अर्थतन्त्र

व्यवसायमैत्री कानुन निर्माण गर्न ढिलो भइसक्यो

धितो होइन, प्रोजेक्ट हेरेर ऋण दिनुपर्छ

व्यवसायमैत्री कानुन निर्माण गर्न ढिलो भइसक्यो

कोरोना महामारी अगाडिका तीन वर्षलाई फर्किएर हेर्‍यो भने आर्थिक वृद्धिदर लगभग ७.५ प्रतिशतमा थियो । त्यति बेला सबैलाई लागेको थियो, अब आर्थिक वृद्धिदर दोहोरो अंकमा हुन्छ । तर, कोरोना प्रकोपपछि उद्योगधन्दा चलेनन्, अर्थतन्त्र सुस्तायो । साथै, राष्ट्रबैंकले कर्जाको दर घटाइदियो ।

कोरोनाको समयमा बेरोजगारीको दर बढ्ने चिन्ताले राष्ट्र बैंकले निर्देशिका नै जारी गरेर कर्जा प्रवाह गर्‍यो ।  त्यो कर्जा घरजग्गा र शेयरमा लगानी भयो । कोरोनाको प्रकोप सामान्य बन्दै गएपछि निजी क्षेत्रसँग पैसा अभाव भयो । त्यही समयमा श्रीलंकामा आर्थिक संकट देखापर्‍यो । यही घटनाबाट आत्तिएर सरकारले आयातलाई संकुचित पार्ने काम गर्‍यो ।

देशमा उत्पादन गर्न गाह्रो छ । उत्पादित वस्तु बजारमा पठाइसकेपछि उधारोमा दिनुपर्ने बाध्यता छ । हामीसँग उधारोमा गएको सामानको मूल्य फिर्ता ल्याउन ‘क्रेडिट रिकोभरि एक्ट’ को व्यवस्था छैन । त्यो समयमा स–साना व्यापारीहरू सामान बेचेको पैसाले बैंकको ब्याज तिर्दै गए । जसका कारण अर्थतन्त्र संकुचित भयो । राज्यले मौद्रिक नीतिलाई अलि कडा बनायो, जो सही थिएन । बरु ब्याजदरलाई बिस्तारै स्थिर बनाउनु पर्ने थियो । साथै, वित्त नीतिले नयाँ सम्भावनाका ढोकाहरू खोल्नु पर्ने थियो ।

जस्तो कि उत्पादन क्षेत्रहरूलाई उत्साहित बनाउनका लागि कानुन संशोधन गर्ने त्यस बखतको  वित्तीय नीतिले यो समस्या सम्बोधन गर्न सकेन । त्यो निजी क्षेत्रको पुँजी सकिएर मनोबल गिरेको अवस्था थियो । वैदेशिक रोजगारका लागि युवाहरू विदेशिएपछि आन्तरिक मागमा कमी आयो । मान्छेहरू देशमा भएको सम्पत्ति बेचेर विदेश पलायन भए । पलायन हुनेहरूमा सानादेखि ठूला व्यापारीसम्म थिए ।

कोभिडको समययता हामीले सटरहरू खालि भएको देख्दै आएका छौँ । धेरै साना तथा मझौला व्यापारीहरूले आफ्नो व्यवसाय छाडेको देख्न सकिन्छ । यसलाई राज्यले नयाँ नीति ल्याएर प्रवर्द्धन गर्नुपर्ने थियो । करको दरमा हेरफेर गरी सिमानामा कडाइ गर्नुपर्ने थियो । उधारोसम्बन्धी कानुन ल्याउनु पर्ने थियो, तर त्यसो हुन सकेन ।

सन् २०२२ को फेब्रुअरीदेखि चलेको रसिया-युक्रेन युद्धका कारण उत्पादनमा चाहिने कच्चा पदार्थमा उल्लेखनीय मूल्यवृद्धि भयो । त्यसले ढुवानी पनि महँगो हुन पुग्यो । महँगोमा ल्याएर उत्पादन गरेको वस्तु उधारोमा बजार पठाउनु पर्ने अवस्था छ । तर, उधारोसम्बन्धी कानुन नभएको कारणले बजारबाट बिक्री भएअनुसार रकम उठाउन सकिएको छैन । यसका लागि सरकारले नीतिगत सुधार र ब्याजदरको स्थिरता कायम गर्दै उधारोसम्बन्धी कानुन ल्याउन पर्छ ।

सरकार बहु दर कर प्रणाली (जिएसटी) जस्तै समान कर प्रणालीमा जानुपर्छ । भारतमा जिएसटी लागू भएपछि आफ्नो उत्पादन र आवश्यक कच्चा पदार्थका लागि ५ प्रतिशतसम्म मात्र कर लागू छ । देशमा आयात हुने तयारी वस्तुमा २० देखी २२ प्रतिशतसम्म कर लगाइएको छ । अझ विलासी सामानमा २८ प्रतिशतसम्म कर लगाइएको छ ।  खुला सिमानाले गर्दा भारतको कर नीति र मौद्रिक नीति बाहिर गएर नेपालको अर्थतन्त्र टिक्न सक्दैन । भारतमा उत्पादन भएका वस्तुमा भन्दा नेपाली उत्पादनमा कर बढी भएपछि समान महँगो हुन पुग्छ । तर, राज्यले यी सबै विषयमा ध्यान दिनुको सट्टा कोभिड १९ पछिको समयमा वित्तीय नीति र मौद्रिक नीतिलाई थप कसिकसाउ गर्दै लग्यो ।

अर्थतन्त्रलाई चलायमान बनाउन भनेर सरकारले अध्यादेश ल्यायो । कालो बजारी ऐन हट्यो । २० प्रतिशतसम्म महंगो भए पनि नेपाली सामान किन्नु पर्ने निर्देशिका बनेको छ । होटेललाई पनि उद्योगमा मान्यता दिएको छ । राजश्वमा अन्याय परेको खण्डमा पहिले शतप्रतिशत रकम धरौटी राख्नुपर्ने थियो भने अब त्यसलाई घटाएर १५ प्रतिशतमा झारिएको छ । जुन सराहनीय छ, तर यतिले मात्रै पुग्ने अवस्था छैन । अहिलेको देशको आर्थिक अवस्था पछिल्लो केही वर्षको तुलनामा सतहमा आएको छ । यसलाई उकास्न सानो प्रयासले पुग्दैन । उद्योगी व्यवसायी पलायन भइरहेको अवस्थामा देशले आर्थिक नीतिमा आमूल परिवर्तन पर्खिरहेको छ ।

घरजग्गाको कारोबार पनि सारमा उत्पादनसँग जोडिएकै क्षेत्र हो । नेपालमा घरजग्गामा गरिने लगानीलाई अनुत्पादक क्षेत्रमा भएको लगानी भन्ने गरिन्छ । सहरीकरण गर्न, मानिसको जीवनस्तर उकास्न र व्यवस्थित जीवनयापनका लागि यस क्षेत्रलाई नजरअन्दाज गर्न मिल्दैन । मेनवापर कम्पनीलाई जस्तै प्लटिङ गर्नका लागि पनि धरौटी राखेर लाइसेन्स दिने व्यवस्था गर्दा उपयुक्त हुन्छ ।

यसैका लागि पुर्वसचिव रामेश्वर खनालको नेतृत्वमा उच्चस्तरीय आर्थिक सुधार समिति गठन भएको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष पनि समावेश रहनु भएको उक्त समितिले प्रतिवेदन बुझाइ सकेको छ । प्रतिवेदनअनुसार कोभिड १९ पश्चात् देशको मौद्रिक नीति र वित्तीय नीतिले उल्टो बाटो समातेका कारण मागमा संकुचन आएको, निर्माण व्यवसायीको बक्यौता रकम नदिएको, कृषिमा दिनुपर्ने ५ प्रतिशत सहुलियत नदिएको र निर्यातमा समेत सहुलियत नदिएको कारण बजारमा शिथिलता आएको उल्लेख छ । सरकारले विकास खर्च गर्न नसक्दा र निजी क्षेत्रलाई दिनुपर्ने भुक्तानी समयमा नदिँदा अर्थतन्त्र चलायमान नभएर आर्थिक संकुचन आएको प्रतिवेदनमा भनिएको छ । देशमा सहकारीको समस्या विकराल भएर आएको छ । प्रतिवेदनमा सरकारले ५ लाख सम्मको निक्षेपलाई सहकारीको धरौटी जफत गरेर भए पनि साना बचतकर्तालाई फिर्ता दिनुपर्ने उल्लेख छ । जसमा करिब ५ अरब जति लाग्ने अनुमान छ । साना बचतकर्ताको निक्षेप सरकारले नीति बनाएरै फिर्ता गर्नुपर्छ । बदमासी गरेका बाहेक अरू सहकारी सञ्चालकहरूलाई २ वर्ष समय दिनुपर्छ । सरकार धरपकडमा उत्रिनु हुँदैन । यसो गर्दा सहकारीलाई ‘रिफर्म’ हुने अवसर बाँकी रहन्छ ।

नेपालको अहिलेको अर्थतन्त्रको गतिविधिमा सेवा क्षेत्रको झन्डै ४० प्रतिशत योगदान छ । पहिले १५ प्रतिशतसम्म रहेको उत्पादन क्षेत्र साँघुरिएर ५ प्रतिशतमा झरेको छ । हामीकहाँ रोजगारी सिर्जनाका लागि र निर्यात घटाउनका लागि पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनु पर्ने छँदैछ । तर, आजको वैश्विक भूमण्डलीकरणको समयमा अन्तर्राष्ट्रिय स्तरका होटेल, कफिसप, लगायत क्षेत्रहरू पर्यटन र राजश्वका लागि अत्यावश्यक भइसकेका छन् । यसलाई नजरअन्दाज गर्नुहुन्न ।

घरजग्गाको कारोबार पनि सारमा उत्पादनसँग जोडिएकै क्षेत्र हो । नेपालमा घरजग्गामा गरिने लगानीलाई अनुत्पादक क्षेत्रमा भएको लगानी भन्ने गरिन्छ । सहरीकरण गर्न, मानिसको जीवनस्तर उकास्न र व्यवस्थित जीवनयापनका लागि यस क्षेत्रलाई नजरअन्दाज गर्न मिल्दैन । प्लटिङ गरेर बिक्री हुने जग्गा नेपाल सरकारको करको दायरामा पूर्ण रूपले पनि आएको छैन । यसलाई करको दायरामा ल्याउन अन्तर्राष्ट्रिय मान्यता अपनाउनु पर्ने हो, तर सरकारको त्यसतर्फ ध्यान पुगेको छैन । मेनवापर कम्पनीलाई जस्तै प्लटिङ गर्नका लागि पनि धरौटी राखेर लाइसेन्स दिने व्यवस्था गर्दा उपयुक्त हुन्छ । लाइसेन्स लिएर कम्पनीको नाममा प्लटिङ गर्दा देशलाई राजश्व पनि धेरै उठ्ने भयो भने अर्कोतर्फ खरिदकर्ताले जग्गा किन्दा बाटो, पानी, ढलको पनि सुविधा पाउने भए । तसर्थ, घरजग्गा व्यवसायलाई व्यवस्थित गर्न सबै सरोकारवालाहरू लाग्नुपर्छ । घरजग्गाको मूल्यले मात्र बैंकले ऋण दिने नीतिलाई सुधार गर्न आवश्यक छ । ऋण दिँदा धितो होइन, प्रोजेक्ट हेरेर दिइनुपर्छ । व्यक्तिसँग कति जमिन छ भनेर कर्जा दिनुको सट्टा प्रोजेक्टको सम्भावनालाई आधार बनाएर ऋण दिनु राम्रो हुन्छ । जमिन भएकै आधारमा ऋण पाउने व्यवस्था त जमिनदारी व्यवस्था हो ।

बैंकले नाफा मात्रै हेरेर हुँदैन । भारत र चीन जस्ता देशहरूले कर्जाको व्यवस्थापन गर्न सक्ने, नेपालजस्तो सानो अर्थतन्त्र र जनसंख्या भएको मुलुकले व्यवस्थित गर्न नसक्ने भन्ने हुँदैन । अहिले सानो ऋण लिनु पर्‍यो भने पनि सात पुस्ताको ल्याप्चे लगाउनु पर्ने व्यवस्था छ । त्यसलाई खारेज गर्नुपर्छ । विदेशमा क्रेडिटर्स एसोसिएसन हुन्छ । जसले ऋण लिनेहरूको हक हितमा काम गर्छ, तर नेपालमा त्यस्तो कुनै व्यवस्था छैन ।

व्यापारमा जोखिम र सम्भावना सँगसँगै हिँडिरहेका हुन्छन् । त्यसैले एउटा पक्षलाई पक्षपोषण र अर्को पक्षलाई अन्याय गर्नु हुँदैन । जोखिमका कारण भएभरको सम्पत्ति सकिने अवस्था आयो भने कसले व्यापार गर्ने ? त्यसैले व्यवसायीमैत्री कानुनको निर्माण र भएको कानुनको संरक्षण गर्दै लगानी सुनिश्चितताको ग्यारेन्टी गर्नुपर्छ ।

नेपालको कुल पुँजी हालको अवस्थामा ५५ देखी ६० खरब सम्मको छ । जो औसतमा ५ देखि ६ प्रतिशतले बढिरहेको छ । यसलाई दोहोरो अंकमा वृद्धि गर्न सकिन्छ । त्यसका लागि वैदेशिक लगानी (एफ.डी.आई.) भित्र्याउनु पर्ने हुन्छ । जसमा गैर आवासीय नेपाली (एन.आर.एन.)  वा,  विदेशी लगानीकर्ता पनि हुन सक्छन् ।

नीतिगत सुधार, सुशासन, राजनीतिक स्थिरता लगायत कुरामा जोड दिएर वैदेशिक लगानीको सुरक्षा गर्न सकिन्छ । लगानी गरेर मुनाफा हुने स्पष्ट कानुनी व्यवस्था, कम्पनी खोल्न चाहिने कानुनी तथा कागजी जटिलतालाई सहज बनाउने र अनलाइन अथवा, डिजिटल अर्थतन्त्र बढवा दिएको खण्डमा नेपालमा वैदेशिक लगानी आउने प्रचुर सम्भावना छ ।

नीतिगत सुधार, सुशासन, राजनीतिक स्थिरता लगायत कुरामा जोड दिएर वैदेशिक लगानीको सुरक्षा गर्न सकिन्छ । लगानी गरेर मुनाफा हुने स्पष्ट कानुनी व्यवस्था, कम्पनी खोल्न चाहिने कानुनी तथा कागजी जटिलतालाई सहज बनाउने र अनलाइन अथवा, डिजिटल अर्थतन्त्र बढवा दिएको खण्डमा नेपालमा वैदेशिक लगानी आउने प्रचुर सम्भावना छ । साथै, थ्रेसहोल्डको लिमिटेसनलाई पनि कम बनाउनु पर्छ । यसपालिको बजेटमा घरजग्गामा एक करोडभन्दा बढी वैदेशिक लगानी ल्याउन पाउने भनिएको थियो, तर कानुन बनेको छैन । हाम्रो देशमा कानुन बन्ने, तर निर्देशिका नबन्ने समस्या छ ।

यसरी निजी क्षेत्र, कर्मचारीतन्त्र र राजनीतिक दलको बीचमा समझदारी गरी कृषिको क्षेत्रमा निजी क्षेत्रले लगानी गरेर वनलाई व्यवसायीकरण गर्नेतर्फ ध्यान दिनु पर्छ । वनको व्यवसायीकरण भन्नुको अर्थ वन जंगल सक्काउने भन्ने होइन । बरु भएको ४७ प्रतिशत वनलाई व्यवस्थित गरी त्यहाँ भएको काठहरूको व्यवसाय गर्न सकिन्छ । रुख र काठ काट्नै हुँदैन भन्ने होइन । विदेशमा वन संरक्षण भन्दा पनि वन व्यवसायीकरण भन्ने गरिन्छ । रुख रोपेर रुख काट्न पाउनु पर्छ । निजी क्षेत्रले लगानी गरेर खालि रहेको जमिनमा रुख रोप्न र निश्चित समयपछि त्यसलाई काटेर व्यवसाय गर्न पाउनु पर्छ । राष्ट्रिय गौरवका आयोजना, जलविद्युत् परियोजना, केबलकारका योजना, राजमार्ग, सिमेन्ट उद्योगहरूलाई रुख काट्नै दिनु हुँदैन भन्नु गलत हो । बरु त्यहाँ काटेको रुख बापत अर्को खाली जमिनमा रुख रोप्न प्रोत्साहन गर्नुपर्छ ।

नेपालमा अर्को सम्भावना बोकेर आई.टी. क्षेत्र अगाडि आएको छ । जसलाई संरक्षण र सम्वर्द्धन नगर्दा एक खरब जतिको निर्यात भइसकेको छ । गत वर्षको बजेटले आगामी दश वर्षमा ३० खरब निर्यात गर्ने लक्ष्य राखेको छ । निर्यात बढाउनका लागि आई.टी. क्षेत्रमा पनि वैदेशिक लगानी ल्याउन सकिन्छ । निजी क्षेत्रको मनोबल उच्च भएपछि विदेशबाट पनि लगानी आउँछ । मनोबल बढाउनका लागि निजी क्षेत्रलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न र नीतिगत स्थिरता आवश्यक पर्छ । अहिले सामाजिक सञ्जालमा व्यवसायीलाई गाली गर्ने संस्कृति हाबी छ  । यसलाई न्यूनीकरण गर्नुपर्छ ।

अहिले सरकारसँग १७ देखी १८ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चित छ । तर करको पैसा थुपारेर मात्र हुँदैन, त्यो त अनुत्पादक क्षेत्रमा थुप्रिएर बसेको छ । नेपालजस्तो देशलाई ७ देखी ८ महिनासम्म पुग्ने पैसा भयो भने पर्‍याप्त हुन्छ । त्यसबाट बचेको पैसा उत्पादनशील क्षेत्रमा लगाउनु पर्छ ।

वर्तमान नेपालको मूल एजेन्डा प्रजातन्त्र, लोकतन्त्र अथवा गणतन्त्र होइनन्, आर्थिक विकास र समृद्धि हो । आर्थिक विकासको नजरमा अरब देशले पनि विकास गरेका छन् । बेलायतमा राजतन्त्र भए पनि विकास भइरहेको छ । कम्युनिस्ट शासन भएको चीनले त्यति ठूलो फड्को मारिसक्यो भने प्रजातन्त्र भएको भारत र अमेरिकाले पनि आर्थिक विकास गरेकै छन् । विकासका लागि खुला अर्थतन्त्रसहितको व्यवस्था नै अनुकूल हुन्छ । तर तिनीहरूको सही तवरले नियमन गरिनुपर्छ । संवैधानिक अंगहरूमा आउने मान्छे कुनै दलप्रति आस्था राख्ने भयो भने ऊ संस्थाप्रति उत्तरदायी भएर काम गर्न सक्दैन । अहिलेको हाम्रो व्यवस्थामा समस्या छैन, यो उत्कृष्ट व्यवस्था हो । तर, यसका चालकहरूले सही हिसाबले देश चलाउनु पर्छ । उनीहरूले नै अहिलेको व्यवस्था सही ढंगले नहाँकेका कारण युवाहरूमा निराशा आएको हो । सरोकारवालाले एउटा युवालाई आफ्नो अध्ययन सकेपछि खोज्ने राम्रो जागिर, एउटा घर, ठीकठाकको सवारीसाधन, छोराछोरीको राम्रो शिक्षाजस्ता सुविधाहरू पुर्‍याउन जरुरी छ ।

अहिले सरकारसँग १७ देखी १८ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चित छ । तर करको पैसा थुपारेर मात्र हुँदैन, त्यो त अनुत्पादक क्षेत्रमा थुप्रिएर बसेको छ । नेपालजस्तो देशलाई ७ देखी ८ महिनासम्म पुग्ने पैसा भयो भने पर्‍याप्त हुन्छ । त्यसबाट बचेको पैसा उत्पादनशील क्षेत्रमा लगाउनु पर्छ ।

निजी क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनको ८१ प्रतिशत र रोजगारीको क्षेत्रमा ८५ प्रतिशत योगदान छ । यसको संरक्षण र संवद्र्धन गर्नु सरकारेको जिम्मेवारी हो । निजी क्षेत्रले समुदायमा गएर लगानी गर्दा त्यहाँका स्थानीय जनतासँग समन्वयन गरेका हुन्छन् । ती सबै मापदण्ड पूरा गरिसकेपछि र लगानी गर्न अनुमति दिइसकेपछि सुरक्षा गर्ने जिम्मा सरकारको हो ।

देशैभरि सञ्जाल रहेको नेपाल उद्योग वाणिज्य महासंघलाई सरकारले अर्थतन्त्रको सल्लाहकारको रूपमा लिएको छ । नीतिगत सुधार, कानुन संशोधन, बजेट निर्माण र मौद्रिक नीतिको सन्दर्भमा सरकारले महासंघको राय लिन सक्छ । हामीसँग काम गर्न सकिने क्षेत्रहरू पहिचानको काम पनि भइरहेको छ । जैविक विविधता भएका कारण महँगा जडीबुटीहरूको उत्पादन गर्न सकिन्छ । पर्यटन र जलश्रोतको सम्भावना प्रचुर छ । सिमेन्टका लागि चाहिने कच्चा पदार्थको कमी छैन । सबै सम्भावनालाई एकै पटकमा नसके पनि प्राथमिकताको आधारमा बजेट विनियोजन गर्दै निजी क्षेत्रको लगानीलाई संरक्षण गर्न सक्ने हो भने अर्थतन्त्रलाई एक वर्षभित्र ट्र्याकमा ल्याउन सकिन्छ ।

ढकाल नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved