हेटौँडा । मकवानपुर र ललितपुरको सिमानामा रहेको बगुवा खोलाको डाइभर्सन बाढीले बगाउँदा कान्ति लोकपथ अवरुद्ध भएको छ ।
आइतबार बिहानदेखि परेको पानीपछि आएको बाढीले डाइभर्सन बगाउँदा हेटौँडाबाट काठमाडौं जाने छोटो दूरीको कान्ति लोकपथ अवरुद्ध भएको हो । बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कान्तिलो कपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोलाको डाइभर्सन बगाएको छ ।
गत असोज १२ को अविरल वर्षापछि आएको बाढीले बगुवा पुल बगाउँदा सो स्थानमा बेलिब्रिज निर्माणका लागि खोलामा ह्युमपाइप राखेर बनाएको डाईभर्सन बगाएको जनाइएको छ । अहिले प्रहरी टोली खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले यात्रीलाई हेटौँडाबाट काठमाडौं जान अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
Facebook Comment
Comment