काठमाडौं । एसियाली राष्ट्र जापान सन् २०२६ मा हुन गइरहेको विश्वकप फुटबलका लागि छानिने पहिलो राष्ट्र बनेको छ ।
एसियाली छनोटको अन्तिम चरणअन्तर्गत बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बहराइनलाई २–० गोल अन्तरले पराजित गर्दै जापान विश्वकपमा छनोट भएको हो ।
यससँगै जापान विश्वकपमा आठौं पटक छनोट भएको छ ।
खेलको ६६औं मिनेटमा दाइची कामाडाले ताकेफुसा कुबोको पासमा गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८७औं मिनेटमा जुन्या इटोको पासमा ताकेफुसा कुबोले गोल गर्दै जापानको जित सुनिश्चित गरेका हुन् ।
जापानले अब मङ्गलबार साउदी अरबसँग खेल्नेछ ।
यस्तै साविक विजेता अर्जेन्टिना पनि विश्वकप छनोट नजिक छ । छनोटका लागि अर्जेटिना अब केवल २ खेल टाढा छ । शनिबार हुन गइरहेको उरुग्वे र ब्राजिलविरुद्धको जित हासिल गरेर वा बराबरी खेलेमा अर्जेटिना विश्वकपका लागि छनोट हुनेछ ।
गत वर्षको नोभेम्बरमा पेरूलाई पराजित गर्दा नै तीन पटकको विश्वविजेता अर्जेन्टिनाले विश्वकप छनोट लगभग सुनिश्चित गरिसकेको थियो । गणितीय हिसाबले मात्र छनोट हुन बाँकी रहेको हो ।
आगामी वर्ष उत्तर अमेरिकाका तीन देश क्यानडा, अमेरिका र मेक्सिकोमा विश्वकप आयोजना हुँदैछ । यी तीनवटै टोली आयोजकका हैसियतमा सिधै छनोट भइसकेका छन् । छनोट खेलेर विश्वकपमा पुग्नेमा भने जापान पहिलो टोली बनेको हो ।
सम्बन्धित समाचार : मेसी र नेयमार दुवै राष्ट्रिय टोली बाहिर
Facebook Comment
Comment