काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार एक दिने औपाचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड जाँदैछन् ।
थाइ समकक्षी फेथोङथान सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा जान लागेका हुन । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ।
प्रधानमन्त्री ओलीले नेपाल-थाइल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षको इतिहासमा नेपाली प्रधानमन्त्रीको तहबाट पहिलोपटक भ्रमण हुन लागेको जानकारी संसदलाई गराएका छन् ।
‘यसबीचमा यति नजिकको र ट्रान्जिट पोइन्टजस्तो त्यहीँबाट यता जाने, उता जाने तर औपचारिक भ्रमणचाहिँ नभएको अवस्था रहेछ । त्यसलाई अन्त्य गर्नका लागि यसपटक औपचारिक भ्रमण नेपालको तर्फबाट पहिलोपटक कार्यकारी प्रमुखको पहिलो पटक हुँदैछ,’ भ्रमणको विषयमा सोमबारको प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने ।
यस्तो छ कार्यक्रम
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र थाइ समकक्षी सिनावात्राबीच चैत २० गते द्विपक्षीय भेटवार्ता हुनेछ । उक्त वार्तापछि दुई प्रधानमन्त्रीको उपस्थितिमा पर्यटन तथा संस्कृतिसँग सम्बन्धित दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । त्यसपछि गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
त्यसपश्चात प्रधानमन्त्री ओली र थाइ समकक्षी संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन् । यससँगै उनको थाइल्यान्डको एक दिने औपचारिक भ्रमणको कार्यक्रम समाप्त हुनेछ ।
त्यसको भोलिपल्ट चैत २१ मा प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रतिष्ठित व्यापारीहरूसँग भेटघाट–छलफल गर्नेछन् । त्यसपश्चात दिउँसो एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीमा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसै साँझ ओली बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक डिनरमा सहभागी हुनेछन् ।
समयको चाप भएकाले अधिकांश देशका नेताहरू २१ गते मात्रै बैंकक पुग्ने तालिका भए पनि विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्ताको प्रयास भइरहेको प्रधानमन्त्री ओलीले संसदलाई जानकारी दिएका छन् ।
त्यसपश्चात प्रधानमन्त्री ओली चैत २२ गते दिउँसो बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनेछन् । त्यसअघि सोही दिन बिहान प्रधानमन्त्री ओली ‘मेरिटाइम ट्रान्सपोर्ट कोअपरेशन अग्रिमेन्ट’ मा हुने हस्ताक्षर समारोहमा सहभागी हुनेछन् । दिउँसो बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट सम्बोधन समेत गर्नेछन् ।
सोही दन साँझ नेपाली राजदूतावासमा आयोजना गरिएको रिसेप्सन (रात्रिभोज) मा सहभागी भएसँगै प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण समाप्त हुनेछ । त्यसपछि २३ गते ओली औपचारिक भ्रमण सकेर नेपाल फिर्ता हुने कार्यक्रम रहेको छ ।
यस्तो बन्नेछ प्रतिनिधि मण्डल
प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणको प्रतिनिधि मण्डलमा करिब दुई दर्जनभन्दा बढी सदस्य सहभागी हुने भएका छन् । त्यसमा ब्याङ्ककस्थित नेपाली राजदूतावासबाट समेत केही सदस्य थप हुने परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलमा श्रीमति राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक र विकास सल्लाहकार डा. युवराज खतिवडा सहभागी हुनेछन् ।
यस्तै परराष्ट्र मन्त्रालयबाट सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयको दक्षिण–पूर्वी एसिया एवं प्रशान्त क्षेत्र महाशाखा प्रमुख तापस अधिकारी र उपप्रमुख अम्बिका जोशी, क्षेत्रीय संगठन महाशाखा प्रमुख ज्ञानबहादुर मगर, उपप्रमुख विवेक रिजाल चिफ अफ प्रोटोकल विष्णु गौतम, डेपुटी चिफ अफ प्रोटोकल नितेश सापकोटा र प्रोटोकल अफिसर रिचा भट्टराई प्रतिनिधि मण्डलमा सहभागी हुनेछन् ।
साथै, प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दीव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी इन्सपेक्टर कृष्ण खड्कालगायत पनि सहभागी हुनेछन् ।
यस्तै यसबाहेक दुई दर्जनभन्दा बढी उद्योगी व्यावसायी पनि प्रधानमन्त्री ओलीसँगै थाइल्यान्ड भ्रमणमा जाने भएका छन् ।
Facebook Comment
Comment