खुफिया एजेन्सी रअले छानेको थियो एयर स्ट्राइकको लक्ष्य

नेपालभ्युज

खुफिया एजेन्सी रअले छानेको थियो एयर स्ट्राइकको लक्ष्य

काठमाडौं । गत २२ अप्रिल २०२५ मा जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको ज्यान गएपछि भारतले पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा रहेका आतंकवादी अड्डाहरूविरुद्ध कडा कारबाही गरेको छ । ‘अपरेसन सिन्दुर’ नाम दिइएको यो सैन्य कारबाहीमा भारतीय सेना, वायुसेना र नौसेनाले समन्वयात्मक रूपमा हवाई हमलाहरू गरे, जसको खुफिया जानकारी रिसर्च एन्ड एनालिसिस विङ (रअ) ले उपलब्ध गराएको भारतीय सञ्चार माध्यहरूले जनाएका छन् ।

पहलगाममा भएको आतंकवारी हमलाले भारतलाई झक्झकाएको थियो । यो हमलामा एक जना नेपालीसहित अधिकांश पर्यटक मारिएका थिए । रअले तुरुन्तै सक्रियता देखाउँदै हमलाका लागि जिम्मेवार आतंकवादी समूह र तिनका अड्डाहरूको सटीक जानकारी सङ्कलन गरेकाे भारतीय दाबी छ । प्राप्त खुफिया जानकारीका आधारमा भारतीय सशस्त्र बलले ७ मेको मध्यरातमा छ वटा आतंकवादी अड्डाहरूमा एकसाथ हवाई हमला गरेको भारतीय दाबी छ । उता पाकिस्तानले नागरिक र मस्जिदमा आक्रमण भएको दाबी गरेको छ । भारतीय रक्षा मन्त्रालयले यी हमलाहरूलाई ‘गैर-उत्तेजक’ भनेको छ, किनभने पाकिस्तानी सैन्य सुविधाहरूलाई निशाना बनाइएको थिएन, जसले ठूलो युद्धको जोखिमलाई कम गरेको भारतीय भनाइ छ । तर पाकिस्तानले जवाफी कारबाही गर्ने बताइसकेकाे छ ।

कारबाहीपछि भारतीय सेनाले सामाजिक सञ्जाल एक्स लेखेको छ, ‘न्याय सम्पन्न भयो । जय हिन्द !’  सैन्य स्रोतको हवला दिँदै भारतीय सञ्चार माध्यमहरूले हमलाले आतंकवादी संरचनाहरूलाई ठूलो क्षति पुर्‍याएको छ।

पाकिस्तानको कडा प्रतिक्रिया

पाकिस्तानले यो कारबाहीलाई ‘कायरतापूर्ण’ भन्दै निन्दा गरेको छ । उसले पाँच भारतीय जेट खसालेको र आठ सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ, साथै ३५ जना घाइते भएको जनाएको छ । पाकिस्तानी सेनाले ‘आफ्नो समय र स्थानमा जवाफ दिने’ चेतावनी दिएको छ । योसँगै, नियन्त्रण रेखामा सैन्य गतिविधि र साइबर आक्रमणको तीव्रता बढेको छ ।

अन्तर्राष्ट्रिय चासो

यो कारबाहीले आणविक हतियारले सुसज्जित दुई छिमेकी मुलुकहरूबीच तनाव बढाएको छ । अमेरिकी विदेश सचिव मार्को रुबियो र युरोपेली सङ्घले संयम अपनाउन आह्वान गरेका छन् । तर, भारतले यो कारबाहीलाई आतंकवादविरुद्धको अनिवार्य कदम भनेको छ ।

आगामी परिदृश्य

पाकिस्तानको प्रतिशोधको चेतावनी र नियन्त्रण रेखामा बढ्दो तनावले क्षेत्रीय स्थायित्वमाथि प्रश्न उठाएको छ । ‘अपरेसन सिन्दुर’ ले भारतको आतंकवादविरुद्धको नीतिलाई स्पष्ट पारे पनि, यसले दुई देशबीचको सम्बन्धलाई थप जटिल बनाएको छ ।

भारत र पाकिस्तानमा को कति शक्तिशाली ? 

पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु

भारतको आक्रमणपछि भारत र पाकिस्तान दुवै अलर्ट मोडमा, विद्यालयदेखि एयरस्पेससम्म बन्द

भारतका राफेलसहित पाँच जेट खसालेको पाकिस्तानको दाबी

भारतको क्षेप्यास्त्र आक्रमणबाट पाकिस्तानमा सात जनाको मृत्यु 

अमेरिकाले भन्यो– भारत र पाकिस्तानको अवस्थालाई नजिकबाट नियालिराखेका छौँ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved