काठमाडौं । समाजवादी मोर्चाले उच्छृङ्खल र अराजकताक निन्दा गर्ने बताएको छ। समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरू शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
शुक्रबार राजावादी र गणतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा राजावादीबाट उच्छृङ्खल गतिविधि भएको भन्दै मोर्चाले राजावादीको गतिविधिमा संलग्नलाई कारबाहीको माग समेत गरेको छ।
‘यो उच्छृङ्खल र अराजक कार्यको हामी घोर भत्सना एवं निन्दा गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले ‘पुनरुत्थानवादी र उच्छृङ्खल प्रतिगामी तत्वहरूले अराजकता सिर्जना गर्दै’ अगाडि बढेको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ ।
‘यस कार्यमा संलग्न आपराधिक र आततायी तत्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।’
नेकपा एकीकृत समाजवादीको केन्द्रीय, काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवास लगायतमा तोडभोड र आगजनी गर्न पुगेको भन्दै मोर्चाले सरकारको ध्यानाकर्षण गरेको छ ।
निजी, सार्वजनिक सम्पत्ति, सञ्चार गृह लगायत तोडफोड तथा आगजनी गरेको भन्दै मोर्चाले यस्ता गतिविधिको भर्त्सना गरेको छ ।

Facebook Comment
Comment