काठमाडौं । आतङ्कवाद भारत र पाकिस्तानको मात्र समस्या हो भनेर बुझ्नु हुँदैन । यो उनीहरूको मात्र समस्या हो भनेर हामी चुपचाप बस्नु हुँदैन । किनभने दक्षिण एसियाले लामो समयदेखि यो समस्या भोगिरहेको छ ।
आतङ्कवाद हेर्ने अन्तर्राष्ट्रिय दृष्टिकोण छ । आतङ्कवादलाई हेर्ने मामलामा हाम्रा क्षेत्रीय सङ्गठनहरू सार्क र बिमस्टेकको पनि एउटा धारणा छ । यो धारणाले आतङ्कवाद कुनै देशको मात्र समस्याको विषय नभएर क्षेत्रीय र अन्तर्राष्ट्रिय समस्या हो भन्ने स्थापित गरेको छ । आतङ्कवाद क्षेत्रीय चासो र समस्याको विषय हो । त्यसैले आतङ्कवाद भारत र पाकिस्तानको द्विपक्षीय विषय मात्र होइन ।
अन्तर्राष्ट्रिय चासो भएपछि त्यसको प्रभाव नेपालसम्म पनि पर्छ । भारत र पाकिस्तान नेपालका छिमेकी हुन् । भारतसँग हाम्रो खुला सीमाना छ । त्यसकारण त्यहाँ पर्ने आतङ्कवादको असर हाम्रोमा पनि पर्छ । अहिले आतङ्कवादका नाममा भारत-पाकिस्तान युद्धमा उत्रिएका छन् । हाम्रो आँगनमा युद्ध छेडिएको छ । यसको बाछिटा नेपालसम्म आइपुग्छ ।
नेपाल र भारतको सम्बन्ध, मित्रता र सन्धिको कारण पनि नेपाल भारत-पाकिस्तान युद्धको एउटा हिस्सा हो । नेपाल र भारतको द्विपक्षीय सन्धिको कारण नेपाली जवानहरू भारतीय सैनिकमा छन् । उनीहरू भारतको पक्षबाट युद्ध लड्छन् । त्यसैले यसको प्रभाव हामीसम्म पर्छ ।
नेपालले अहिलेको युद्धलाई आतङ्ककारी गतिविधिको हिसाबले मात्र हेर्नुहुँदैन । राजनीति, कूटनीतिक र सुरक्षासहित त्रिपक्षीय हिसाबले हेर्नुपर्छ । यो युद्धमा नेपालले कूटनीतिक पहल गरेर सार्क-बिमस्टेक लगायतका फोरमहरूलाई युद्ध समाधानको लागी प्रयोग गर्नुपर्छ भनेर पहल गर्नुपर्छ । आतङ्कवादी गतिविधि नियन्त्रणको लागी यस्ता क्षेत्रीय सङ्गठनहरू परिचालन गरिनुपर्छ भनेर नेपालले बलियोसँग आवाज उठाउनुपर्छ । अहिले नेपालको कानुन कार्यान्वयन गर्ने संयन्त्रहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरी निकायको भारतसँग सम्बन्ध छ । यो जटिल समयमा यस्ता सम्बन्धलाई प्रयोग गर्नुपर्छ ।
यस्ता द्विपक्षीय र क्षेत्रीय स्तरको संरचनाहरूलाई प्रतिआतङ्कवादसम्बन्धी कार्यमा कसरि धेरैभन्दा धेरै प्रयोग गर्न सकिन्छ भन्नेतर्फ नेपालले सोचविचार गर्नुपर्छ ।
पछिल्लो समय नेपाल अवैध आप्रवासीहरू नियन्त्रण गर्ने मामिलामा चुकेको देखिन्छ । भारतले अवैध आप्रवासी नियन्त्रणको स्तर बढाएको हुँदा हामीकहाँ भने आप्रवासीको सङ्ख्या बढिरहेको छ ।
अवैध आप्रवासी रोक्ने विषयमा नेपाल सरकारले पनि आफ्नो योजना बनाउनुपर्छ । अध्यागमन कार्यालयहरूलाई सक्रिय बनाउनुपर्छ । नेपालमा पर्न सक्ने आतङ्कवादको जोखिमसँगै क्षेत्रीय जोखिमलाई नियन्त्रण गर्न पनि यस्तो कदम चाल्नुपर्छ ।
भारत-पाकिस्तान युद्ध लामो हुँदैन
जारी युद्धमा भारतले पाकिस्तानका ९ वटा स्थानमा मिसाइल आक्रमण गर्यो । भारतको आक्रमणको पाकिस्तानले जसरी प्रतिकार गर्ने चेतावनी दिएको छ, त्यो हुँदा यो युद्ध ‘फुल स्केल’मा जाने सङ्केत देखिँदैन । यो आक्रमणलाई भारतले पहलगाम हमलाको जवाफका रूपमा ‘स्मार्ट अट्याक’ मात्रै गरेको देखिन्छ ।
भारतले अहिले आतङ्कवादी बस्ने स्थलहरूमा मात्र हमला गरेको दाबी गरेको छ । यो आक्रमणबाट भारतले विश्व समुदायलाई आतङ्कवादविरुद्ध आफ्नो प्रतिबद्धताको राजनीतिक सन्देश दिन खोजेको जस्तो देखिन्छ । भारत पनि पाकिस्तानसँग फुल स्केलमा युद्ध होस् भन्ने चाहँदैन ।भारतले आफू आतङ्कवादीविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छु भन्ने सन्देश दिन यो आक्रमण गरेको जस्तो लाग्छ ।
सन् २०१९ को बालाकोट आक्रमण र २०१६ को उरीमा आतङ्कवादी हमलापछि भारतले पाकिस्तानी क्षेत्रभित्र छिरेर आक्रमण गरेको थियो । र, त्यतिखेर पनि भारतले आक्रमण गरेपछि सुरु भएको युद्ध रोकिएको थियो ।
अपरेसन सिन्दुरमा भएको आक्रमणको स्वरूप हेर्दा भारत र पाकिस्तान दुवै ठूलो स्केलको युद्धमा जाने देखिँदैन । यो युद्धमा दुवै पक्षले आ–आफ्नो पोजिसन क्लियर गर्छन् र युद्ध रोकिन्छ ।
त्यसै पनि रुस-युक्रेन र इजरायल-हमास युद्धले विश्व समुदाय दबाबमा छ । र, यस्तो अवस्थामा फेरि अर्को युद्ध झेल्न विश्व समुदाय तयार छैन । त्यसकारण अन्तर्राष्ट्रिय समुदायले पनि यो युद्ध रोक्न दबाब दिन्छन् ।
युद्धको अवस्थामा नेपालले लिने नीति !
नेपाल सार्कको सदस्य राष्ट्र हो । अहिले त नेपाल सार्कको अध्यक्षको हैसियतमा छ । सार्कमा स्पष्ट रूपमा आतङ्कवाद नियन्त्रणको विषय छ । सार्कलाई सक्रिय बनाउन पहल गर्ने भूमिका नेपालको हो । यो युद्धको स्थितिलाई नियन्त्रण गर्न समेत नेपालले भूमिका निर्वाह गर्नुपर्छ ।
सार्कको अध्यक्षको हैसियतमा नेपालले जारी युद्धलाई रोक्ने आह्वान गर्नुपर्छ । यो युद्ध रोकिनुपर्छ भन्दै शान्तिका पक्षमा नेपालले अहिलेसम्म एउटा विज्ञप्ति निकालेको छैन । एउटा विज्ञप्ति भएपनि जारी गर्नुपर्छ । आतङ्कवाद नियन्त्रणको नाममा युद्धमा दुई देशहरूलाई जान दिनुहुँदैन भनेर नेपालले खुलेर भन्नुपर्छ ।
(नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातसँगको कुराकानीमा आधारित)
Facebook Comment
Comment