हेटौँडा । अहिले मकवानपुर जिल्लाका १० वटै पालिकाको २ हजार भन्दा बढी वन क्षेत्रमा डढेलो लागेको छ । वनमा लागेको डढेलो र औद्योगिक क्षेत्रमा रहेका विभिन्न प्रकारका उद्योगबाट निस्कने धुवाँको कारण हेटौँडा नगर र आसपासका क्षेत्रमा वायु प्रदूषण बढेको छ ।
सामान्यतया वन डढेलोबाट निस्कने धुवाँ, औद्योगिक क्षेत्रबाट निस्कने धुवाँ, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन, दाउरा बालेर खाना बनाउने क्रममा निस्कने तत्त्वहरूले वायु प्रदूषण गर्दछन् ।
अहिले वायुको प्रदूषक तत्त्वको पहिचान गर्न सक्ने हावामा हुने कण ‘पार्टिक्युलेट म्याट’ हेरेर वायुको प्रदूषणलाई बुझ्ने गरिन्छ ।
‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौं उपत्यका वायु प्रदूषणमा पछिल्ला केही दिनयता दिल्लीलाई समेत उछिन्दै १८६ एक्यूआई सहित विश्वकै शीर्ष स्थानमै रहेको देखिन्छ ।
यससँगै काठमाडौंको सिमाना जोडिएको बागमती प्रदेशको राजधानी हेटौँडाको ‘एयर क्वालिटी इन्डेक्स’ ११९ रहेको र साँझ हुँदै जाँदा तल्लो वायुमण्डलमा धुलोका कणले कडा तुवाँलो बनेर ‘एयर क्वालिटी इन्डेक्स’ को अङ्क बढिरहेको छ । केही दिन अघि हेटौँडामा वायुको गुणस्तर १५७ एक्युआई मापन भएको थियो ।
त्यस्तै प्रदेशको राजधानी हेटौँडाको मुख्य बजारबाट अत्यधिक प्रदूषित देखाएको छ । वायुको गुणस्तर एक सय एक्युआईभन्दा माथि गएमा मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले चैत्र २० गते जारी गरेको अपिल अनुसार हेटौँडा सहर यति बेला वायु प्रदूषणको हिसाबले संवेदनशील समूहका लागि अस्वस्थ रहेको छ ।
विभागले एक्युआई वायु सूचकाङ्क अनुसार ० देखि ५० हुँदा राम्रो, ५१ देखि १०० हुँदा मध्यम, १०१ देखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ ।

विभागले वायु प्रदूषण तथा न्यूनीकरण गर्न वन डढेलो लगाउने कार्य सार्वजनिक अपराध भएको हुँदा यस्ता कार्य नगर्न भनेको छ । यस सँगै घरायसी ठोस फोहोर तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेष नजलाउन, उद्योग कलकारखाना तथा भान्छाहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न अनुरोध गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाकी वातावरण इन्जिनियर चन्दा खड्काका अनुसार हेटौँडा नगरको अहिलेको वातावरण प्रदुषको अवस्था बच्चाहरू र बृद्धबद्धाका लागि अवस्थ्य रहेको बताउँछिन् । खड्काका अनुसार यसलाई वैज्ञानिक रूपमा बुझ्दा पार्टीकुलेट म्याटर (हावामा हुने कण) बढ्दै जाँदा श्वास नली हुँदै फोक्सोमा असर पार्दछ ।
हेटौँडाका स्थानीय ४० वर्षीय रोशन कँडेलका अनुसार केही दिनयता मास्क नलगाई बजारमा हिँड्दा आँखा पोल्ने नाक सुख्खा हुने खोकी लागेर छाती दुख्ने समस्या भएको बताउँछन् । यस्तै आकाश धुम्म भएर हावामा सास लिन पनि असहज भएको बताउँछन् ६३ वर्षीय बासु पुडासैनी ।
हेटौँडा अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर कमल दवाडीका अनुसार केही दिनयता अस्पतालमा फोक्सो र दमका बिरामी आउने क्रम बढेको बताउँछन् । डढेलो लागेको स्थान नजिकै आफ्नो घर बताउने बिरामीहरू समेत उपचारका लागि आएको डाक्टर दवाडी बताउँछन् । डाक्टर दवाडीका अनुसार वायु प्रदूषणका कारण बालबच्चा बृद्धबृद्धाको फोक्सोमा दीर्घकालीन रूपमा असर पर्दछ र अन्यको हकमा धुलो धुवाँले छोटो समयको लागि श्वासप्रश्वासमा समस्या हुन्छ । आज उत्तरी मकवानपुरको थाहा नगरका केही स्थानमा हल्का वर्षा भएको छ ।
केही दिन यता हेटौँडा उपमहानगरपालिका भित्रका ६ सय १४ हेक्टर वनमा डढेलो लागेको थियो । यो प्रदूषित वायु हल्कादेखि मध्यम वर्षा नभएसम्मका लागि कायम रहने विज्ञहरू बताउँछन् ।
Facebook Comment
Comment