यमनमा ४८ लाखभन्दा बढी नागरिक अझै विस्थापित

नेपालभ्युज

यमनमा ४८ लाखभन्दा बढी नागरिक अझै विस्थापित

एडेन । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर)ले सोमबार जानकारी दिएको अनुसार, यमनभर झण्डै ४८ लाख मानिस हाल पनि विस्थापित अवस्थामा छन् । तीमध्ये धेरैले पटक–पटक आफ्नो घर छाड्न बाध्य हुनु परेको छ, जबकि सुरक्षित बसोबासका लागि आश्रय अभाव गहिरिँदै गएको छ ।

यूएनएचसीआरले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘धेरै यमनी परिवारहरूका लागि सुरक्षित आश्रय अहिलेसम्म पनि सहज उपलब्ध छैन ।’ यसले विस्थापित समुदायहरूको अवस्था झनै संवेदनशील बनाएको उल्लेख गर्दै मानवीय सहायता तत्काल आवश्यक रहेको बताएको छ ।

यमनमा पछिल्ला दुई वर्षदेखि द्वन्द्वमा केही कमी आए पनि गत एक दशकदेखि जारी सशस्त्र सङ्घर्षका कारण जनजीवन असहज बनेको छ । सन् २०१४ को सेप्टेम्बरदेखि राजधानी सानासहित उत्तर यमनको ठूलो भूभाग हुथी समूहको नियन्त्रणमा रहेको छ ।

सहायता प्रदान गर्ने संस्थाहरूले भने राहत कार्यमा बजेट अभावले समस्या थपिएको बताएका छन् । खाद्य असुरक्षा, स्वच्छ पानीको अभाव र समय–समयमा फैलिने रोगका कारण यमनमा मानवीय अवस्था झनै गम्भीर बनिरहेको छ ।

यूएनएचसीआरले लाखौँ विस्थापित यमनी नागरिकको लागि सुरक्षित आवास सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायबाट तत्काल सहयोगको अपिल गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved