काठमाडौं । कश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव आजै ल्याइने व्यवस्था भएको हो ।
बुधबार कश्मिरमा आतङ्ककारीहरुको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरु रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको हो । आक्रमणमा परेर रिमकला घाइते छन् ।
मन्त्री डा राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा शंकर शर्मासँग आज बिहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिएकी थिईन् । मन्त्री डा राणा र राजदूत डा शर्माले भारतीय विदेश मन्त्रालयसँग यस विषयमा समन्वय गरेका थिए ।
सो समन्वयपछि आज नै साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनउ हवाई जहाजमा तथा लखनउबाट नेपालको बोर्डरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो । दिल्लीबाट लखनउको उडानका लागि उनीहरुलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँ दिल्लीस्थित नेपाली दूताबासबाट दुई जना कर्मचारी खटाइएको छ । त्यसैगरी सुनौली बोर्डरबाट बुटवल घरसम्म नै उनीहरुलाई पुर्याउने व्यवस्थाका लागि पनि मन्त्री डा राणाले गृहमन्त्री रमेश लेखकसँग कुराकानी गरेकी छन् ।
घटनास्थलमा रहेका सुदीपका आफन्तहरुले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले आज नै घर फर्किने व्यवस्थाका लागि अनुरोध गरेपछि परराष्ट्र मन्त्रालयले त्यसका लागि समन्वय गरेको हो । सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन् ।
सो आतङ्ककारी हमालाको नेपाल सरकारले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ ।
Facebook Comment
Comment