काठमाडौं । नेपाल सरकारले आज शनिवारदेखि भोलि आइतबारसम्म (वैशाख ६ र ७ गते) देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
सरकारले शनिवारदेखि ७५३ वटै स्थानीय पालिकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो ।
यस कार्यक्रम अन्तर्गत देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । यसै गरी १ देखि ५ वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने सरकारको लक्ष्य रहेको छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुँदै छन् ।
सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि ०५० सालमा ८ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो ।
जुका नियन्त्रण तथा रोकथामका लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको हो । प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।
तस्वीरहरू:-









Facebook Comment
Comment