मधेसलाई स्वास्थ्य र शिक्षामा आत्मनिर्भर बनाउँछौँ : मुख्यमन्त्री सिंह

नेपालभ्युज

मधेसलाई स्वास्थ्य र शिक्षामा आत्मनिर्भर बनाउँछौँ : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी दिनमा प्रदेशलाई स्वास्थ्य र शिक्षामा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित मणिमण्डप पछाडि रहेको गुठीको १८ बिघाभन्दा बढी जग्गामा निर्माण हुन लागेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

भवन निर्माणका लागि साढे २ करोड रुपैयाँको ठेक्का आह्वान भइसकेको सिंहले जानकारी दिए । उनले निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गर्नका लागि निर्माण व्यवसायीसँग आग्रह गरे ।

उनले निर्माण कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा ठेकेदारलाई प्रोत्साहन (इन्सेन्टिभ) दिइने र ढिलाइ भएमा जरिवाना (पेनाल्टी) लगाइने रणनीति रहेको स्पष्ट पारे । मुख्यमन्त्री सिंहले समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्दै आगामी दिनमा मधेश प्रदेशलाई स्वास्थ्य र शिक्षामा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा. रामनरेश पण्डितले भवन निर्माणपछि शैक्षिक गतिविधिमा सुधार आउने विश्वास व्यक्त गरे ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोद यादवले प्रतिष्ठानको शैक्षिक भवनसहित अत्याधुनिक कक्षा कोठा, प्रयोगशाला र अस्पतालको संरचना निर्माण गर्ने योजना रहेको बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले कानुनी प्रक्रिया पूरा गरी भवन निर्माण हुन लागेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved