काठमाडौं । नशामा लट्ठ भएर चर्को सङ्गीतमा जङ्गलको बीचमा नाचिरहेका सयौं विदेशीलाई ७ चैतमा कैलालीको घोडाघोडी–९ जङ्गलमा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको नेतृत्वको टोलीले फेला पार्यो ।
करिब एक हप्तादेखि घोडाघोडीको सिमली जङ्गलमा सयौंको सङ्ख्यामा विदेशी नागरिक बसिरहेका थिए । उनीहरु कहाँबाट आएका हुन् ? केही स्थानीयहरूले भेला भएका विदेशी नागरिकहरूले अस्वाभाविक ‘हर्कत’ गरेको गुनासोपछि सीडीओ हमालसहितको टोली अनुगमनमा पुगेको थियो ।
‘अस्वाभाविक हर्कत के थियो ?’ अनुगमनमा पुगेका एक सरकारी अधिकारीले भने – “अर्ध नाङ्गो हुने, गाँजा खाने, ठूलो आवाजमा सङ्गीत बजाउने गरेको गुनासो स्थानीयले गरेको सुनाए ।”
अनुगमनमा पुगेको टोलीलाई उनीहरूले आफूहरू ‘नेचर लभर’ हौं भन्दै प्रतिक्रिया दिएका थिए । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार ती सयौं विदेशी नागरिकहरु ‘रेन्बो फेमली ग्यादरिङ’को नाममा जम्मा भएका थिए ।
कुन देशका कति नागरिक रहेको एकिन नभए पनि भारत, चीन, अमेरिकासम्मका नागरिकहरू रहेको प्रशासन बताउँछ । सीडीओ सहितको टोलीले सरकारी निकायबाट जमघटको अनुमति नलिएको भन्दै २४ घण्टाभित्र जङ्गल छोड्न निर्देशन दिएका थिए । पछिल्लो दिन उनीहरु जङ्गल छाडेर गए ।
यो बीचमा घोडाघोडी नगरपालिकाले उनीहरुसँग एउटा सांस्कृतिक आदानप्रदान कार्यक्रम पनि गर्यो । नगरपालिकाका प्रवक्ता घनश्याम ओझाका अनुसार ‘ठूलो सङ्ख्यामा विदेशी पर्यटक आएपछि नगरपालिकाले स्वागत’ गरेको हो ।
ओझाका अनुसार नगरपालिका ‘रेन्बो फ्यामीली’का बारेमा जानकार थिएन । उनी भन्छन्, “उहाँहरुसँग आफ्नै खालका बाजागाजा थिए, भेषभुषा पनि फरक थियो । विदेशी पर्यटक आएपछि हामीले स्वागत गरेका हौँ ।”

कैलालीको जङ्गलमा देखिएको ‘रेन्बो फेमिली ग्रुप’ २०८० मा अछामको रामारोशनमा पनि देखिएको थियो । प्रशासनले ‘शङ्कास्पद’ भन्दै रामारोसन प्रवेश निषेध गरेको थियो । प्रशासनले शङ्कास्पद भनेर रोक्न खोजेपनि हजारौंको सङ्ख्यामा विदेशीहरु रामारोशन पुगेका थिए । यहाँ ६१ देशका नागरिक पुगेका थिए ।
नयाँ वर्षको छेको पारेर २०७५ मा पूर्वी पहाडी जिल्ला सङ्खुवासभा र तेह्रथुमको सिमाना तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा समेत यही ‘रेन्बो फेमिली ग्रुप’ पुगेको थियो । त्यहाँ आयोजना हुन लागेको भेलालाई स्थानीय प्रशासनले रोक लगाएको थियो ।
उनीहरुले त्यहाँ ‘ट्रान्स पार्टी’ गर्ने योजना बनाएका थिए । काठमाडौंमा रहेको शक्ति पिक नेपाल संस्था र स्थानीय तीनजुरे गुराँस क्लबले आयोजना गर्न लागेको ट्रान्स पार्टीलाई जिल्ला प्रशासन कार्यालयले रोकेको थियो त्यति बेला ।
अन्तर्राष्ट्रिय म्युजिक फेस्टिभल गर्ने भन्दै आयोजकले मादी नगरपालिकाबाट समेत आर्थिक सहयोग मागेको थियो । तर, प्रशासनले गैर–कानुनी हर्कत हुने भन्दै कार्यक्रम स्थगित गरायो ।
तिनजुरे क्षेत्रमा आयोजना हुनु अघि २०७५ चैतको पहिलो साता प्रहरीले पोखराको लेकसाइडबाट ट्रान्स पार्टीमा सहभागीलाई पक्राउ गरेको थियो । प्रहरी तथ्याङ्कअनुसार एक स्थानीय रेस्टुराँमा आयोजित ट्रान्स पार्टीमा छापा मारेर ४४ जना विदेशी तथा १४ जना नेपालीलाई पक्राउ गरिएको थियो ।

के हो ट्रान्स पार्टी ?
लागुऔषध, सङ्गीत र यौनको त्रिवेणी हो – ट्रान्स पार्टी । सहभागीहरू लागुऔषध तथा मादकपदार्थको नशामा लट्ठ भएर चर्को आवाजमा सङ्गीत बजाउने गर्छन् । र, यौन क्रियाकलाप गर्छन् ।
सुनसरीस्थित कोशी नदीको टापुमा २०७२ सालमा सयौंको सङ्ख्यामा विदेशी आएर नाचगान गरेका थिए । विदेशी पर्यटक घुम्न आएको भन्दै स्थानीयहरू हर्षित थिए । तर, विस्तारै त्यहाँ बज्ने सङ्गीतको आवाजले स्थानीय त्रसित भएपछि प्रशासनले हस्तक्षेप गरेको थियो ।
त्यहाँ आउनेहरूले एकअर्काको मतलब गर्दैन थिए । उनीहरू हातमा अल्कोहल र लागू औषध लिँदै नाच्ने स्थानीय व्यवस्थापनको जिम्मा पाएका एक व्यक्ति भन्छन् ।
पार्टीमा नशाले लट्ठिएकाहरू एक–अर्कासँग नजिकिन्छन् । विस्तारै अश्लील हर्कत हुन थाल्छ । ट्रान्स पार्टीको विशेषता हो यो । ट्रान्स पार्टी हिप्पी सर्कलमा बढी लोकप्रिय छ ।
कुनै एक समूहले ट्रान्स पार्टी आयोजना गरेपछि सामाजिक सञ्जालका विभिन्न ग्रुपमार्फत आफ्नो सर्कलका व्यक्तिलाई खबर गरिन्छ । यस्ता पार्टीमा सहभागी हुन वेबसाइट तथा ग्रुपमार्फत जानकारी दिइन्छ ।
रेन्बो फ्यामीली ग्रुप के हो ?
‘रेन्बो फ्यामीली’ भनेर चिनाउने समूहको सुरुवात सन् १९७० को दशकमा भएको थियो । यो समूह पुरानो हिप्पी समूह जस्तै लुज नेटवर्क हो । यो समूहको पहिलो ‘रेन्बो फ्यामीली ग्यादरीङ्’ सन् १९७२ मा संयुक्त राज्य अमेरिकाको कोलोराडोमा भएको थियो ।
आफूलाई हिप्पीका अनुयायी भन्ने रेन्बो फ्यामीलीको सुरुवात भने ‘अल्कोहोलिज्म, ड्रग्स र पोष्ट ट्रमाटिक डिसअर्डर’बाट छुटकारा पाउन भनेर गरिएको थियो ।
तर, आज उनीहरु आफूलाई शान्ति, प्रेम र प्रकृतिका पक्षधर भन्छन् । ‘काउन्टर कल्चर’का रूपमा परिचित यस्तो संस्कृति विवादमा छ । औपचारिक सङ्गठन वा नेतृत्व संरचनाबिना नै सञ्चालन हुने यो समूहले प्रकृति, शानित र मानवताको कुरा गर्छ ।

स्थानीय प्रशासनको अनुमति नै नलिकन जङ्गलमा भेला हुने यो समूह आफ्नो चर्को सङ्गीत, लागुऔषध, मादक पदार्थका कारण विवादित छ ।
यो समूहमाथि नै प्रतिबन्ध नलागेपनि यस्तो भेलामाथि भने विभिन्न देशमा प्रतिबन्ध लगाइएको छ । अमेरिका, अष्ट्रेलिया, जर्मनी र स्पेनजस्ता देशहरूमा यस्ता रेन्बो भेलामाथि प्रतिबन्ध छ । भारतमा पनि हिमाञ्चल र उत्तराखण्डजस्ता क्षेत्रमा यस्ता भेला भएका छन्, तर स्थानीय प्रशासनले अनुमति नलिई भेला गर्न रोक लगाएको छ ।
अमेरिकाको वन सुरक्षा निकायले सन् २०२४ मा ‘रेन्बो फ्यामीली’को एउटा कार्यक्रममाथि प्रतिबन्ध लगाएको थियो । यूएस टुडेको समाचारअनुसार अनुमति बेगर जङ्गलमा भेला भएका ‘रेन्बो फ्यामीली’का सदस्यलाई ५ हजार डलर जरिवाना र ६ महिना कैद गर्ने धम्की दिएपछि उनीहरु जङ्गल छाडेर भागेका थिए ।
पछिल्लो समय नेपालमा ‘रेन्बो फ्यामीली’का गतिविधि बढिरहेको प्रहरीले पनि नियालेको बताउँछन्, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरिक्षक दिनेशकुमार आचार्य । उनी भन्छन्, “यस्ता भेलाहरु भईरहेको हामीले नोटिस गरेका छौं । त्यस्ता भेलामा गैरकानुनी गतिविधि हुन्छन भने हामी कानुनअनुसार काम गर्छौं ।”

Facebook Comment
Comment