्दा तनावको अवस्था आएपछि बेलायतका व्यापारमन्त्री जोनाथन रेनोल्ड्सले सहयोग गर्न तयार रहेको बताएका हुन् ।

‘हामी दुवै देशका मित्र र साझेदार हौँ । हामी दुवै देशलाई सहयोग गर्न तयार छौं । हाम्रो सन्देश के हुनेछ भने क्षेत्रीय स्थिरताका लागि वार्तामार्फत् तनाव कम गर्न र उनीहरूलाई सहयोग गर्न हामी सबै सम्भावित पहल गर्न सक्छौं र इच्छुक पनि छौँं,’ उनले बीबीसी रेडियोसँगको अन्तवार्तामा बताए ।

पाकिस्तानी विदेश मन्त्रालयले ब्रिटिस नागरिकलाई भारत–पाकिस्तान सीमाको आठ किलोमिटर भित्र, नियन्त्रण रेखाको १६ किलोमिटरभित्र यात्रा नगर्न र सबैलाई पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा यात्रा नगर्न सल्लाह दिएको छ ।

यसबारे रेनोल्ड्सले भने ‘हामीले स्थितिलाई नजिकबाट नियालिरहेका छौँ । बेलायती नागरिकहरूले हाम्रो यात्रा सल्लाहको साथ अद्यावधिक रहनुहुनेछ र स्थानीय अधिकारीहरूको सल्लाह पालन गर्नुहुनेछ ।’

यसैबीच बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले पाकिस्तानमा भारतले गरेको हवाई आक्रमणलाई जायज ठहर गरेका छन् ।
आतंकवादी लुक्ने ठाउँहरूमा आक्रमण गर्ने भारतको कदम सही रहेको उनले बताएका हुन् ।

‘कुनै पनि देशले आफू विरुद्ध आतंकवादी आक्रमणहरू सहन गर्नु हुँदैन, विशेषगरी जब ती अर्को देशद्वारा नियन्त्रित क्षेत्रबाट हुन्छन्,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आतंकवादी लुक्ने ठाउँहरूमा आक्रमण गरेर भारत सही थियो । आतंककारीहरूलाई कुनै पनि प्रकारको छुट दिन सकिँदैन ।’

मंगलबार राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै स्थानमा हवाई आक्रमण गरेको थियो, जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved