काठमाडौं । विद्यार्थीले लगाएको यौन दुर्व्यवहारको आरोपबारे पूर्व महान्यायाधिवक्ता डा. युवराज सङ्ग्रौलाले प्रष्टिकरण दिएका छन् । काठमाडौं स्कुल अफ ल (केएसएल) मा अध्ययनरत एक छात्राले सङ्ग्रौलामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।
उक्त आरोपको खण्डन गर्दै सङ्ग्रौलाले आफूमाथि छानबिन गर्न चुनौती दिएका छन् । पत्रकार सम्मेलनमार्फत उनले सामाजिक सञ्जाल नै अनुसन्धानकर्ता र न्यायालय बनेको अवस्थामा आफू र केएसएलको अपमान भएको बताए ।
उनले भने, ‘छानबिन गर्न चुनौती दिएको छु, तर मेरो परिवार पनि पीडित भएको छ।’ सामाजिक सञ्जालमा आफू र आफ्नी छोरीमाथि पनि प्रहार भएको उल्लेख गर्दै उनले आपत्ति जनाए ।
उनले भने, ‘जुन दिन मेरी छोरीमाथि सामाजिक सञ्जालबाट आक्रमण भयो, उनलाई अस्पताल पुर्याउनुपर्ने अवस्था आयो । पीडित त आज मेरो परिवार हो, रगतका आँसु झारेर घरभित्र बसेको छ ।’
आफू कलेजका विद्यार्थीको मात्र नभई देशभरका कानूनी व्यवसायीको गुरु भएको दाबी गर्दै सङ्ग्रौलाले ३७ वर्षे कानूनी करिअरमाथि आक्रमण गरिएको आरोप लगाए । छात्राले लगाएका आरोपबारे कलेजले छानबिन समिति गठन गरिसकेको बताउँदै उनले भने, ‘समितिले काम गरुन्जेल म न्यूट्रल बस्छु । कलेजमा मेरो हस्तक्षेप हुने छैन ।’
सामाजिक सञ्जालमार्फत आफू र केएसएलको प्रतिष्ठामाथि प्रहार गरिएको आरोप लगाउँदै सङ्ग्रौलाले केएसएल ‘राम्रा मूल्य र मान्यता’ भित्र रहेर सञ्चालन हुने दाबी समेत गरे ।
छात्राकाअनुसार सङ्ग्रौलाले उनलाई प्रेमी नबनाउन सुझाव दिएका थिए । उनले सङ्ग्रौलाले भनेको कुरा उल्लेख गर्दै लेखेकी छिन्, ‘पुरुषसँग नसुत्नु, विवाह गर्नु, र सम्बन्धबाट टाढा रहनु किनभने सबै प्रेमी यौन चाहन्छन् ।’
यस विषयमा प्रष्टिकरण दिँदै सङ्ग्रौलाले भने, ‘तिमीहरू विवाह गर, अनि व्यवसाय गर । मैले तिम्री छोरीलाई पनि पढाउनु छ भनेको हुँ । त्यसैले राम्रा मूल्य र मान्यताभित्र सञ्चालन हुने कलेजमा अन्य समाजका मूल्य र मान्यता जबर्जस्ती घुसाएर द्वन्द्व सिर्जना गर्नु गलत हो ।’
पुराना मूल्य र मान्यता सम्पूर्ण रूपमा अस्वीकार गर्नु सही नहुने उनको धारणा छ । उनले भने, ‘समाज सापेक्षिक हुन्छ, परिवर्तनशील हुन्छ । समाजले नयाँ कुरा लिनुपर्छ, तर परिवर्तनको अर्थ हाम्रा सम्पूर्ण मान्यताहरू समाप्त पार्नु होइन ।’
Facebook Comment
Comment