आनन्दीदेवी मृत्यु प्रकरण : छानबिन समितिले सुरु गर्‍यो अनुसन्धान

नेपालभ्युज

आनन्दीदेवी मृत्यु प्रकरण : छानबिन समितिले सुरु गर्‍यो अनुसन्धान

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–३ जगतपुरस्थित फूलबरीया मुसहरी टोलकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीको छानबिन समितिले विस्तृत अनुसन्धान सुरु गरेको छ ।

गत पुस ९ गते गाउँकै दुई युवकद्वारा भएको यौन दुर्व्यवहार घटनामा न्याय नपाएपछि वैशाख २ गते सदाय आफ्नै घरमाझुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उक्त घटनाको सुक्ष्म अनुसन्धानको लागि गृहमन्त्री रमेश लेखकको निर्देशनबमोजिम गत बिहीबार मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो ।

सोही समितिले आइतबार पीडितको घरमा पुगी परिवारसँग सोधपुछ गरेको छ । उक्त घटनामा प्रहरीले कमजोरी गरेको भन्ने विषयमा इलाका प्रहरी कार्यालय, महेशपुर पतारीका प्रहरी कर्मचारीसँग आवश्यक जवाफ लिने काम भएको प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले जानकारी दिए । उनले भने, ‘आइतबार प्रारम्भिक चरणको काम मात्र भएको छ । हामीले सुक्ष्म अनुसन्धान सुरु गरेका छौँ, विस्तृत कुराहरू विस्तारै खुल्छन् ।’

माइतीघरमा बस्दै आएकी २४ वर्षीया सदायलाई स्थानीय २२ सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएको थियो । सोही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिए पनि आरोपित पक्ष र प्रहरीले पीडितलाई गाउँमै मिल्न दबाब दिएको पीडित पक्षको आरोप छ । पछि जिल्लास्थित मानवअधिकारकर्मीसहितको दबाबमा गत फागुन २५ गते जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको थियो ।

आरोपितहरू अझै फरार रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved