काठमाडौं । विगतमा ‘गुन्डा नाइके’का रुपमा परिचित दीपक मनाङे (राजीव गुरुङ)ले सर्वोच्च अदालतमा दायर गरेको पुनरावलोकन निवेदन हेर्न नमिल्ने भएको छ ।
गण्डकी प्रदेशका पूर्वमन्त्री मनाङे सर्वोच्चको फैसलापछि ज्यान मार्ने उद्योगमा दोषी प्रमाणित भइ कैद सजाय कटाइरहेका व्यक्ति हुन् ।
मनाङेको मुद्दामा बिहीबार न्यायाधीशत्रय कुमार चुडाल, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नमिल्नेमा पुगेको छ ।
गण्डकी प्रदेशसभाका निलम्बित सांसद मनाङेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सर्वोच्चले पाँच वर्षको कैद सजाय सुनाएको थियो । गएको कात्तिक २० मा न्यायाधीश सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले फैसला गर्दै पाँच वर्ष कैदको सजाय सुनाएको थियो ।
सर्वोच्चको फैसला पुनरावलोकनका लागि मनाङेले निवेदन दिएका थिए । दुईजना न्यायाधीशले गरेको फैसला पुनरावलोकन गर्न सर्वोच्चमा उनले दायर गरेको पुनरावलोकन निवेदन तीनजना सम्मिलित इजलासमा पुगेको थियो ।
गएको २२ माघमा मनाङेले पुनरावलोकन निवेदन सर्वोच्चमा दर्ता गराएका थिए । त्यसयता उनको मुद्दामा तीन पटक पेसी तोकिएको छ । तर, तीन पटक नै मनाङेको मुद्दा हेर्न नमिल्नेमा पुगेको छ ।
२०८१ को १५ फागुन र चैत ७ मा हेर्न नमिल्नेमा पुगेको उनको निवेदन बिहीवारसमेत हेर्न नमिल्ने पुगेको हो ।
Facebook Comment
Comment