काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटको समाचार बाहिरिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो फेसबुक प्रोपाइल ‘लक्ड’ गरेका छन् ।
फेसबुक पेज लक्ड गरेपछि ‘सीएम सतिश सिंह’ भन्ने प्रोपाइलमा उनले यसअघि राखेका आदित्यनाथसँगको भेटका तस्वीर अहिले देख्न सकिँदैन ।

सङ्घीय सरकारको जानकारीबिनै मुख्यमन्त्री सिंहले भारत पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गरेको समाचार यसअघि नेपालभ्युजले तस्वीरसहित प्रकाशित गरेको थियो । उनको आदित्यनाथसँग भेटघाट गरेका तस्वीर फेसबुकमार्फत सार्वजनिक भएका थिए । मुख्यमन्त्री सिंहले बिहीबार योगी आदित्यनाथसँग भेट गरेका हुन् ।

संविधानअनुसार मुख्यमन्त्रीले विदेश भ्रमण गर्न सङ्घीय सरकारको स्वीकृति लिनुपर्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार मधेश प्रदेशका मुख्यमन्त्रीको भारत भ्रमणबारे सङ्घीय सरकारलाई जानकारी नै छैन ।
उनले सामाजिक सञ्जालमा योगीसँग भेटेको तस्वीर राख्दै लेखेका थिए, ‘भेटमा जननी जानकीको पवित्रभूमि जनकपुरधामसँगै मधेस प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको व्यापक सम्भावनाका विषयमा विस्तृत कुराकानी भएको छ ।’
सङ्घीय सरकारको अनुमतिबिना नै भारत गएका मुख्यमन्त्री सिंहले योगीसँग ‘रामायण सर्किट र सीता सर्किटको विकासका लागि उत्तर प्रदेश सरकारको सहयोग’ विषयमा कुराकानी गरेको बताएका छन् ।
तर, नेपालको संविधानअनुसार वैदेशिक सहयोगसम्बन्धी अधिकार सङ्घीय सरकारलाई मात्र छ, जसले उनको यो कदमलाई थप विवादित बनाएको छ ।

मुख्यमन्त्री सिंहसँगै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली काङ्ग्रेसका पूर्वसांसद अभिषेकप्रताप साहले पनि योगीसँग भेट गरेका छन् । स्रोतका अनुसार यो भेटको सम्पूर्ण चाँजोपाँजो पूर्वसांसद साहले मिलाएका थिए ।
मुख्यमन्त्री सिंह, पूर्वमुख्यमन्त्री चौधरी र पूर्वसांसद साहको भारत यात्रा तथा योगीसँगको भेटघाटबारे भारतस्थित नेपाली दूतावास र नेपालस्थित भारतीय दूतावासले पनि अनभिज्ञता प्रकट गरेका छन् ।
यसअघि काठमाडौंमा भएको राजावादी आन्दोलनमा योगीको तस्वीर प्रयोग भएको थियो । यस्तो अवस्थामा सङ्घीय सरकारको जानकारीबिनै मुख्यमन्त्रीको भारत भ्रमण प्रश्नको घेरामा परेको छ ।
सम्बन्धित समाचार :
Facebook Comment
Comment